
इस्लिङ्टन कलेजमा ‘फ्युचरामा २०२९’ सम्पन्न, ३५०० बढी युवा सहभागी
काठमाडौं : इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आयोजना गरेको तीनदिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२९’ सफलतापूर्वक सम्पन्न भएको छ। साउन २१ देखि २३ गतेसम्म चलेको उक्त महोत्सवमा ३५०० भन्दा बढी युवाहरूले अवलोकन गरेका थिए।
सूचना प्रविधिको क्षेत्रमा नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित प्रदर्शनीले युवाहरूको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको छ।
प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका स्वचालित सवारीसाधनका मोडल, रोबोटिक सहायकहरू, ‘प्रोजेक्ट कृषक’ (फार्म बट), टेलिप्रेजेन्स रोबोट तथा विभिन्न एनिमेसन अनुभवहरू मुख्य आकर्षण बने।
यसका साथै, कार्यक्रममा डिजिटल सुरक्षादेखि कृत्रिम बुद्धिमत्ता (एआई) सम्मका विषयमा अन्तरक्रियात्मक बुथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला पनि सञ्चालन गरिएको थियो।
प्रदर्शनीकी प्रमुख संयोजक अनिशा आचार्यले ‘फ्युचरामा’को उद्देश्य प्रविधिमा रुचि राख्ने युवाहरूलाई प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्नु रहेको बताइन्।
उनले भनिन्, ‘यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै दिगोपन र उद्यमशीलताको सोच विकास गर्न मद्दत पुग्नेछ।’
आयोजकका अनुसार, ‘फ्युचरामा २०२९’ ले प्रविधिको प्रदर्शन मात्र नगरी दिगोपन, उद्यमशीलता र प्रयोगात्मक शिक्षाको संस्कृति स्थापनामा समेत योगदान पुऱ्याएको छ।
यो कार्यक्रमलाई नेपालका अन्य प्रमुख सहरहरूमा पनि विस्तार गरिने योजना छ, जसले देशभरका युवामाझ प्रविधिमा सहभागिता र नवीनताको चेतना फैलाउने अपेक्षा गरिएको छ।
साउन २५, २०८२ आइतबार ११:५८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।