
एनपीएल अक्सन : सर्वाधिक खर्च गर्ने टोली बन्यो चितवन, निलम्बन फुकुवा भएका आदीलमाथि सबैको बोली

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार मिनी अक्सन भयो। ललितपुरमा आयोजित अक्सनबाट आठ फ्रेन्चाइज टोलीले कुल ३७ खेलाडीलाई अनुबन्ध गर्दै आफ्नो टोलीलाई पूर्णता दिए।
अक्सनमा कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोज सबैभन्दा बढी खर्च गर्ने टोली बन्यो भने स्पट फिक्सिङको आरोपबाट सफाइ पाएर फर्किएका अलराउन्डर मोहम्मद आदील आलम आकर्षणको केन्द्र बने।
सबैको बोली आदीलमा
निलम्बन फुकुवापछि घरेलु क्रिकेटमा फर्किएका ब्याटिङ अलराउन्डर आदील आलमलाई किन्न आठवटै टोलीले बोली लगाए। सबै टोलीले क्याटोगोरी ‘ए’का लागि तोकिएको अधिकतम १५ लाख रुपैयाँको बोली लगाएपछि ‘लक्की ड्र’मार्फत भाग्यमानी टोलीको टुङ्गो लगाइयो।
भाग्यले काठमाडौं गोर्खाजलाई साथ दियो र आदीललाई आफ्नो टोलीमा भित्र्याउन सफल भयो। आदीललाई अनुबन्ध गरेपछि काठमाडौंको अक्सनमा सहभागी टोलीमा खुसीयाली छाएको थियो भने उनी नै काठमाडौंले टोलीलाई अक्सनमार्फत भित्र्याउने अन्तिम खेलाडी बनेका थिए।
चितवनको सबैभन्दा बढी खर्च, पोखरा मितव्ययी
अक्सनमा चितवन राइनोजले सबैभन्दा बढी ३९ लाख रुपैयाँ खर्च गर्यो। यसअघि नै ३२ लाख खर्च गरिसकेको चितवनले अक्सनबाट क्याटोगोरी ‘ए’ का ब्याटर देव खनाल र विकेटकिपर ब्याटर अर्जुन साउदलाई सर्वाधिक १५/१५ लाख रुपैयाँमा अनुबन्ध गर्यो।
यस्तै, पोखरा एभेन्जर्स सबैभन्दा कम खर्च गर्ने टोली बन्यो। पोखराले चार खेलाडी अनुबन्ध गर्दा जम्मा ११ लाख रुपैयाँ खर्च गर्यो। अन्य टोलीमध्ये काठमाडौं गुर्खाजले ३७ लाख, लुम्बिनी लायन्सले ३२ लाख, कर्णाली याक्सले २९ लाख, विराटनगर किङ्सले २७ लाख, सुदूरपश्चिम रोयल्सले २४ लाख र जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गरे।
क-कसले पाए कति मूल्य?
ड्राफ्टमा रहेका १६८ खेलाडीमध्ये पहिलो चरणमा २६ र दोस्रो चरणको ‘विस लिस्ट’बाट ११ खेलाडी बिक्री भए। पहिलो चरणमा क्याटोगोरी ‘ए’बाट देव खनाल र अर्जुन साउदले सर्वाधिक १५ लाख पाए। सोही क्याटोगोरीका पवन सराफ र मोहम्मद आदील आलमले पनि आ-आफ्नो टोलीबाट अधिकतम मूल्य पाए। यद्यपि, अनुभवी ब्याटर शरद भेषवाकर भने अनसोल्ड रहे।
क्याटोगोरी ‘बी’बाट अधिकांश खेलाडीले आफ्नो श्रेणीको अधिकतम १० लाख मूल्य पाए भने क्याटोगोरी ‘सी’ का खेलाडीहरू ५ लाखसम्ममा बिक्री भए। ‘विस लिस्ट’ मार्फत विभिन्न टोलीले दीपक बोहरा, दुर्गेश गुप्ता, विपीन रावल, मिलन बोहरा जस्ता खेलाडीलाई आधार मूल्यमा अनुबन्ध गरे।
यो अक्सनसँगै एनपीएलको दोस्रो संस्करणका लागि सबै टोलीले नेपाली खेलाडी अनुबन्ध गरेका छन्। अब टोलीहरूले आफ्नो आवश्यकताअनुसार चारदेखि छ जना विदेशी खेलाडी अनुबन्ध गर्नेछन्।अब प्रतियोगिताको मिति घोषणाको प्रतीक्षा छ।
साउन २५, २०८२ आइतबार ११:४५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।