
गाजा नियन्त्रण योजनाको विरोधमा इजरायलमा हजारौंको प्रदर्शन, बन्धकहरूको रिहाइको माग

जेरुसेलम : इजरायली सरकारले गाजा शहर नियन्त्रणमा लिने योजना बनाएको विरोधमा र हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै शनिबार जेरुसेलम लगायत प्रमुख शहरहरूमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।
जेरुसेलममा प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आधिकारिक निवासतर्फ मार्च गरेका थिए। उनीहरूले सरकारको योजनाप्रति चर्को असन्तुष्टि र आक्रोश व्यक्त गरे।
प्रदर्शनमा सहभागी पूर्व इजरायली सैनिक म्याक्स क्रेशले ‘म अस्वीकार गर्छु’ लेखिएको प्लेकार्ड बोकेका थिए।
उनले बीबीसीसँग भने, ‘हामी ३५० भन्दा बढी सिपाही युद्ध लड्न तयार छौं, तर हामी नेतान्याहूको राजनीतिक युद्धलाई अस्वीकार गर्छौं।’
जेरुसेलमबाहेक तेल अभिभ र हाइफा जस्ता अन्य प्रमुख शहरहरूमा पनि यस्तै विरोध प्रदर्शनहरू आयोजना गरिए।
इजरायलको यो योजनाको अन्तर्राष्ट्रिय स्तरमा पनि आलोचना भएको छ। संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, टर्की, जर्मनी र फिनल्यान्डजस्ता देशहरूले यसको निन्दा गरेका छन्।
संयुक्त राष्ट्रसंघले इजरायली कारबाहीले गाजामा रहेका प्यालेस्टिनी नागरिक र इजरायली बन्धक दुवैका लागि ‘विनाशकारी’ परिणाम ल्याउन सक्ने चेतावनी दिएको छ।
इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार मात्र गाजा शहर नियन्त्रणमा लिने पाँच बुँदे योजनालाई अनुमोदन गरेको थियो।
सेनाले सोही योजनाअनुसार युद्ध अन्त्य गर्न कारबाही अगाडि बढाउने बताएको छ। यही योजनाको घोषणापछि इजरायलभित्रै विरोध प्रदर्शन चर्किएको हो।
साउन २५, २०८२ आइतबार ११:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।