
हेटौंडामा छोरा भेट्न हिँडेकी राधाको स्करपियो दुर्घटनामा मृत्यु, श्रीमान् घाइते

मन्थली : रामेछापको मन्थलीमा स्करपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा १३ च ३९३५ नम्बरको स्करपियो मन्थली नगरपालिका-६ स्थित बोक्से पहरोमा दुर्घटनामा परेको हो।
दुर्घटनामा मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। मृतकका पति तथा गाडीका चालक ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन्।
प्रहरीका अनुसार, उनीहरू हेटौंडामा अध्ययनरत छोरालाई भेट्न जाँदै थिए। मृतक राधा मन्थली-७ स्थित सहरी स्वास्थ्य केन्द्र, बडिमुहानकी इन्चार्ज हुन् भने उनका श्रीमान् उत्तम नेपाल विद्युत् प्राधिकरण, मन्थली शाखामा कार्यरत छन्।
सडकबाट करिब एक सय मिटर तल खसेर स्करपियो तामाकोशी नदी किनारमा पुगेको थियो।
घाइते चौहानलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।
साउन २५, २०८२ आइतबार १०:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।