आज गाईजात्रा पर्व : दिवंगतको सम्झना र सामाजिक विकृतिमाथि व्यङ्ग्य गरी मनाइँदै

आज गाईजात्रा पर्व : दिवंगतको सम्झना र सामाजिक विकृतिमाथि व्यङ्ग्य गरी मनाइँदै

काठमाडौं : आज भाद्र कृष्ण प्रतिपदा, दिवंगत आफन्तको सम्झना र सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्दै मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ देशभर धुमधामका साथ मनाइँदैछ। विशेषगरी काठमाडौं उपत्यकामा यस पर्वको रौनक छाएको छ।

यो पर्व एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा मनाइन्छ। आजका दिन गाई वा गाईको प्रतीकका रूपमा बालबालिकालाई सिँगारी नगर परिक्रमा गराउने चलन छ।

श्रद्धालुहरूले उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै नगद र अन्न दान गर्दछन्। यसो गर्दा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा बास पाउँछन् भन्ने गहिरो धार्मिक विश्वास छ।

इतिहास र व्यङ्ग्यको सुरुवात
यो पर्वको सुरुवात सत्रौँ शताब्दीमा राजा प्रताप मल्लले गरेका थिए। पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन उनले जनतालाई पनि यस्तै शोक परेको छ भनी देखाउन आ-आफ्ना दिवङ्गत आफन्तको नाममा जात्रा निकाल्न लगाएका थिए।

तर, यसले पनि रानीको मन शान्त नभएपछि उनले विभिन्न हास्यव्यङ्ग्य र प्रहसनका कार्यक्रमहरू आयोजना गर्न आदेश दिए, जसबाट गाईजात्रामा व्यङ्ग्यको परम्परा बसेको मानिन्छ। त्यही परम्पराअनुसार जात्रा हनुमानढोका दरबार अगाडिबाट परिक्रमा गर्ने चलन अझै कायम छ।

विकृतिमाथि व्यङ्ग्यको प्रहार
गाईजात्रा केवल दिवङ्गतहरूको सम्झनामा मात्र सीमित छैन, यो सामाजिक र राजनीतिक विकृतिविरुद्ध आवाज उठाउने एक सशक्त माध्यम पनि हो। पञ्चायती व्यवस्थामा राजनीतिक व्यङ्ग्य गरेको भन्दै यो पर्वमाथि प्रतिबन्ध लगाइए पनि वि.सं. २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले यसलाई पुनः महोत्सवका रूपमा मनाउन थालेको थियो।

अहिले पनि समाजमा विद्यमान भ्रष्टाचार, कुशासन र विसङ्गतिहरूलाई हास्यव्यङ्ग्यमार्फत सार्वजनिक रूपमा उजागर गरिन्छ। यस अवसरमा हास्य कलाकारहरूले विशेष कार्यक्रमहरू आयोजना गर्छन् भने पत्रपत्रिकाहरूले व्यङ्ग्यात्मक विशेषाङ्कहरू प्रकाशन गर्छन्।

काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, त्रिशुली, पोखरा, धरान, विराटनगर, वीरगञ्ज जस्ता नेवार समुदायको बसोबास रहेका प्रमुख सहरहरूमा पनि यो पर्व उल्लासका साथ मनाइन्छ।

यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

साउन २५, २०८२ आइतबार ०८:१०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।