
रसुवा बाढीमा ९८ करोडको बीमा दाबी, आधाभन्दा बढी हिमालयन एभरेष्टमा

रसुवा : गत असार २३ गते रसुवामा आएको भीषण बाढी र पहिरोले पुर्याएको क्षतिको प्रारम्भिक बीमा दाबी रकम ९८ करोड ५९ लाख रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन २२ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा ७८ वटा दाबी परेको हो।
ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले नेपाल-चीन सीमाको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरिएका दर्जनौं सवारीसाधन तथा रसुवागढी जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याएको थियो। सोही क्षतिको मूल्यांकनका आधारमा बीमितहरूले दाबी पेश गरेका हुन्।
प्राधिकरणका अनुसार परेका कुल ७८ दाबीमध्ये सबैभन्दा बढी मोटर बीमासँग सम्बन्धित छन्। जसमा ४२ वटा सार्वजनिक र १६ वटा निजी गरी कुल ५८ वटा मोटर बीमा दाबी परेका छन्। यसैगरी, सम्पत्ति बीमातर्फ ६, सामुद्रिक बीमातर्फ ९ र इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ ५ वटा दाबी परेको प्राधिकरणले जनाएको छ।
कुन कम्पनीमा कति दाबी?
बीमा दाबीको सबैभन्दा ठूलो हिस्सा हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ, जहाँ एक्लै ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ। त्यसपछि शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड ९६ लाख, नेपाल इन्स्योरेन्स कम्पनीमा ८ करोड ७३ लाख, सानिमा जीआईसीमा ६ करोड ८४ लाख र नेको इन्स्योरेन्समा ५ करोड ६७ लाख रुपैयाँको दाबी परेको छ।
यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्समा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख बराबरको बीमा दाबी परेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ।
प्राधिकरणले प्राप्त दाबीहरूको यथाशीघ्र मूल्याङ्कन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
साउन २५, २०८२ आइतबार ०७:३४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।