सत्ता साझेदारबीचको खटपट साम्य गर्न दलीय संयन्त्रको बैठक, ‘मिलेर अघि बढ्ने’ सहमति

सुर्खेत : कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार एमाले र नेपाली कांग्रेसबीच बढ्दै गएको असमझदारी अन्त्य गर्ने प्रयास स्वरूप शनिबार दिउँसो दुई दलीय गठबन्धन संयन्त्रको बैठक बस्यो। एकअर्काप्रति देखिएको चिसोपन हटाउँदै सहकार्यमा अघि बढ्ने उद्देश्यसहित बसेको बैठकमा तत्काल समस्या समाधान गर्ने र रोकिएका नियुक्ति प्रक्रिया छिट्टै पूरा गर्ने सहमति भएको छ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको बैठकमा एमालेतर्फबाट मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलाबजंग शाह तथा कांग्रेसतर्फबाट पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश सभापति ललितजंग शाही सहभागी थिए।
बैठकपछि कांग्रेस सभापति शाहीले पछिल्ला दिनमा सतहमा आएको विवादलाई मिलाउने सहमति भएको जानकारी दिए। ‘आज अरू विषयमा खासै छलफल भएन, हालको विवादलाई साम्य पार्ने र सरकारलाई प्रभावकारी बनाउन आपसी समझदारीमा अघि बढ्ने निर्णय भएको छ,’ उनले भने, ‘बाहिर सुनए जस्तो कांग्रेसले सहयोग गरेन भन्ने होइन, यदि हामीले सहयोग नगरे दुई महिना पनि सरकार टिक्दैन । गठबन्धनको सरकार भएकाले दलीय प्रणाली अनुसार अघि बढ्नु आवश्यक छ, आपसी विश्वास निर्माण दुवै पक्षको जिम्मेवारी हो।’
बिहिबार बसेको एमाले संसदीय दलको बैठकले कांग्रेसले असहयोग गरेको निष्कर्ष निकालिएको थियो। त्यसपछि शुक्रबार पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही अर्थ मन्त्रालयको वीरेन्द्रनगरको सिद्धार्थ होटेलमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। अतिथि आसन ग्रहणमा प्रोटोगल नमिलेको भन्दै बिचैमा बाहिरीएका थिए। उनी बाहिरिएपछि कार्यक्रम नै स्थगित गरिएको थियो। उनले यसलाई ‘प्रोटोकल र सान्दर्भिकता’ सम्बन्धी सामान्य विवाद मात्रै भएको बताए। ‘यो पार्टीगत असमझदारी होइन, आसन ग्रहण र बोल्ने समयजस्ता कुरामा तालमेल नमिलेको मात्र हो,’ उनले स्पष्ट पारे।
नेता शाहीले कार्यक्रम नै बहिष्कार गरेसँगै सत्तारुढ दलभित्रको विवाद सतहमा आएको थियो। यही विवादमा गठबन्धनको भविष्यमाथि प्रश्न उठिरहेका बेला दुई दलीय संयन्त्रको बैठक बसिएको सत्ता साझेदार दलका नेताहरू बताउँछन्।
एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले बाहिर सुनिए जस्तो गठबन्धनमा कुनै समस्या नभएको दाबी गरे। ‘ठुला दुई दलको साझेदारीमा सरकार छ। दलभित्र उठ्ने कुरा सामान्य हुन्, यसले गठबन्धनलाई असर गर्दैन,’ उनले भने, ‘दलीय संयन्त्रको उद्देश्य नै यस्ता विषयलाई सहमतिमा टुंग्याउने हो, हामी एकजुट छौँ। आजको बैठकले थप सहयोग पुगेको छ।’
उनका अनुसार बैठकमा दुवै दलका नेताहरूले एक वर्षको सरकार सञ्चालनको समीक्षा गर्दै आगामी दिनमा सरकारलाई अझ प्रभावकारी बनाउन सहकार्य गर्ने निर्णय गरिएको छ।
सत्ता साझेदार दलहरूको तिक्तता स्वार्थ केन्द्रित रहेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए। ‘कांग्रेस र एमालेको सरकार छ। यी दुई दलका आपसी स्वार्थले गर्दा खेलकुद, लोकसेवा, प्रदेश अस्पताल जस्ता महत्वपूण कार्यालयहरुका काम प्रभावित भएका छन्। नयाँ नियुक्ती गर्न सकिएको छैन्,’ सचेतक जिसीले भने, ‘कांग्रेस सत्ताभित्र छकि बाहिर छ ठम्याउनै सकेका छैनौं। आफैं सरकारमा छ । कहिल्यै विरोध गर्या छ । कहिल्यै वहिष्कार गर्या छ । यदी सरकारमा हो भने उसको स्पष्ट दृष्टिकोण हुनपर्यो। नभए सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिराबाट अगाडी बढ्नुपर्छ । यो त आलोचना गरेर बाग्रेनिङ्ग गरेजस्तो भयो । सत्ता साझेदार दलललाई मिलाएर लिन सक्नु मुख्यमन्त्रीको कमजोरी र स्पष्ट दृष्टिकोणले अगाडी बढ्न नसक्नु काग्रेसको कमजोरी रहेको उनले बताए। सरकारले सामुहिक रुपमा समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने लय बिर्सिएर निकम्मा सावित भएको उनको भनाई छ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन एवं राजनीतिक विश्लेषक पिताम्बर ढकाल पछिल्लो समय कर्णालीमा सत्ता साझेदार दलभित्र देखिएको विवाद दलीय संयन्त्र कमजोरीको उदाहरण रहेको बताउँछन्। ‘दुई दलले मिलेर नै सत्ताको साझदार गरे होलान् । त्यसमा यहाँ बलियो र निस्वार्थ दलीय संयन्त्र आवश्यक छ । सरकारका हरेक काम कारबाही र निर्णयहरु दलीय संयन्त्र मार्फत जाँदा त्यो सर्वसम्वतरुपमा अगाडी जान्छ । यहाँ त आफ्नो ढंगले निर्णय गर्दा समस्या देखिएको हो,’ उनले भने, ‘त्यहि संयन्त्र बलियो र प्रभावकारी नहुँदा अहिले कर्णालीमा समस्या देखियो ।’
कर्णालीमा सत्ता साझेदार दुवै दलबीचको असमझदारीको जड भनेकै आन्तरिक संवादको कमी रहेको उनी बताउँछन्। ‘गठबन्धनलाई स्थिर बनाउन नियमित संवाद र साझा शासन एजेन्डा अनिवार्य हुन्छ। साना विवादलाई ठूलो रूप दिन नदिन दुवै दलले सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘साझा रोडम्याप बनाएर अघि बढ्दा दलीय प्रतिस्पर्धा स्वाभाविक रूपमा कम हुने देखिन्छ।’
साउन २४, २०८२ शनिबार २१:१३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।