कैलाली कारागार झडपका गम्भीर घाइतेलाई ‘स्काइ ट्रक’मार्फत काठमाडौं ल्याइँदै

काठमाडौं : गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा शुक्रबार राति भएको कैदीबन्दीबीचको झडपलाई गम्भीर रूपमा लिएर नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। उक्त घटनामा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्।
गृहमन्त्री रमेश लेखकले आज गृहसचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गर्दै घटनाको सम्पूर्ण विवरण लिएका छन्। बैठकमा परिस्थिति सहज बनाउन र आवश्यक सुरक्षात्मक कदमबारे छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको सुर्खेतस्थित स्काइ ट्रकमार्फत काठमाडौँ ल्याउने तयारी भएको छ। बाँकी घाइतेको पनि उपचारको व्यवस्था मिलाइएको छ।
‘कारागारको पूर्ण सुरक्षा सुनिश्चित गर्न र थप अप्रिय घटना रोक्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नेछन्,’ प्रवक्ता काफ्लेले भने।
बैठकमा कारागारको आन्तरिक सुरक्षा र दीर्घकालीन व्यवस्थापनबारे पनि छलफल भएको थियो।
साउन २४, २०८२ शनिबार २०:५३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।