पहिरोले पुरिएर सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

लमजुङ : लमजुङ मस्र्याङ्दी गाउँपालिका-६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका-८ मा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो। पहिरोमा परि तीन जना घाइते भएका छन्।
दोर्दी गाउँपालिका-५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका-७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका-६ का २५ वर्षीय विकास विष्ट घाइते भएको उनले जानकारी दिए। घाइतेहरूको बेँसीसहर नगरपालिका-८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ।
आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएको बताए। उनका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन्।
अन्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ। यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
साउन २४, २०८२ शनिबार २०:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।