‘छि! यो सडक’

काठमाडौं : ‘झरी परेपछि हिलामा हिँड्नै नसक्ने अवस्था हुन्छ। अरूको घरको भित्तामा अडेस लिँदै हिलाम्मे बाटो पार गर्नुपर्छ,’ बुटवलकी शुभद्रा भट्टराईले शङ्खमूलस्थित काठमाडौं महानगरपालिका-३१ को सडकको हालको अवस्था देखाउँदै भनिन्, ‘छि! यो सडक।’
असारमा बजेट सकाउन वडाले हतार-हतार सडक खने पनि व्यवस्थापन नगर्दा स्थानीय र यात्रुहरू दुवैलाई असहज भएको छ। घर पस्ने अर्को बाटो नहुँदा भट्टराईजस्ता स्थानीयलाई हिलो, चिप्लो र जोखिमपूर्ण यात्रामा बाध्य हुनुपरेको छ। ‘अस्ती सानी नातिनी हिलोमा लडेर भुइँमा ढल्यो, हामी बूढाबूढीलाई त झन् डर हुन्छ,’ उनले भनिन्।
कोटेश्वर-बालकुमारी करिडोर भएर बानेश्वर वा बबरमहल जाने धेरै यात्रुले पनि यही सडकको दुर्दशा भोगिरहेका छन्। जेठ-असारमा खनिएको सडक समयमा सम्पन्न नभई हिलाम्य अवस्थामा छाडिँदा यातायात, व्यापार र दैनिक आवतजावत सबै प्रभावित छन्। वडाले खानेपानी पाइप, बिजुलीका तार र ठूलो ढल राख्ने योजना भन्दै बाटो भत्काए पनि हिलो फालेर समथल बनाउने जस्तो साधारण काम पनि नगरिएको स्थानीयको आरोप छ।
तरकारी व्यापारी माया तामाङ भन्छिन्, ‘हिलोका कारण मानिस आउजाउ गर्न सक्दैनन्, ग्राहक घटेका छन्, घाटा बढेको छ।’ फोहोर संकलनसमेत कठिन भएको छ, स्थानीयलाई फोहोर बोकेर टाढा चोकसम्म लैजानुपर्ने बाध्यता छ। अधिवक्ता भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको आवागमनलाई बेवास्ता गरेर सडक खन्ने गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे।
छोरालाई शङ्खमूलको स्कुल लैजान दैनिक यही बाटो प्रयोग गर्ने शङ्खर कार्की भन्छन्- ‘बालकुमारी, कोटेश्वर र तीनकुने हुँदै आउने सबैलाई यो हिलो सडकले सताएको छ।’ किराना पसले रमेश लामिछानेको उस्तै दुखेसो छ। उनले भने, ‘असारे विकासले हाम्रो व्यवसाय ठप्प पार्यो-वर्षामा हिलो, चैत-वैशाखमा धुलो। यो विकास होइन, नागरिकलाई दुःख हो।’
स्थानीयले वडामा गुनासो गर्दा पनि तत्काल समाधान नभएको उनीहरू बताउँछन्।
यता वडा-३१ का अध्यक्ष सरोज ढकालले भने केही महिना धैर्य गरे राम्रो सडक तयार हुनेछ बताए। ‘५० वर्षअघि राखिएको सानो ढल हटाएर अहिले ४२ इन्चको ठूलो ढल राख्दैछौं। खानेपानी पाइप र बिजुली तार पनि एकैपटक बिछ्याउने योजना भएकाले काम लामो भयो। हिलोमा ग्राभेल गर्न सकिँदैन। केही महिना धैर्य गर्नुपर्छ, त्यसपछि राम्रो सडक तयार हुनेछ,’ उनले भने।
साउन २४, २०८२ शनिबार १९:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।