लुम्बिनीमा विपद्को पूर्वतयारी नाजुक, कोषमा १० करोड छ तर अघि बढ्दैन उद्धार सामाग्री खरिद प्रक्रिया

बुटवल : लुम्बिनी प्रदेशमा विपद्को पूर्व तयारीको अवस्था नाजुक देखिएको छ। लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासीमा बाढीको उच्च जोखिम हुने गर्छ।
गुल्मी, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, रुकुम पूर्व पहिरोको उच्च जोखिम हुने गर्दछ भने बाँके, बर्दिया, नवलपरासी पश्चिम, रुपन्देही र कपिलबस्तु डुबाउनको समेत उच्च जोखिमका जिल्लामा पर्छन्। तर यस्ता विपद् रोक्न पूर्व तयारी तथा क्षति न्यूनीकरण गर्न सरकारको तयारी फितलो देखिएको छ।
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जना विपत्तबाट प्रभावित हुने आंकलन गरिएको छ। लाखौंको संख्यामा जनता विपद्बाट प्रभावित हुने सरकार आफैले आंकलन गरेपनि प्रदेशमा पर्याप्त रुपमा राहत सामाग्री नै छैन।
यस वर्ष सबैभन्दा बढि प्रभावित कपिलबस्तुमा हुने आंकलन गरिएको छ। कपिलबस्तुमा ८४ हजार ४४९ जना मनसुन जन्यविपद्बाट प्रभावित हुने आंकलन गरिएको छ। त्यस्तै बर्दियामा ८३ हजार ८१३, दाङमा ६४ हजार ८८१, बाँकेमा ५६ हजार १७३, नवलपरासीमा ४५ हजार ८ सय, रुपन्देहीमा ४१ हजार ७५ जना मौसमजन्य विपद्बाट प्रभावित हुने आंकलन गरिएको छ।
यसैगरी, प्युठानमा ४४ हजार ५८९, पाल्पामा ३५ हजार २६०, गुल्मीमा २२ हजार ४७२, अर्घाखाँचीमा २५ हजार ८२७, रोल्पामा १४ हजार ३५३ र रुकुम पूर्वमा ४ हजार ८८६ जना प्रभावित हुने आंकलन गरिएको प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
प्रभावित हुनेको संख्याको तुलनामा राहत सामाग्री भने निकै न्यून रहेको छ। लुम्बिनी प्रदेशका बुटवल र नेपालगञ्ज गोदाम घरमा हाल टेन्ट मात्र ७७९ वटा रहेका छन्।
त्यसैगरी त्रिपाल ६ हजार ४२३, कम्बल ६ हजार १०२, स्लिपिङ व्याग २ हजार १८९, प्लाष्टिक बाल्टी १ हजार ७ सय, झुल १ हजार ३ सय र सेनेटरी प्याड ७ हजार १२८ वटा मात्र रहेको मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेले बताए।
‘हाम्रो पूर्वअनुमानको तुलनामा राहत सामाग्री कम छ। तर विपद् कोषमा १० करोड रुपैयाँ रहेको छ। उक्त रकम आवश्यक पर्न साथ हामी खर्च गर्न सक्छौ’ उनले भने।
उनका अनुसार विपद् व्यवस्थापन कोषमा हाल १० करोड ५३ लाख ९० हजार मौजात रहेको छ। मन्त्रालयले गएको आर्थिक बर्षमा मात्र प्रदेशमा भएका विपद्का घटनाका लागि विपद् राहत व्यवस्थापन तर्फ १ करोड २२ लाख २७ हजार रुपैयाँ र पुर्न निर्माण तर्फ ९३ लाख १५ हजार रुपैयाँ खर्च भएको बताए।
उद्धार सामाग्री खरिदमा समस्या
लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले पछिल्लो २ आर्थिक वर्षमा उद्धारका सामाग्री खरिद गर्न सकेको छैन। आर्थिक बर्ष ०८०/०८१ मा १ करोड र गएको आर्थिक वर्षमा २ करोड रुपैयाँ उद्धार सामाग्री खरिदका लागि बजेट विनियोजन भएको थियो।
तर मन्त्रालयले तयार गरेको स्पेसिफिकेसन बमोजिम सप्लायर्स सामाग्री दिन नसक्ने भएपछि दुई वर्ष देखि प्रदेशमा उद्धारका सामाग्री खरिद गर्न नसकिएको पाण्डेयले बताए। चालु आर्थिक वर्षमा पनि २ करोड रुपैयाँ उद्धार सामाग्री खरिदका लागि बजेट विनियोजन गरिएको छ। यस वर्ष स्पेसिफिकेसनलाई परिमार्जन गरेर भएपनि सामाग्री खरिद गरिने उनको भनाई छ।
गएको आर्थिक वर्षमा मात्र प्रदेशमा १७ सय बढि विपद्
लुम्बिनी प्रदेशका १२ जिल्लामा गएको आर्थिक वर्षमा १ हजार ७५४ वटा विपद्का घटना भएका छन्। जसबाट १९३ पुरुष र ८९ महिला गरी २८५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै ७५८ जना घाइते भएका थिए भने १७ जना वेपत्ता भएका थिए। गएको आर्थिक बर्षमा मात्र प्रदेशमा विपद्बाट २० करोड ९६ लाख १२ हजार ८४५ रुपैयाँको अनुमानित क्षति भएको थियो।
सबैभन्दा बढि बर्दियामा २१५ वटा विपद्को घटना भएका थिए। जसबाट २३ पुरुष र १७ महिला गरी ४० जनाले ज्यान गुमाएका थिए। त्यस्तै रुपन्देहीमा १४९ वटा विपद्का घटना भएको मन्त्रालयले जनाएको छ। जसबाट ४४ जनाले ज्यान गुमाएका थिए। त्यस्तै गएको आर्थिक वर्षमा अर्घाखाँचीमा ९६, कपिलबस्तुमा १४५, गुल्मीमा १०९, दाङमा १९६ विपद्का घटना भएका थिए।
यसैगरी नवलपरासी पश्चिममा १०३, पाल्पामा १८०, प्यूठानमा ११३, बाँकेमा १९९, रुकुम पूर्वमा ५६ र रोल्पामा १६३ वटा विपद्का घटना घटेको विपद् फोकल पर्सन पाण्डेले जानकारी दिए। एक बर्षको अवधिमा प्रदेशका १२ वटै जिल्लामा २७५ जना व्यक्तिको घर पूर्ण रुपमा क्षति भएको छ भने ६४६ व्यक्तिका घरमा आंशिक क्षति पुगेको छ। सरकारी भवन मात्र ७ वटा पूर्ण रुपमा क्षति भएका छन्। २५५ गोठमा क्षति हुँदा ४७७ वटा पशु चौपायको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
५ वर्षमा ५ हजार बढि विपद्का घटना
लुम्बिनी प्रदेशमा ५ वर्षको अवधिमा ५ हजार ९० वटा विपद्का घटना भएका छन्। जसबाट ६३० जनाले ज्यान गुमाएका छन् । त्यस्तै २ हजार ११६ जना घाइते भएका छन्। ५ वर्षको अवधिमा विपद्बाट १ अर्ब ४० करोडको क्षति भएको छ। त्यस्तै ५ हजार ५० परिवार प्रभावित भएका छन्।
साउन २४, २०८२ शनिबार १९:२५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।