टाइम्स स्क्वायरमा १७ वर्षीय युवकले गोली चलाए, तीन जना घाइते

टाइम्स स्क्वायरमा १७ वर्षीय युवकले गोली चलाए, तीन जना घाइते

न्युयोर्क : न्युयोर्क शहरको भीडभाड हुने पर्यटकीय केन्द्र टाइम्स स्क्वायरमा शनिबार बिहान एक किशोरले गोली चलाउँदा तीन जना घाइते भएका छन्।

न्युयोर्क प्रहरी विभागका अनुसार स्थानीय समयानुसार बिहान १:२० बजे सामान्य भनाभनपछि १७ वर्षीय युवकले गोली प्रहार गरेका हुन्। आक्रमणमा १८ वर्षीया युवतीको घाँटीमा, १९ वर्षीय युवक र ६५ वर्षीय वृद्धको शरीरको तल्लो भागमा चोट लागेको छ। अस्पतालका अनुसार उनीहरूको अवस्था स्थिर छ।

घाइतेहरूलाई बेलेभ्यु अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएर एउटा बन्दुक बरामद गरेको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म औपचारिक अभियोग दायर नभएको प्रहरीको भनाइ छ।

गोली काण्ड टाइम्स स्क्वायरको थिएटर डिस्ट्रिक्टस्थित ४४औं स्ट्रिट र सेभेन्थ एभिन्युमा भएको हो, जहाँ दैनिक हजारौं पर्यटकको भीड लाग्छ।

न्युयोर्क टाइम्सका अनुसार सन् २०२५ को पहिलो सात महिनामा शहरमा गोलीकाण्डका घटना पछिल्ला वर्षहरूको तुलनामा न्यून देखिएको छ। तर यसअघि, गत जुलाई ३० मा म्यानहट्टनमा सेमी अटोमेटिक राइफलसहितको एक व्यक्तिले चार जनाको हत्या गरेका थिए।

‘गन भायलेन्स आर्काइभ’का तथ्यांकअनुसार यस वर्ष अमेरिका भरमा २५४ सामूहिक गोलीकाण्ड भइसकेका छन्।

साउन २४, २०८२ शनिबार १८:१६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।