एआईलाई अवसरका रूपमा लिएर अधिकतम उपयोग गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमत्ता (एआई) को अधिकतम उपयोग गरी लाभ लिन सक्नुपर्नेमा बताएका छन्।
३१ औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले शनिबार आयोजना गरेको ‘आदिवासी जनजाति र कृत्रिम बौद्धिकता : अधिकारको रक्षा र भविष्यको निर्माण’ विषयक गोष्ठी उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘आज एआईको प्रभावकारी प्रयोग गर्नेले विकास र लाभ दुवै पाएका छन्। संसारका धनी वा गरिब, सबै देशले यसको अवसर उपयोग गर्न सक्छन्।’
सरकारका प्रवक्तासमेत रहेका गुरुङले कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योग र विपत्ति व्यवस्थापनलगायत क्षेत्रमा एआईको प्रयोग बढाउने तयारी भइरहेको जानकारी दिए। उनले एआईलाई अवसरका रूपमा उपयोग गर्दै सम्भावित चुनौतीहरू न्यून गर्न आवश्यक तयारीमा जोड दिए।
आदिवासी जनजातिका संवैधानिक, कानुनी र नीतिगत अधिकार सुनिश्चित गर्न र थप अधिकारका लागि एकजुट हुनुपर्नेमा उनले बल दिए।
संयुक्त राष्ट्रसंघले सन् १९८२ को ९ अगष्टमा आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक बसेको स्मरणमा हरेक वर्ष यही दिन विश्व आदिवासी दिवस मनाउँदै आएको छ।
संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार विश्वमा ६० करोडभन्दा बढी आदिवासी जनजाति छन्, जसले विश्व जनसङ्ख्याको करिब ७५ प्रतिशत हिस्सा ओगटेका छन्। उनीहरू ९० भन्दा बढी देशमा बसोबास गर्छन् र बोलिने सात हजारभन्दा बढी भाषामध्ये दुई तिहाइ भाषा प्रयोग गर्छन्।
नेपालमा बोलिने १२४ भाषामध्ये ९३ आदिवासी जनजातिका भाषा हुन्। विश्वमा उत्पादित करिब ८० प्रतिशत खाद्य पदार्थ आदिवासी ज्ञानमा आधारित छ। भौगोलिक रूपमा उनीहरू पृथ्वीको २८ प्रतिशत भूभागमा बसोबास गर्छन् र ८५ प्रतिशत जैविक विविधताका संरक्षक मानिन्छन्।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिको विशिष्ट ज्ञान र सीपको संरक्षण तथा संवर्द्धन गर्नु राज्यको दायित्व भएको बताए।
साउन २४, २०८२ शनिबार १८:००:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।