कैदीको मृत्यु भएपछि नियन्त्रण बाहिर रहेको कैलाली कारागार अहिले शान्त, हिंसात्मक घटनाको कारण ‘फितलो सुरक्षा’

कैदीको मृत्यु भएपछि नियन्त्रण बाहिर रहेको कैलाली कारागार अहिले शान्त, हिंसात्मक घटनाको कारण ‘फितलो सुरक्षा’

धनगढी : कैदीहरूबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरूको नियन्त्रणमा छ। शुक्रबार मध्यराती झडप भएपनि त्यसपछि घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गरेका कारण कारागार कैदीहरूको नियन्त्रणमा गएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरिक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र प्रवेशमा अवरोध गरेका थिए।

‘हामीहरू अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौं। उनीहरू आक्रोशित छन्। थप घटना नहोस भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने। जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन्।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले घटनामा गम्भीर लापरबाही भएको बताएको छ। मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ।

कारागारमा शुक्रबार राति सामूहिक झडप भएको थियो। झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। 

मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ। घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले घाइतेहरू मध्ये अधिकांशका हातखुट्टा भाँचिएका छन्। उनले झडपमा फलामका रडहरूको बढी प्रयोग भएको बताए।

‘फलामे रडहरूको बढी प्रयोग भएको छ। घाइतेहरूलाई ठूलो चोट लागेपनि उनीहरू खतरामुक्त छन्। एकजनाको शल्यक्रिया भएको छ। एकजनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने। सेती प्रादेशिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरूलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ।

घाइतेका आफन्तको गुनासो, ‘अस्पतालमा भेट्न दिइएको छैन’

धनगढी उपमहानगरपालिका-४ का महेश चौधरी बिहानैदेखि तनावमा छन्। उनी कतिबेला सेती प्रादेशिक अस्पतालमा पुगिरहेका छन् भने कतिबेला कैलाली कारागार। उनले छोराको अवस्थाका बारेमा केही जानकारी पाएका छैनन्। 
‘बिहानदेखि भौंतारिरहेको छु, न भेट गर्न दिइएको छ, न कुनै जानकारी नै दिएको छ’ अस्पतालको इमरजेन्सीको बाहिरपट्टी भेटिएका उनले भने। ‘लामो समयदेखि कारागारमा झडप भइरहेको थियो, प्रशासनले मतलब गरेन। अहिले ठूलो घटना भयो।’

उनका छोरा शरद चौधरी कैलाली कारागारमा थिए। शरदलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो। उनलाई जेल सजाय भोगेको दुई वर्ष भयो। ‘छोरा भेटन जाँदा कारागार भित्रको अवस्था नराम्रो छ भन्दैथ्यो, दुई समूहबीच झडप भइरहने र त्यसबाट सबैलाई खतरा रहेको भनियो, कारागार प्रशासनलाई पनि यसबारेमा जानकारी गराइएको थियो तर लापरबाही भएर यस्तो भयो’, महेश चौधरीले भने।

उनी मात्रै होइन, सेती प्रादेशिक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरूको भीडभाड लागेको छ। धनगढीकै रमेश विनाडीलाई पनि आफ्ना भान्जाका बारेका जानकारी छैन। उनले भान्जा पनि घाइते भएको सुनेका छन् । 
‘भान्जाको अवस्थाका बारेमा प्रशासन र कारागारले केही पनि जानकारी दिएको छैन। अस्पतालमा पनि जान दिन्न, कारागारमा पनि जान दिन्न’ बिनाडीले भने। उनले कारागार भित्र लाठी, रड र भाला कताबाट गए भन्ने गम्भीर प्रश्न उब्जिएको बताए।

‘झडपमा फलामे रड, भालाहरु प्रयोग भएका छन्। ती कसरी कारागारभित्र पुगे ?’विनाडीले प्रश्न गरे। ‘यसको छानबिन हुनुपर्छ।’ उनले लामो समयदेखि कारागारमा झडप भइरहे पनि प्रशासनले त्यसलाई सामान्य रुपमा लिएका कारण यस्तो भएको दाबी गरे। 

पाँच सदस्यीय छानबिन समिति गठन

कारागार घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर कैदीले नै नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको दाबी गरे।

उनले भने, ‘समाचारमा कारागार घटनास्थल कब्जा लिइयो भनेर आएको कुरामा म जानकार छैन। त्यहाँ सुरक्षाकर्मीले गर्ने काम गरिरहनु भएको छ। जहाँ जहाँ हुनुपर्ने हो त्यहाँ नै हुनुहुन्छ। त्यस्तो केही पनि होइन्। अहिले त्यहाँ सामान्य नै छ अवस्था।’

घाइतेमध्ये जगदीश राना, रबि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

 

साउन २४, २०८२ शनिबार १७:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।