एनेस्थेसियोलोजीस्ट डा. अभिषेशको उपचार अनुभव : ढाड दुखेर ब्याकुल २३ वर्षिय युवतीको फर्किएको खुसी

एनेस्थेसियोलोजीस्ट डा. अभिषेशको उपचार अनुभव : ढाड दुखेर ब्याकुल २३ वर्षिय युवतीको फर्किएको खुसी

डा. अभिषेश  श्रेष्ठ ‘एनेस्थेसियोलोजी’ विशेषज्ञ हुन्। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्यूँताउनु उनको दैनिकी हो। उनी त्यतिमा मात्रै सीमित छैनन्। पछिल्लो समय उनी विशेषगरी बिरामीको दुखाई कम गराउने तर्फ बढी केन्द्रित भएका छन्। उनै चिकित्सक डा.अभिषेकले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्: 

हात झमझमाएर रातभर सुत्न नसक्ने ति २१ वर्षीया युवती

प्रसंग हो, करिब पाँच वर्ष अघिको। २१ वर्षकी युवती छटपटाउँदै दुखाई कम गर्ने उपचारको खोजीमा अस्पताल पुगिन्। ती युवती दायाँतर्फको हात दुख्ने, झमझमाउने, पोल्ने जस्ता नसाजन्य समस्याले पीडित थिइन्। उनी दुखाईका कारण हात चलाउन समेत सक्दिनथिन्।

हात भतभती पोल्ने समस्याका कारण राती पनि घरीघरी चिसो पानीमा हात डुबाउनु पर्थ्यो। उनी रातमा समेत निदाउन सक्दिनथिन्। धेरै उपचार गर्दा पनि उनको दुखाई ठिक भएको रहेनछ। शारीरिक दुखाईका कारण ती युवती मानसिक रुपमा समेत विक्षिप्त बनेकी थिइन्। जव उनी डा. अभिषेशको सम्पर्कमा आइन् उनले युवतीको दुखाइको कारण खोज्न थाले। र केही समयमा पत्ता पनि लगाए। दुख्ने, पोल्ने, झमझमाउने जस्तो दीर्घकालिन समस्यालाई चिकित्सकीय भाषामा ‘कम्प्लेक्स रिजनल पेन सिन्ड्रोम (सिआरपीएस)’ भनिन्छ। ती युवतीलाई यही दीर्घकालिन समस्या भएको रहेछ।

दुर्घटना तथा चोट लगायतको समस्याका कारण यस्तो समस्या हुन्छ। ‘सिआरपीएस’को समस्यामा व्यक्तिलाई दीर्घकालीन दुखाईले थला पार्छ।

दुखाईको समस्याका कारण थाहा पाइसकेपछि डा. अभिषेशले ती युवतीको उपचार शुरु गरे। उनले सुईको माध्यमबाट दुखेको हातको भागमा दुखाई कम गर्ने औषधि राखिदिए। यस्तो उपचार विधिलाई ‘रेडियो फ्रिक्वेन्सी एब्लेशन (आरएफए)’ भनिन्छ।

रेडियो फ्रिक्वेन्सी एब्लेशन (आरएफए) उपचारात्मक विधिले शरीरको दुखाई भएको भागको तन्तु नष्ट गर्न ताप दिइन्छ। यो विधिमा रेडियो तरंगलाई सुईको माध्यमबाट स्नायु (नसा) मार्फत शरीरको दुखेको भागमा पठाइन्छ। र, सुईमार्फत दिएको त्यो ताप सहितको रेडियो तरंगले दुखाई गराउने तन्तुलाई नष्ट गर्छ। अनि दुखाई ठिक हुन्छ। ती युवतीलाई पनि यही उपचार विधि अपनाएर दुखाईको उपचार गरिएको उनी सम्झन्छन्। 

डा. अभिषेशले रेडियो फ्रिक्वेन्सी एब्लेशन (आरएफए) विधि अपनाएर युवतीको दुखीरहेको हातको ‘स्टेलेट ग्याङ्ग्लियन ब्लक (सिम्पेथेटिक ब्लक) मा सुई दिए। उपचारपछि ती युवतीको हातको  दुखाई र पोलाइ लगायतको पीडा ठिक भयो।हातको दुखाई र पोलाइका कारण विक्षिप्त बनेसकेकी उनी खुुसी भइन्।  डा. अभिषेश पनि सफल उपचार गर्न सकेकोमा सन्तुष्ट भए।

ती युवती अझै पनि बेला बेलामा फलोअपमा अस्पताल पुग्ने गरेकी छन्। उपचारपछि पाँच वर्ष यता ती युवती दुखाई मुक्त भएको डा. अभिषेशले सुनाए। 

थला परेकी २३ वर्षकी युवतीको ढाड ठिक भएपछि.... 

त्यसैगरी केही वर्ष अघि रसुवाको चिलिमेमा स्वास्थ्य शिविर लिएर जाँदाको एउटा प्रसंग पनि डा. अभिषेशले सम्झिए। स्वास्थ्य शिविरमा आएकी करिब २३ वर्षकी युवती ढाडको दुखाईको समस्याले लामो समयदेखि थला परेकी थिइन्। युवतीलाई सामान्य हिँडडुल गर्न त परै जाओस् उठबस गर्न समेत कठिन थियो। 

डा. अभिषेशले अल्ट्रासाउण्ड गरेर दुखाईको कारण पत्ता लगाए। ती युवतीको ढाड तल्लो भाग खिइएको थाहा भयो। तर, त्यहाँ सामान्य दुखाई व्यवस्थापन बाहेक, त्यहाँ थप उपचार सम्भव भएन। 

डा. अभिषेशको टिमले उनलाई काठमाडौंमा नै बोलायो। गाउँकी ती युवतीको काठमाडौंमा आएर उपचार गर्ने आर्थिक क्षमता थिएन। टिमले एउटा संस्थाको सहयोगमा ती युवतीको दुखाईको व्यवस्थापन गरिदिने चाँजोपाँजो मिलाएर फर्किए।  

ती युवती पनि उपचारका लागि काठमाडौं आइन्। युवतीको रेडियो फ्रिक्वेन्सी एब्लेशन (आरएफए) उपचारात्मक विधि नै अपनाएर उनले दुखाईको उपचार शुरु गरे। डा. अभिषेशले ती युवतीको ‘सि-आर्म’ मेसिनको सहायताले हेरेर सुईको माध्यमबाट ढाडको दुखेको भागमा दुखाई कम गर्ने औषधी राखिदिए। 

विशेषगरी लामो समयसम्म दुखेको ढाड हातखुट्टा, गर्धन जस्ता जस्ता अंगको दुखाई कम गर्न यस्तो उपचारात्मक विधि अपनाइन्छ। दुखाई ठिक गर्नका लागि यस्तो विधि प्रभावकारी भएका समेत डा. अभिषेशले सुनाए। 

करिब दुई हप्ताको उपचारपछि ती युवतीको ढाड दुखाईको समस्या पूर्ण रुपमा नै ठिक भयो। ढाडको समस्या ठिक भएपछि युवती खुसी भएर घर फर्किइन्।  ढाड दुखाइको समस्या ठिक भएर घर फर्केपछि ती २३ वर्षीय युवतीले दुखाई सम्बन्धी समस्या भएका अन्य बिरामीलाई पनि उपचारका लागि पठाएको सम्झन्छन्, डा. अभिषेश।

अल्ट्रासाउण्डको मद्दतले शरीरको कुन भागमा, के कारणले दुखाई भएको छ, त्यो पत्ता लगाएर दुखाईको उपचार गर्ने गरेको उनले अनुभव सुनाए। दुखाई भएको ठाउँमा सुईको माध्यमबाट औषधि दिने अनि आवश्यकता अनुसारको विधि अपनाएर औषधि उपचार गरिने गरेको उनले सुनाए।

धेरैजसो बिरामीहरू विशेषगरी ढाड, घुँडा, हातखुट्टा लगायत शरीरका विभिन्न अङ्गको दुखाईको समस्याले अस्पताल पुग्ने गरेको उनले अनुभव सुनाए। यस्ता दुखाईहरू अल्ट्रासाउण्डको सहायताले पत्ता लगाएर जहाँ समस्या छ त्यहीँ उपचार गरिने डा. अभिषेशको अनुभव छ। 

पाठेघरको मुखमा क्यान्सर भएर अन्तिम अवस्थामा पुगेकी ती ६५ वर्षीय महिला 

क्यान्सरसँग सम्बन्धी समस्या भएका कयौँ बिरामीहरू दुखाईको पीडाले छटपटाएको डा. अभिषेशले नजिकबाट देखेका छन्। प्रसंग करिब तीन वर्ष अघिको हो। करिब ६५ वर्षकी महिला पाठेघरको मुखको क्यान्सरले पीडित भइछन्।

शरीरका विभिन्न अङ्गमा क्यान्सर फैलिएर ती महिला दुखाई सहन नसकेर मर्नु न बाँच्नुको अवस्थामा पुगेकी थिइन्। ‘मर्फिन’ जस्तो दुखाई कम गर्ने औषधीले पनि दुखाई कम भएको थिएन। 

त्यसैले उनको दुखाई कम गर्न डा. अभिषेशले ‘इन्ट्राथिकल पेन पम्प’ लगाइदिए। ‘इन्ट्राथिकल पेन पम्प’लाई सामान्य भाषामा दुखाई कम गर्ने पम्प पनि भनिन्छ। यो विधि अपनाएर दुखाई कम गर्ने औषधी बिरामीको मेरुदण्डलाई घेरेको तरल पदार्थमा पुर्याएर छोडिन्छ। 

क्यान्सरको समस्या भएकी महिलालाई पनि डा. अभिषेशले दुखाई कम गर्ने यही उपचारात्मक विधि अपनाए। दुखाई कम गर्न नेपालमा पहिलोपटक त्यस्तो उपचारात्मक विधि अपनाएर बिरामीको दुखाई कम गरेको उनले सुनाए। एक पटक ‘इन्ट्राथिकल पेन पम्प’ उपचारात्मक विधि अपनाएपछि करिब तीन महिना दुखाई कम हुने उनले सुनाए।

 दीर्घकालिन किसिमको दुखाई व्यवस्थापनका लागि पनि यस किसिमको पम्प राख्न सकिने उनले बताए। दुखाई कम गर्ने यो विधि अपनाएपछि ती महिलालाई दुखाई कम भएको थियो। 

दुर्भाग्य, उनको क्यान्सर फैलिसकेको थियो। एक पटक दुखाई कम गर्ने पम्प राखेपछि उनलाई अस्पताल पुर्याइएन। सायद उनी क्यान्सरले गलेर बितिन्। ती आमैको दुखाई कम गर्ने त्यो उपचार गरेको प्रसंग डा. अभिषेश  कहिल्यै भुल्दैनन्।

छनोटमा बेहोस बनाएर ब्यूँताउने विषय

सन्  १९८६ मा ललितपुरको कुपण्डोलमा जन्मिएका अविशेषले सानेपाको ज्ञानोदय बालबाटिकाबाट सन् २००२ मा एसएलसी गरे। त्यसपछि उनले भारत पुगेर प्लस टु गरे। 

अध्ययनमा अब्बल अविशेषलाई सानैबाट डाक्टर बन्ने इच्छा थियो। त्यसैले उनले एमबीबीएस अध्ययनका लागि तयारी गरे। अनि छनोट परीक्षा दिए। त्यसपछि अविशेष छनोट भएर काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौं मेडिकल कलेजमा भर्ना भएर सन् २००५ मा एमबीबीएस अध्ययन गर्न थाले। सन् २०१० मा उनको एमबीबीएस अध्ययन सकियो। 

डा. अभिषेशले चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि पनि ढिला गरेनन्। स्नातकोत्तर तहको अध्ययनमा उनको छनोटको विषय ‘एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर’ पर्यो। काठमाडौं विश्वविद्यालय अन्तर्गतकै काठमाडौं मेडिकल कलेजमा सन् २०११ मा भर्ना भएर उनले यो विषयमा एमडी अध्ययन थाले। सन् २०१४ मा उनको एमडी अध्ययन पूरा भयो।

एमडी अध्ययनपछि डा. अभिषेशले काठमाडौंको तिलगंगा आँखा अस्पतालमा करिब तीन वर्ष काम गरे। 

बिरामीको दुखाई ठिक बनाउने विशिष्टिकृत अध्ययन

डा. अभिषेशलाई थप अध्ययनको भोक मरेकै थिएन। त्यसैले सन् २०१८ मा उनले भारतको कोलकत्तास्थित ‘बरादिया पेन अस्पताल’ पुगेर दुखाई व्यवस्थापन सम्बन्धी ‘इन्टरभेन्शनल पेन म्यानेजमेन्ट’ विषयमा एक वर्षे फोलोसीप गरे। यो दुखाई ठिक गर्ने विशिष्टिकृत तहको अध्ययन हो। भारतमा सिकेको दुखाई व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप सिकेर उनी नेपाल फर्किए। 

एमबीबीएस अध्ययन र पेशाको शिलशिलामा दुखाईको समस्याका कारण धेरै बिरामीले दुःख पाएको उनले नजिकबाट देखेका थिए। बिरामीको दुखाई कम गर्ने विषय कुन होला? भनेर खोजि गर्दै जाँदा दुखाई व्यवस्थापन सम्बन्धी विषय छनोट गरेको उनले सुनाए। त्यसैले डा. अभिषेशले यही विषय छनोट गरेका रहेछन्। त्यो बेला नेपालमा दुखाई व्यवस्थापन सम्बन्धी शैक्षिक फेलोसिप गरेका चिकित्सकको संख्या करिब आधा दर्जन भएको हुनसक्ने उनको अनुमान छ। तर, अहिले भने यो संख्या बढेर करिब पाँच दर्जन पुगिसकेको उनले सुनाए। 

भातरबाट फर्किएपछि डा. अभिषेश  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा सन् २०१९ मा लेक्चररका रुपमा करार जागिरमा प्रवेश गरे। हाल उनी पाटनमा नै ‘एसिस्टेन्ट प्रोफेसर’का रुपमा कार्यरत छन्। 

डा. अभिषेश  पाटनको जागिरे भएपछि नेपालमा पनि कोरोना भाइरस संक्रमण सुरु भयो। र, त्यो बेला गाउन, स्काप, मास्क, पञ्जाजस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीइ) लगाएर आइसियु तथा भेन्टिलेटरमा रात दिन खटेर बिरामी बचाउने कोसिस गर्दाका क्षणहरू डा. अभिषेश  कहिल्यै भुल्दैनन्।

त्यो बेला कोरोना संक्रमणका कारण श्वास नै फेर्न कठिन भएका बिरामीलाई बचाउने सवालमा एनेस्थेसियोलोजिष्ट तथा दुखाई व्यवस्थापक चिकित्सकको भूमिका निक्कै महत्वपूर्ण थियो। उनी लगायतको टिमले बिरामीलाई हरसम्भव बचाउने कोसिस गर्यो। तर, पनि कतिपय बिरामीलाई बचाउन नसकेको सम्झँदा भने उनको मन अझै अमिलो हुन्छ।

पाटन अस्पतालमा ओपीडी र बिरामी भर्ना गरेर समेत दुखाईको समस्या भएका बिरामीको दुखाई कम गराउने चिकित्सकीय कर्ममा उनी तल्लीन छन्। डा. अभिषेशको अध्ययनको चिकित्सकीय विषय नै ‘एनेस्थेसियोलोजी’ र ‘दुखाई व्यवस्थापन’ हो।

त्यसैले डा. अभिषेश  शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउने र शल्यक्रियापछि ब्यूँताउने काम गर्छन्। अनि बिरामीको दुखाई व्यवस्थापनमा केन्द्रित भएर उनी काम गर्छन्। त्यसैगरी चिकित्सा शास्त्रका विद्यार्थीलाई आफूले सिकेका ज्ञान तथा सीप बाँड्ने अनि चिकित्सकीय अध्ययन तथा अनुसन्धानजस्ता काम गर्नु डा. अभिषेशको दैनिकी हो।

विशेषगरी अल्ट्रासाउण्ड, एक्स–रेजस्ता प्रविधिको प्रयोग गरी बिरामीको दुखाई सम्बन्धी समस्या दीर्घकालिन रुपमा नै ठिक बनाउने कोसिस गरिने उनले सुनाए। व्यक्तिको शरीरमा भएका विभिन्न रोग र शल्यक्रियाजस्ता कारण दुखाई हुन्छ। यस्तो अवस्थामा औषधि, रेडियो फ्रिक्वेन्सी एब्लेशन जस्ता विधि अपनाएर दीर्घकालिन दुखाई सम्बन्धी समस्या ठिक गर्ने विधि अपनाइने डा. अभिषेशले सुनाए। 

शल्यक्रियापछि गरिने दुखाई व्यवस्थापनलाई चिकित्सकीय भाषामा ‘पोष्ट सर्जिकल पेन म्यानेज्मेन्ट’ भनिन्छ। शल्यक्रियाको कारण लामो समय दुखाई भएको अवस्थामा समेत बिरामीको दुखाई कम गराउन दुखाई व्यवस्थापन सम्बन्धी अध्ययन गरेको चिकित्सकको भूमिका महत्वपूर्ण हुन्छ। 

हालसम्म नेपालमा दुखाई व्यवस्थापन सम्बन्धी औपचारिक रुपमा शैक्षिक अध्ययन सुरु नभएको उनले सुनाए। तर, नेपालमा यो विषयको औपचारिक अध्ययन आवश्यक भएको डा. अभिषेशको तर्क छ।

बेहोस बनाएर ब्यूँताउँदाका संवेदनशीलता 

एनेस्थेसियोलोजिष्टलाई बेहोस बनाउने, लट्ठ्याउने, अचेत बनाउने चिकित्सकका रूपमा चिनिन्छ। त्यसैले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्यूँताउने काम गर्ने भएकाले एनेस्थेसियोलोजिष्ट चिकित्सकलाई पर्दा पछाडिको हिरोका रुपमा समेत चित्रित गरिन्छ।

यो निश्चेतन गराउने विद्या हो। बिरामीको शल्यक्रियाको योजना बनाउँदा त्यो बिरामीको रोगको प्रकृति तथा स्थितिजस्ता विषयमा एनेस्थेसियोलोजिष्टले थाहा पाउनुपर्ने हुन्छ। 

शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रियाका क्रममा अनि शल्यक्रियापछि स्वास्थ्यमा कुनै जटिलता निम्तिन्छ की निम्तिँदैन भन्ने जस्ता विषयमा समेत विश्लेषण गरेर मात्रै बेहोस बनाउन मिल्छ वा मिल्दैन भनेर निर्णय गर्छन्, उनी। 

बिरामीलाई बेहोस बनाएर ब्यूँताउनु वास्तवमा नै संवेदनशील काम हो। शल्यक्रियाका क्रममा समेत मुटुको चाल, रक्तचाप, शरीरमा पानी र नुनको मात्राजस्तो अवस्था नजिकै बसेर हेरिरहनुपर्ने उनले सुनाए। 

शल्यक्रियाका लागि बेहोस बनाइएको बिरामीलाई ब्यूँताउने समयमा बढि नै जटिलता निम्तिने जोखिम हुने भएकाले चनाखो हुनुपर्ने उनको अनुभव छ। ब्यूँताउने बेलामा व्यक्ति नब्यूँझिने जोखिम समेत हुने भएकाले उनी यस्तो बेला निक्कै चनाखो हुन्छन्। 

पूरै शरीर वा शरीरको कुनै निश्चित भाग मात्रै अचेत बनाएर पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ। उनी यस्तै काममा तल्लीन छन्। 

साउन २४, २०८२ शनिबार १५:३१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।