ढोरपाटनमा घोडा सफारी फस्टायो, स्थानीयको आम्दानी बढ्यो

ढोरपाटनमा घोडा सफारी फस्टायो, स्थानीयको आम्दानी बढ्यो

गलकोट : नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ। घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ।

ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन्। ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ।

घोडा पालेरै घर खर्च धान्दै आएका ढोरपाटन नगरपालिका-९ निवासी अनिस विकले पर्यटक बढेपछि दिनमै तीन हजारभन्दा माथि आम्दानी गर्दै आएको बताए। उनका अनुसार ढोरपाटनमा पछिल्लो समय पर्यटक उल्लेख्य रूपमा बढेका छन्।

उनले भने, ‘पहिले त मुस्किलले दिनमा एक हजार हुन्थ्यो, अहिले तीन हजारसम्म आम्दानी भइरहेको छ, ढोरपाटनमा फुलेका बुकी फुलमा घोडा चढ्ने बढेका छन्।’

एक पटक घोडामा चढेर फोटो तथा भिडियो बनाएको दुई सय लिने गरेको उनी बताउँछन्। घोडाको खानपान घटाउँदा घर खर्च गरेर एक/दुई हजार दैनिक बचत हुने गरेको उनको भनाइ छ।

उनले थपे, ‘ढोर बराही दर्शन गरेको पाँच सय र बुकी पुगेको तीन हजारसम्म लिने गरेको छु, सबैभन्दा बढी पर्यटक घोडा चढेर ढोरपाटन उपत्यकाको फूलमा फोटो तथा भिडियो बनाउन रुचाउँछन्।’

यहाँका स्थानीयले घारवास र घोडा सफारीबाट मुख्य आम्दानी लिने गरेका छन्। बर्खायाम भए पनि यहाँको बुकी फूल हेर्न कै लागि बुटवल, काठमाडौं, पोखरा, बागलुङ बजारसहितका छिमेकी पालिकाहरूबाट ढोरपाटनमा पर्यटक आउने गरेका छन्।

असारदेखि भदौसम्म यस क्षेत्रमा विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल फुल्ने गर्छन्। मङ्सिर-पुसमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटक हिउँ खेल्नकै लागि आउँछन्। यहाँ आउने पर्यटक घोडा नचडी फर्किएको पाइँदैन। पर्यटकहरू घोडा चढेरै बुकी पाटनसम्म जाने गर्दा घोडाधनीहरू उत्साहित रहेका छन्।

घोडापालनमा भने चुनौती रहे पनि पछिल्लो समय आम्दानी बढेको घोडाधनी मैतराम विकको भनाइ छ। दुई घोडा पालेका मैतरामको घर खर्च चलाउने माध्यम घोडा नै हो। उनले बुकीपाटनमा पर्यटकका सामग्री पुर्याउन आफ्ना घोडा प्रयोग गर्दै आएको बताए।

‘हिमपात हुने तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्छ, अघिपछि पर्यटकहरू आउनुहुन्छ, हिमपातमा घोडा हिडाउन मिल्दैन, घरमै पाल्दा कठिन हुन्छ, अहिले घोडामै पर्यटकलाई बुकीपाटन लैजाने व्यवस्था मिलाइएको छ, ढोरपाटन उपत्यकाबाट बुकी पुर्याएको तीनदेखि चार हजारसम्म दिन्छन्’, विकले भने।

बर्खायाम भए पनि ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फष्टाउँदै आएको स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीले जानकारी दिए। सिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षमा २३ हजार पर्यटक भित्रिएका थिए।

साउन २४, २०८२ शनिबार १४:१३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।