पाकिस्तानी क्रिकेटर हैदर अलीलाई बेलातयमा बलात्कारको आरोप

पाकिस्तानी क्रिकेटर हैदर अलीलाई बेलातयमा बलात्कारको आरोप

एजेन्सी : अष्ट्रेलियामा हुने टप एन्ड टी२० लिग खेल्नका लागि ‘पाकिस्तान ए’ टोलीमा रहेका क्रिकेटर हैदर अली बलात्कार आरोपमा इङ्गल्यान्डमा पक्राउ परेका छन्।

ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई पक्राउ गरी सोधपुछपछि धरौटीमा रिहा गरेको छ। घटनालगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले घटनापछि अलीलाई तत्काल निलम्बन गरेको छ।

अली पाकिस्तानको ‘ए’ टिम मानिने शाहीन स्क्वाडसँगै इङ्ल्यान्ड भ्रमणमा थिए।

ग्रेटर म्यानचेस्टर प्रहरीले एक बयानमा भनेको छ, ‘अगस्ट ४, २०२५ मा बलात्कारको उजुरी प्राप्त भएपछि हामीले एक २४ वर्षीय पुरुषलाई पक्राउ गरेका छौँ। यो घटना जुलाई २३, २०२५ मा म्यानचेस्टरस्थित एक स्थानमा भएको आरोप छ। ती व्यक्तिलाई धरौटीमा छाडिएको छ। पीडितलाई प्रहरी अधिकारीहरूले सहयोग गरिरहेका छन्।’

अलीलाई बेकेनहमबाट पक्राउ गरिएको थियो, जहाँ शाहीन टोलीले आफ्नो भ्रमणको अन्तिम खेल खेल्दै थियो। अलीले भ्रमणका पाँचवटै खेल खेलेका थिए। घटना जुलाई २३ मा म्यानचेस्टरमा भएको बताइएको छ, जबकि अलीले जुलाई २२ र २५ मा खेल खेलेका थिए।

बेलायतको कानुनअनुसार बलात्कारको मुद्दामा अधिकतम आजीवन काराबाससम्मको सजाय हुन सक्छ।

बिहीबार, पीसीबीले एक विज्ञप्ति जारी गर्दै अलीमाथि बेलायतमा आपराधिक अनुसन्धान भइरहेको पुष्टि गरेको छ र अनुसन्धानको नतिजा नआएसम्मका लागि उनलाई निलम्बन गरेको जनाएको छ। बोर्डले ‘बेलायतको कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्ने’ र खेलाडीलाई कानुनी सहायता प्रदान गरिरहेको बताएको छ।

शाहीन स्क्वाडको अर्को भ्रमण अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजका लागि तय भएको थियो, जसमा अली पनि समावेश थिए। अब उनको ठाउँमा अलराउन्डर मोहम्मद फइकलाई टोलीमा सामेल गरिएको छ।

२४ वर्षीय अलीले पाकिस्तानका लागि २ एकदिवसीय र ३५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनलाई एक विस्फोटक पावर हिटरका रूपमा चिनिन्छ।

सन् २०२० मा पाकिस्तान सुपर लिग (पीएसएल) मा पेशावर जाल्मीबाट १५७ भन्दा बढीको स्ट्राइक रेटमा २३९ रन बनाएपछि उनको चर्चा चुलिएको थियो। सोही वर्ष उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

त्यसयता उनको प्रदर्शनमा निरन्तरताको अभाव देखिएको थियो, जसका कारण उनी टोलीभित्र र बाहिर भइरहेका थिए। यद्यपि, उनको प्रतिभा र विस्फोटक ब्याटिङ क्षमताका कारण उनी सधैँ अन्तर्राष्ट्रिय टोलीको नजरमा थिए।

हालको शाहीन भ्रमणलाई उनको करियर पुनः स्थापित गर्ने एक महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको थियो।

पीसीबीले कानुनी प्रक्रिया पूरा नभएसम्म यस विषयमा थप सार्वजनिक टिप्पणी नगर्ने स्पष्ट पारेको छ।

साउन २४, २०८२ शनिबार १३:२९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।