जम्मू-कश्मीरमा नौ दिनदेखि भिडन्त जारी, दुई भारतीय सैनिक मारिए

एजेन्सी : जम्मू-कश्मीरको अखाल क्षेत्रमा विगत नौ दिनदेखि जारी भिडन्तमा दुई भारतीय सैनिक मारिएका छन्।कयौं सुरक्षाकर्मी घाइते भएका छन्।
भारतीय सेनाको चिनार कोरले सामाजिक सञ्जाल दुई भारतीय सैनिक मारिएको पुष्टि गरेको छ।
उसनले एक्समा लेखेको छ, ‘राष्ट्रको लागि कर्तव्य निभाउने क्रममा वीर लान्स नायक प्रीतपाल सिंह र सिपाही हरमिन्दर सिंहले गर्नुभएको सर्वोच्च बलिदानप्रति चिनार कोर श्रद्धाञ्जली अर्पण गर्दछ। उहाँहरूको साहस र समर्पणले हामीलाई सदैव प्रेरित गरिरहनेछ।’
‘आतंकवाद’विरुद्ध भन्दै अगस्ट १ देखि सुरू भएको यो सैन्य अभियानमा भारतीय सेना, जम्मू-कश्मीर पुलिस र सीआरपीएफ सामेल छन्। पछिल्ला महिनाहरूमा जम्मू-कश्मीरमा ‘आतंकवाद’विरुद्ध चलाइएको यो सबैभन्दा लामो सैन्य अभियान हो।
भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार, अखालमा केही ‘आतंकवादीहरू’ लुकेर बसेको सूचना पाएपछि उक्त इलाकालाई घेराबन्दी गरिएको थियो।
श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको अखाल इलाका बाक्लो जङ्गलले घेरिएको छ। त्यहाँ जारी भिडन्तमा दुवै पक्षबाट लगातार गोलीबारी र विस्फोटका आवाजहरू सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
साउन २४, २०८२ शनिबार १२:५७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।