भारतका ‘मोस्ट वान्टेड’ हतियार तस्कर सलीम नेपालबाट पक्राउ, दिल्ली पुलिसले गरेको थियो ‘स्पेशल अपरेशन’

एजेन्सी : भारतका एक ‘मोस्ट वान्टेड’ हतियार तस्कर शेख सलीम उर्फ सलीम पिस्टल नेपालमा पक्राउ परेका छन्। दिल्ली प्रहरीले स्पेशल सेल र अन्य सुरक्षा एजेन्सीहरूको एक संयुक्त टोलीले विशेष अपरेसनमार्फत उनलाई पक्राउ गरेको भारतीय समाचार च्यानल आजतकले जनाएको छ।
सलीमलाई भारतमा ग्याङ्स्टरहरूलाई पहिलो पटक ‘जिगाना’जस्ता अत्याधुनिक पेस्तोल सप्लाई गर्ने मुख्य व्यक्ति मानिन्छ। सलीमले पछिल्ला केही वर्षदेखि पाकिस्तानबाट उच्च गुणस्तरका हतियार ल्याएर भारतका ग्याङ्स्टर लरेन्स बिश्नोई, हाशिम बाबा लगायतलाई सप्लाई गर्दै आएको दिल्ली प्रहरीको दाबी छ।
प्रहरीका अनुसार उनको सम्बन्ध पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई र अन्डरवर्ल्ड डन दाउद इब्राहिमको डी-कम्पनीसँग पनि रहेको छ। एजेन्सीहरूले उनी पाकिस्तानसँग सिधा सम्पर्कमा रहेको प्रमाण फेला पारेका छन्।
सलीमको नाम चर्चित गायक सिद्धू मूसेवाला हत्याकाण्ड र बाबा सिद्दिकी हत्या प्रकरण जस्ता ठूला अपराधमा जोडिएको छ। उनलाई मूसेवाला हत्याकाण्डका एक आरोपीको 'गुरु' पनि मानिन्छ।
दिल्लीको सीलमपुर निवासी शेख सलीमको जन्म सन् १९७२ मा भएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उनले आठ कक्षापछि पढाइ छोडेर कार चलाउन थालेका थिए।
गलत सङ्गतमा परेपछि उनले सवारीसाधन चोरीबाट अपराधको दुनियाँमा प्रवेश गरे। सन् २००० मा उनी पहिलो पटक सवारी चोरीको आरोपमा पक्राउ परेका थिए। त्यसपछि उनी हतियारसहितको डकैती र करोडौँको लुटपाटका घटनामा पनि पक्राउ परे।
सन् २०१८ मा दिल्लीमा पक्राउ परेपछि सलीम विदेश भागेका थिए र त्यहीँबाट आफ्नो हतियार सप्लाईको नेटवर्क चलाउँदै आएका थिए। उनी नेपालमा लुकेर बसेको गोप्य सूचना पाएपछि एजेन्सीहरूले उनलाई पक्राउ गरेका हुन्। नेपालको कुन ठाउँबाट उनलाई पक्राउ गरिएको भन्नेबारे समाचारमा खुलाइएको छैन।
उनको नेटवर्क भारतका कैयौँ राज्यमा फैलिएको छ। उनले पाकिस्तानबाट हतियार मगाएर नेपाल र अन्य सीमावर्ती क्षेत्रहरूमार्फत भारतमा सप्लाई गर्ने गरेको खुलेको छ। उनको सप्लाई लिस्टमा पेस्तोल, कार्बाइन र अन्य अत्याधुनिक हतियारहरू समावेश थिए।
साउन २४, २०८२ शनिबार १२:३६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।