पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन, रित्तो भवन रुँगेर तलब बुझ्छन् शिक्षकहरू

पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन, रित्तो भवन रुँगेर तलब बुझ्छन् शिक्षकहरू

पर्वत : बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकले आफ्ना छोराछोरीलाई सुविधासम्पन्न क्षेत्रमा पढाउन थालेपछि पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका छन्। विद्यार्थी शून्य भए पनि विद्यालय समायोजन नहुँदा शिक्षकहरूले रित्तो विद्यालय रुँगेरै तलबभत्ता बुझिरहेका छन्।

जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार जिल्लाका सात स्थानीय तहमा रहेका कुल २७२ सामुदायिक विद्यालयमध्ये ३१ वटामा विद्यार्थी सङ्ख्या शून्यमा झरेको हो। यीमध्ये फलेवास नगरपालिका-५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३० वटा आधारभूत तथा प्राथमिक विद्यालय छन्।

एकाइका प्रमुख मतिलाल चपाईका अनुसार सबैभन्दा बढी मोदी गाउँपालिकामा ९, कुश्मा नगरपालिकामा ८, फलेवास नगरपालिकामा ६, जलजला गाउँपालिकामा ४, तथा विहादी र पैयूँ गाउँपालिकामा २/२ वटा विद्यालय विद्यार्थीविहीन भएका हुन्।

विद्यार्थीविहीन भइसक्दा पनि स्थानीय तहहरूले ती विद्यालय समायोजन गर्ने वा त्यहाँ कार्यरत शिक्षकलाई आवश्यक दरबन्दी भएको अन्य विद्यालयमा पठाउन चासो देखाएका छैनन्।

चपाईले भने, ‘विद्यार्थी नै नभएका विद्यालयमा शिक्षक राख्दा राज्यको स्रोत खेर गइरहेको छ, तर स्थानीय तहहरू समायोजन प्रक्रिया अघि बढाउन उदासीन छन्।’

यता, स्थानीय जनप्रतिनिधिहरू भने विभिन्न कारण देखाएर पन्छिने गरेका छन्। फलेवास नगरपालिका-२ का वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले भविष्यमा विद्यार्थी आउन सक्ने आशामा विद्यालय बन्द नगरिएको बताए।

तर, स्थानीय बासिन्दाहरू राजनीतिक संरक्षण तथा करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जोगाउनकै लागि विद्यालय समायोजनमा ढिलाइ गरिएको आरोप लगाउँछन्।

फलेवासका स्थानीय धर्म पौडेलले भने, ‘जनप्रतिनिधिले शिक्षकलाई रित्तो विद्यालयमा राखेर राजनीतिक संरक्षण गरिरहेका छन्। यो सरासर बजेटको दुरुपयोग हो।’

विद्यार्थीविहीन विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई अन्य आवश्यक विद्यालयमा सरुवा वा समायोजन गर्नुको साटो रित्तो भवनमा राख्दा राज्यको बजेटको दुरुपयोग हुनुका साथै जिल्लाको समग्र शैक्षिक गुणस्तरमा समेत गम्भीर प्रश्न उठेको छ।

साउन २४, २०८२ शनिबार १०:५३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।