‘सपनाको व्यापार गर्ने बजार बन्यो रियालिटी शो : जहाँ प्रतिभा ‘टिस्यु पेपर’ बन्छन् अनि पैसाले उपाधि जितिन्छ’

‘सपनाको व्यापार गर्ने बजार बन्यो रियालिटी शो : जहाँ प्रतिभा ‘टिस्यु पेपर’ बन्छन् अनि पैसाले उपाधि जितिन्छ’

जो बोल्छ, हो-हल्ला गर्छ, उसको चर्चा हुनु स्वाभाविक हो। तर जो चुपचाप कर्म गरिरहन्छ, ऊ सधैँ ओझेलमा पर्ने गर्छ। यही भनाइ मेल खान्छ गायक डेभिड शंकरको जीवनसँग।

‘दर्शन सलाम’, ‘पहिलो नम्बरमा’ जस्ता सर्वाधिक चर्चित फिल्मका गीतलगायत दर्जनौँ हिट सिर्जना स्रोतालाई दिए पनि उनै गायकलाई धेरै दर्शकले चिन्दैनन्। यद्यपि, उनी चर्चित गीतका माध्यमबाट आफ्ना सिर्जना निरन्तर पस्किरहेका छन्।

उनी २०६२ सालमा गायन रियालिटी शो ‘पाँचथर तारा’ र २०६४ सालमा ‘मेची तारा’ का विजेता बनेका थिए, तर पनि दर्शकमाझ आफू गुमनाम नै रहेको महसुस गर्छन्। यद्यपि, उनी आफूलाई पूर्ण रूपमा ओझेलमा परेको भने मान्दैनन्।

पछिल्लो समय गायन रियालिटी शो ‘जुनियर सिङगिङ स्टार’ को निर्णायक बनेका उनले प्रतियोगी हुँदाको क्षण र निर्णायक बन्दाको अनुभवलाई नजिकबाट नियालेका छन्। उनै डेभिड शंकरसँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

आजभोलि केमा व्यस्त हुनुहुन्छ?
म संगीतसँग सम्बन्धित मान्छे हुँ, त्यसैले गीतसंगीतसँगै नजिक छु र यसैमा व्यस्त छु। हालसालै मैले आफैँले अभिनय गरेको गीत ‘दूरदेखि आएँ प्रिय, तिमी बस्ने सहरमा’ को भिडियो सार्वजनिक भएको छ।

त्यसैगरी, नेपाली महिलाहरूको महान् चाड तीजलाई लक्षित गरेर धेरै कलाकारको सहभागितामा ‘ए चेलीबेटी, सेवा गर्ने मौका देऊ एकचोटि’ बोलको गीत बजारमा ल्याएको छु।

पछिल्लो समय गायकहरू भिडियोमा देखिन किन यति धेरै रुचि राख्छन्? पहिले त यस्तो थिएन।
यो समयको माग हो। अहिले सुन्नसँगै हेर्ने पनि समय आएको छ। मैले गाएका धेरै गीतहरू दर्शक-श्रोताले सुन्नुभएको छ, माया गर्नुभएको छ, तर यो गीत गाउने मान्छे को हो भनेर उहाँहरूमा जिज्ञासा हुँदो रहेछ। दर्शकको यही प्रतिक्रिया बुझेर म गीतको भिडियोमा देखिन थालेको हुँ।

तीज त महिलाहरूको पर्व हो, पुरुषले पनि गाउनु आवश्यक छ र?
तपाईंले एकदमै राम्रो प्रश्न गर्नुभयो। सामान्यतया तीज चेलीबेटीहरूले मनाउने पर्व हो। तर मेरो गीतको भाव फरक छ। हाम्रो समाजमा घरको काम छोरी मान्छेले मात्रै गर्नुपर्छ भन्ने मानसिकता छ।

वर्षैभरि उनीहरूले मात्र काम गर्ने, केटा मान्छेले घरभित्रको काम गर्नुहुँदैन भन्ने सोचलाई चिर्न खोजेको हुँ। छोरीचेलीले मात्र होइन, उनीहरूलाई पनि स्वतन्त्रता चाहिन्छ। ‘वर्षभरि काम गरेका दिदीबहिनीहरू, आज तिमीहरू बस, हामी काम गर्छौँ’ भन्ने सन्देश दिन खोजेको हुँ।

‘पहिलो नम्बरमा’, ‘दर्शन सलाम’ जस्ता चर्चित गीत गाउनुभयो, तर गीत हिट भएजस्तो तपाईंलाई दर्शकले चिन्न सकेनन् नि, किन होला?
मैले अघि भनेझैँ, अहिले गीत सुन्नसँगै हेर्ने पनि समय आएको छ। तर मेरो सोच गीत सुनेपछि दर्शकले गायकलाई पनि खोज्नुहुन्छ होला भन्ने थियो। समय परिवर्तन भएछ।

गीत सुन्नुभयो, तर मलाई देख्नुभएन, किनकि म कहिल्यै पर्दामा थिइनँ। पर्दामा नदेखेपछि गीत मन पराए पनि गायक चिन्न गाह्रो भयो। अबका दिनमा म आफैँ भिडियोमा प्रस्तुत भइरहेको छु, सायद अब चिन्नुहुन्छ होला।

तपाईंको अनुभवमा चर्चामा आउन के गर्नुपर्ने रहेछ?
चर्चामा कसरी आउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। राम्रो कामले चर्चामा आउने कि नराम्रो कामले? मेरो बुझाइमा, हाम्रो क्षेत्रमा चर्चाका लागि राम्रो काम नै गर्नुपर्छ। मान्छेको मन-मस्तिष्कमा बस्ने सिर्जना दिनुपर्छ। हो, अहिले चर्चामा आउन विभिन्न चर्तिकला गर्नुपर्ने समय पनि छ, तर हामी सिर्जनाकर्मीले राम्रो सिर्जना नै लिएर आउनुपर्छ।

तपाईंका आधा दर्जनजति गीत करोड क्लबमा छन्, तैपनि तपाईंलाई मेला-महोत्सवमा खासै बोलाइएको पाइँदैन नि?
मेला-महोत्सवमा नगएको होइन, गएको छु। तर पछिल्लो समय ‘टिमवर्क’ को चलन छ। एउटा समूहमा रहेका मान्छेहरूले आफूलाई पायक पर्ने र सजिलो हुने कलाकारलाई नै लैजाने गर्दा रहेछन्। सायद त्यसैले अवसर केही कम भएको होला, तर पूरै छायाँमा परेको चाहिँ होइन।

तपाईंको गायन यात्राको सुरूवात कसरी भयो?
मेरो घरको वातावरण नै संगीतमय थियो। हजुरबुबा, हजुरआमा, आमा, दिदीहरू सबैजना नाच्ने-गाउने गर्नुहुन्थ्यो। त्यसैले मलाई गायनमा आउन प्रेरणा मिल्यो। स्कुलमा पनि म गायनमा प्रथम हुन्थेँ।

यही क्रममा वि.सं. २०६२ मा ‘पाँचथर तारा’ र २०६४ मा ‘मेची तारा’ प्रतियोगितामा विजेता भएँ। दुईवटा रियालिटी शो जितेपछि नेपाली संगीतमा केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई आज यहाँसम्म ल्याइपुऱ्याएको हो।

तपाईंले दुईवटा रियालिटी शो जित्नुभयो। त्यो समय र अहिले विजेता बन्ने शैलीमा कस्तो फरक पाउनुहुन्छ?
समयले धेरै फरक पारिसक्यो। दुई दशकअघि टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालको पहुँच यति सहज थिएन। त्यतिबेला प्रतियोगिताहरू ‘अर्ग्यानिक’ हुन्थे; मान्छेको वास्तविक प्रतिभामा ध्यान केन्द्रित हुन्थ्यो।

त्यतिबेलाका स्रोताहरू साँच्चिकै संगीतलाई माया गर्थे र कलाकारलाई भगवान् जस्तै सम्मान गर्थे। अहिले प्रविधिले फड्को मारेको छ। पहिले महिनामा २-४ वटा गीत रेकर्ड हुन्थे भने अहिले दिनमै सयौँ गीत रिलिज हुन्छन्। यही कारणले त्यो बेला र अहिलेमा आकाश-जमिनको फरक छ।

तपाईं आफैँ प्रतियोगी हुँदै ‘जुनियर सिङगिङ स्टार’ को निर्णायक बन्नुभयो। प्रतियोगी र निर्णायकको भूमिकामा कस्तो फरक हुँदो रहेछ?
निर्णायकको कुर्सीमा बस्दा ठूलो जिम्मेवारी बोकेको महसुस हुँदो रहेछ। प्रतियोगी हुँदा आफ्नो प्रस्तुति कसरी राम्रो बनाउने भन्ने मात्रै चिन्ता हुन्थ्यो, तर निर्णायक बस्दा आफूले जानेका कुरा कसरी सिकाउने, आफ्नो टिमलाई कसरी अब्बल बनाउने र समग्र शोलाई कसरी स्तरीय बनाउने भन्नेजस्ता धेरै पक्षको जिम्मेवारी हुँदो रहेछ। निर्णायकको कुर्सीमा बस्न साँच्चै गाह्रो रहेछ।

केही समयअघि तपाईंले रियालिटी शोले बालबालिकालाई ठगिरहेका छन् भन्नुभएको थियो। कसरी ठगिए?
मैले ‘ठगियो’ भन्दा पनि त्यहाँ भएका केही त्रुटिहरू औँल्याउन खोजेको हुँ। म आफैँ प्रतियोगी भएर आएको र निर्णायक पनि बनेको हिसाबले संगीतकर्मीको धर्म निर्वाह गर्दै गलत कुरालाई गलत भन्नुपर्छ भन्ने लाग्यो। मान्छेबाट गल्ती हुन्छ, तर त्यो गल्तीलाई ढाकछोप गर्नु झन् ठूलो गल्ती हो। मैले देखेका त्यस्तै कमजोरीहरू सच्याउनुपर्छ भनेर आवाज उठाएको हुँ।

कस्ता कमजोरी औँल्याउन खोज्नुभएको थियो?
जस्तै, प्रतियोगीहरू १६ वर्षमुनिका बालबालिका थिए। उनीहरूको सोच्ने क्षमता सीमित हुन्छ। हामीले उनीहरूलाई के सही, के गलत भनेर सिकाउनुपर्छ। तर सिकाउने कुरामा ध्यान नदिई जसरी पनि भोट मात्रै संकलन गराउँदा बालबालिकाको मनोविज्ञानमा असर पर्छ कि भन्ने मेरो चिन्ता थियो।

भोट आउन्जेल प्रतियोगी महत्त्वपूर्ण हुने, भोट कम भएर बाहिरिएपछि उसको वास्ता नै नहुने। प्रयोग गरेर फाल्ने टिस्यु पेपर जस्तो व्यवहार नगरियोस् भनेर मैले बोलेको हुँ। मेरो सुझाव उहाँहरूले कसरी लिनुभयो थाहा छैन, तर मेरो आग्रह के हो भने नेपालका कुनै पनि रियालिटी शोमा, विशेषगरी बालबालिकाको हकमा, यस्ता गतिविधि नदोहोरिऊन्।

त्यसोभए रियालिटी शोले आम मानिस र जजलाई पनि भ्रममा पार्छन् भन्न सकिन्छ?
आम मानिस र जजलाई भन्दा पनि, त्यहाँभित्रका कमीकमजोरीलाई बाहिर ल्याउनुपर्छ भन्ने हो। जो कोही सजिलै भ्रममा त पर्दैन, तर गलतलाई गलत भन्न सक्नुपर्छ।

म त यस्ता शोहरूका लागि सरकारले नै मापदण्ड बनाइदिनुपर्छ भन्छु। कुन-कुन मापदण्ड पूरा गरेर मात्र शो सञ्चालन गर्न पाइने हो, त्यो तोकिनुपर्छ। अहिले त यहाँ मनलाग्दी छ, जसले जे गरे पनि हुने अवस्था छ।

तपाईंको आशय, राम्रो गाउने प्रतियोगी पनि भोटिङकै कारण बाहिरिन्छ भन्ने हो?
अवश्य पनि। जब शतप्रतिशत भोटिङमा निर्भर हुन्छ, तब जसको बढी भोट आयो, उही विजेता बन्छ।

एउटा राम्रो गाउने प्रतियोगी छ, तर ऊसँग पैसा छैन भने ऊ टप टेनबाट बाहिरिनु स्वाभाविक छ। यहाँ कलाभन्दा पैसाको कुरा हाबी भयो, अनि उसको कला त त्यहीँ मर्यो नि! पैसा हुने अगाडि आउने, प्रतिभा भएको पछि पर्ने अवस्था छ।

भनेपछि, जोसँग पैसा छ, उही विजेता बन्ने भयो?
अहिले देखिएको त त्यही हो। एकाधबाहेक अधिकांश रियालिटी शोमा यही भइरहेको छ।

तपाईं निर्णायक बसेको शोमा पनि यस्तै भयो?
मैले यही कुराको त विरोध गरेको हुँ। मैले उहाँहरूलाई भोटिङलाई मात्रै आधार नबनाऔँ भनेर सल्लाह दिएको थिएँ। मेरो सुझाव थियो, एउटा मोबाइलबाट एउटा मात्र भोट गर्ने व्यवस्था होस्, ताकि एकै व्यक्तिले लाखौँ भोट हाल्न नसकोस्।

एउटा मोबाइलबाट एउटा भोट हुँदा शोको पहुँच पनि धेरै ठाउँमा पुग्छ, साँचो प्रतिभा छानिन सक्छ र प्रतियोगीले वास्तविक माया र आशिर्वाद पनि पाउँछ।

पछिल्लो समय रियालिटी शोका विजेताभन्दा टप टेनमा परेकाहरू बढी चर्चामा देखिन्छन् नि, किन?
हो, यसले के देखाउँछ भने विजेता बन्न पैसा चाहिन सक्छ, तर कला भएको मान्छे जुन स्थानमा भए पनि अगाडि आउँछ। टप टेन वा टप फिफ्टिनमा परेकाहरू आफ्नो क्षमताले नै त्यहाँसम्म पुगेका हुन्छन्। तर, त्यसभन्दा माथि जान भोटिङजस्ता अन्य कुराहरूले प्रभाव पार्छन्।

त्यसैले क्षमता हुँदाहुँदै बाहिरिएका प्रतियोगीहरू पछि गएर सफल भएको देखिन्छ। यसको मतलब, रियालिटी शोका विजेताहरू एकाधबाहेक पछि हराउँदै जाने र क्षमतावान् अन्य प्रतियोगीहरूले आफ्नो स्थान बनाउने गरेको देखिन्छ।

साउन २४, २०८२ शनिबार ०९:४८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।