गोसाइँकुण्डमा विहान २ बजेदेखि नै स्नान र पूजा सुरू

रसुवा : जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डमा आज भक्तजनले स्नान गरिरहेका छन्।
पवित्र कुण्डमा स्नान तथा पूजाआजा गरी धार्मिक लाभ प्राप्त गर्न नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, लगायत विभिन्न जिल्लाका भक्तजन एवं स्थानीयस्तरका बासिन्दाले बिहान दुई बजेदेखि नै स्नान तथा पूजा आराधना सुरू गरेका छन्।
समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक एवं धार्मिक पवित्र कुण्डमा डुबुल्की मारेपछि उकालो हिँड्दा लागेको थकान समाप्त भई आनन्दको अनुभूति हुने विश्वास छ। प्रतिकूल मौसमका कारण काठमाडौंबाट हेलिकप्टरमा जाने यात्रु भने प्रभावित भएका छन्।
तीर्थ जाने यात्रुमध्ये सप्तरी, ललितपुर र सिन्धुपाल्चोक समेतका पाँच यात्रुलाई लेक लागेको छ। उनीहरूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लान सिफारिस गरिएको हिमालय उद्धार सङ्घका चिकित्सक डाक्टर पदमराज जोसीले गोसाइँकुण्डबाट जानकारी दिए।
उनका अनुसार काठमाडौं जोरपाटीका एक जना यात्रु भने हाइअल्टिच्युटका कारण फोक्सोमा पानी जमेको पाइएकाले हिमालय उद्धार सङ्घको गोसाइँकुण्ड स्वास्थ्य शिविरले धुञ्चेमा पठाएको छ। जम्मा छ जना गम्भीर बिरामी यात्रुलाई नेपाली सेना तथा सशस्त्र प्रहरीले राति नै बोकेर तल झारेको छ।
सामान्य रोग लागेका १५० बिरामीलाई उक्त सङ्घले उपचार गरिसकेको छ।
यस्तै यात्रुहरूलाई देउरालीमा प्राथमिक उपचार गर्न स्वास्थ्य शिविर खडा गरी कार्य गरिरहेको माओवादी केन्द्रको भ्रातृसंस्था वाईसीएलले पनि बिरामी बोकेर उद्धारको कार्यमा सहयोग पुर्याएको छ।
नेपाली सेना श्रीश्रीनाथ गणले चोलाङपाटीमा राखेको स्वस्थ्य शिविरबाट एक हजार ८०० यात्रुलाई प्राथमिक उपचार गरिसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। नेपाली सेनाले रातको समयमा यात्रुलाई गरेको उपचार विवरण प्रगति प्राप्त हुन बाँकी छ।
गम्भीर बिरामी परेका यात्रुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार सुरक्षाका लागि यथेष्ट रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। नुहाउने क्रममा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै तालिमप्राप्त सुरक्षाकर्मीसमेत तैनाथ गरिएको छ।
साउन २४, २०८२ शनिबार ०८:५६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।