बिहेमा निम्तो, तर भोजमा ‘नो इन्ट्री’, खाना खान नपाएपछि महिलाले फिर्ता मागिन् उपहार दिएको पैसा

बिहेमा निम्तो, तर भोजमा ‘नो इन्ट्री’, खाना खान नपाएपछि महिलाले फिर्ता मागिन् उपहार दिएको पैसा

एजेन्सी : एकछिन सोच्नुस् त, तपाईंलाई कुनै साथी वा सहकर्मीको विवाहमा बोलाइयो। तपाईं चिटिक्क परेर समारोहमा पुग्नुभयो, रमाइलो गर्नुभयो, बेहुला-बेहुलीसँग फोटो खिचाउनुभयो।

तर जब खाना खाने बेला भयो, कसैले आएर तपाईंलाई भन्यो, ‘माफ गर्नुहोला, खाना खाने लिस्टमा तपाईंको नाम छैन।’

तपाईंलाई कस्तो लाग्ला? पक्कै पनि अपमानित महसुस गर्नुहुन्छ होला। स्कटल्याण्डमा एक महिलासँग ठ्याक्कै यस्तै भयो। उनले आफ्नो यो नमीठो अनुभव सामाजिक सञ्जाल ‘रेडिट’मा सेयर गरेपछि अहिले यो घटना भाइरल भएको छ।

महिलाले आफ्नो पोस्टमा लेखेकी छन्, ‘म एक सहकर्मीको विवाहमा पुगेँ, चर्चको समारोहमा सहभागी भएँ, रमाइलो गरेँ र फोटो पनि खिचाएँ। सबै कुरा राम्रै चलिरहेको थियो। तर जब म खानाको टेबलमा पुगेँ, मलाई भनियो कि तपाईंलाई समारोह र ड्रिङ्क्सका लागि मात्र बोलाइएको हो, डिनरका लागि होइन। यो सुनेर म स्तब्ध भएँ।’

यसरी अपमानित भएपछि ती महिलाले रोचक बदला लिएको बताउँछिन्।

उनले अगाडि लेखेकी छन्, ‘मैले विवाहको उपहारसँगै खाममा ५० पाउन्ड स्टर्लिङ (करिब नौ हजार ४०० नेपाली रुपैयाँ) पनि दिएकी थिएँ। यो घटनापछि मैले उपहारको पोको त छाडिदिएँ, तर खाममा राखेको नगद पैसा भने फिर्ता मागेँ।’

उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। धेरै प्रयोगकर्ताले महिलाको कदमलाई सही ठहर्याएका छन्। उनीहरुको तर्क छ- ‘जसले तपाईंको पेटको सम्मान गर्दैन, उसको खामको सम्मान किन गर्ने?’

अधिकांशले बेहुला-बेहुलीको व्यवहारको आलोचना गर्दै भनेका छन्- ‘यदि डिनरमा बोलाउनु थिएन भने त्यो कुरा निमन्त्रणा कार्डमै स्पष्ट पार्नुपर्थ्यो। विवाह जस्तो पवित्र समारोहमा बोलाएर यसरी पाहुनाको अपमान गर्नु सरासर गलत हो।’

साउन २४, २०८२ शनिबार ०८:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।