ट्रम्प र पुटिनबीच अलास्कामा भेटवार्ता हुने, युक्रेनमा ‘भूमि साटफेर’का विषयमा पनि छलफल हुने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आउँदो शुक्रबार अमेरिकी राज्य अलास्कामा भेटवार्ता हुने घोषणा गरेका छन्।
डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकी राष्ट्रपतिको रूपमा मेरो र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित बैठक आउँदो शुक्रबार, १५ अगस्ट, २०२५ मा महान् राज्य अलास्कामा हुनेछ।’
अलास्कामा भ्लादिमिर पुटिनसँग भेटवार्ताको घोषणापछि रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले भने, ‘रुस र अमेरिका एकअर्कासँग सिमाना जोडिएका निकट छिमेकी हुन्। दुई देशका नेताहरूबीच यति महत्त्वपूर्ण र प्रतीक्षित शिखर सम्मेलन अलास्कामा आयोजना हुनु राम्रो हो।’
युरी उशाकोभका अनुसार, अलास्कापछिको अर्को शिखर सम्मेलन मस्कोमा हुन सक्छ। उनले यसका लागि निमन्त्रणा पठाइसकिएको पनि जानकारी दिए। यसअघि सन् २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसको भ्रमण गरेका थिए।
यद्यपि, अलास्कामा ट्रम्प-पुटिन शिखर सम्मेलनको पुष्टि भएपछि युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग भने, ‘म चाँडै नै राष्ट्रपति पुटिनलाई भेट्दैछु। यो भेटवार्ता अझ पहिले नै हुन सक्थ्यो, तर यसका लागि केही सुरक्षासम्बन्धी व्यवस्थाहरू गर्नुपर्ने थियो।’
अमेरिकी राष्ट्रपतिले यस्तो सम्झौताको संकेत पनि दिए, जसमा युक्रेन र रुस दुवैको हितमा ‘केही भूभागको साटफेर’ समावेश हुनेछ।
उनले भने, ‘तपाईं त्यो क्षेत्र हेरिरहनुभएको छ जहाँ साढे तीन वर्षदेखि लडाइँ चलिरहेको छ। धेरै रुसीहरू मारिएका छन्, धेरै युक्रेनीहरू मारिएका छन्, त्यसैले हामी यसमा नजर राखिरहेका छौं।’
‘हामी वास्तवमा केही फिर्ता पाउने र केही साटफेर गर्ने प्रयास गरिरहेका छौँ। यो जटिल छ, साँच्चै सजिलो छैन। हामी केही फिर्ता पाउनेछौँ, केही साटफेर गर्नेछौँ’, उनले थपे।
अमेरिकाले रुसी राष्ट्रपतिलाई युक्रेनमा युद्धविराम सम्झौतामा सहमत हुनका लागि तोकेको समयसीमा समाप्त भएकै दिन ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। युक्रेन युद्धलाई लिएर हालैका दिनहरूमा बढेको कूटनीतिक तीव्रताबीच यो घोषणा आएको हो।
ट्रम्पका विशेष दूत स्टिभ विटकफले यसै हप्ताको सुरुमा राष्ट्रपति पुटिनसँग भेट गरेका थिए र अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेका छन्।
ह्वाइट हाउस यो द्वन्द्व अन्त्य गर्न सम्झौताका लागि जोड दिइरहेको छ, तर दुवै पक्ष कुनै सर्तमा सहमत हुन सक्छन् वा सक्दैनन् भन्ने कुरा हेर्न बाँकी छ।
साउन २४, २०८२ शनिबार ०८:०४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।