एनपीएल मिनी अक्सन आज, १५० खेलाडीबाट ३७ जना छानिने

एनपीएल मिनी अक्सन आज, १५० खेलाडीबाट ३७ जना छानिने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि आज मिनी अक्सन हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो ३ बजेदेखि सुरू हुनेछ र यसको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट गरिनेछ।

आज हुने अक्सनबाट विभिन्न आठ टोलीले बाँकी रहेका ३७ खेलाडी अनुबन्ध गर्नेछन्। यसअघि नै आठ टोलीले गत सिजनका आफ्ना ५१ खेलाडीलाई रिटेन गरिसकेका छन्।

एनपीएलका लागि कुल ४५८ खेलाडीले नाम दर्ता गराएका थिए। जसबाट टोलीको रोजाइ र क्यानको प्राविधिक टोलीको मापदण्ड पूरा गर्ने १५० खेलाडीको अन्तिम सूची तयार पारिएको हो।

अक्सनपछि सूचीमा रहेका ११३ खेलाडी भने यसपटक एनपीएल खेल्नबाट बञ्चित हुनेछन्, जसले गर्दा आजको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ।

सबैको नजर श्रेणी ‘ए’ का खेलाडीमा
अक्सनका लागि खेलाडीहरूलाई उनीहरूको अनुभव र प्रदर्शनका आधारमा तीन श्रेणीमा विभाजन गरिएको छ। सबैभन्दा आकर्षक मानिएको श्रेणी ‘ए’ मा ८ शीर्ष खेलाडी रहेका छन्, तर तीमध्ये ४ जना मात्रै टोलीमा छनोट हुनेछन्।

श्रेणी ‘ए’ मा विकेटकिपर-ब्याट्सम्यान अर्जुन साउद र दिलिप नाथ, ब्याटर देव खनाल र शरद भेषावकर, अलराउन्डर पवन सर्राफ, सुनाम गौतम र मोहम्मद आदिल अन्सारी तथा बलर सूर्य तामाङ रहेका छन्।

कति छ खेलाडीको मूल्य?
खेलाडीको मूल्य पनि श्रेणीअनुसार निर्धारण गरिएको छ। श्रेणी ‘ए’ का खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँको बोली लाग्नेछ।

त्यस्तै, श्रेणी ‘बी’ का लागि १० लाख र श्रेणी ‘सी’ का खेलाडीका लागि ५ लाख रुपैयाँको अधिकतम सीमा तोकिएको छ। आजको अक्सनले कुन खेलाडी कुन टोलीमा कति मूल्यमा अनुबन्धित हुन्छन् भन्ने टुंगो लगाउनेछ।

साउन २४, २०८२ शनिबार ०७:१८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।