आज जनै पूर्णिमा : तागाधारीले जनै फेरेर अनि अन्यले रक्षाबन्धन बाँधेर मनाउँदै

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर वैदिक विधिअनुसार यज्ञोपवीत (जनै) फेरेर र रक्षाबन्धन बाँधेर मनाइँदै छ।
आजको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, तलाउ, पोखरीमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्दछन्। विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा मिल्ने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः। तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल।।’ अर्थात् ‘जुन रक्षाबन्धनले अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी अभिमन्त्रित डोरो बाँधेर देवगणलाई सुरक्षित गरेको पौराणिक मान्यता छ।
यही परम्पराअनुसार आजको दिन पुरोहितहरूले यजमानको दाहिने नाडीमा रक्षाबन्धन बाँधिदिने गरेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।
जनै फेर्ने र ऋषिलाई तर्पण गर्ने दिन
आजकै दिन ब्राह्मण, क्षत्रिय र वैश्य वर्णका तागाधारीहरूले आफ्नो जनै (यज्ञोपवीत) फेर्ने विधान छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि नै एक छाकमात्र खाएर चोखो बस्ने चलन छ।
पूर्णिमाको दिन बिहानै स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरिन्छ र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) धारण गरिन्छ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिहरूलाई पूजा एवं तर्पण गरिने भएकाले आजको दिनलाई ‘ऋषितर्पणी’ पनि भनिन्छ।
वैदिक गुरू परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागोका रूपमा पनि लिइन्छ।
क्वाँटीको महत्व
जनै पूर्णिमाका दिन टुसा उमारेका विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको ‘क्वाँटी’ खाने परम्परा छ। वर्षायामको खेतीपातीले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार विभिन्न गेडागुडी मिश्रित क्वाँटीको रसले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ र रुघाखोकीजस्ता समस्याबाट पनि राहत दिन्छ।
तराईमा राखीको उल्लास
यसैगरी, नेपालको तराई क्षेत्रमा आजको दिन दिदीबहिनीले दाजुभाइको नाडीमा ‘राखी’ बाँधेर प्रेम र सुरक्षाको कामना गर्ने गर्दछन्।
यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ । पछिल्लो समय यो परम्परा पहाडी क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ।
यस अवसरमा काठमाडौंको पशुपतिनाथ र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, जुम्लाको दानसाधुलगायत देशभरका मठ-मन्दिर, ताल, पोखरी र कुण्डहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ।
साउन २४, २०८२ शनिबार ०६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।