उकेराको खुलासापछि भक्तपुर प्रहरीले बल्ल चिन्यो चक्रे मिलन, शुक्रवार लियो बयान

उकेराको खुलासापछि भक्तपुर प्रहरीले बल्ल चिन्यो चक्रे मिलन, शुक्रवार लियो बयान

काठमाडौं : जाहेरीमा काठमाडौं चक्रपथका चक्रे मिलन भनिने मिलन गुरुङ भनेर हत्या प्रयासमा आरोपी बनाए पनि तीन पुस्ते नखुलेको भन्दै प्रहरीले अनुसन्धान नगरी जोगाएको चक्रे मिलनसँग शुक्रवार जिल्ला प्रहरी परिसर भक्तपुरले बयान लियो।

२०८१ भदौको घटनामा चक्रेसहित दुुई जना विरुद्ध जाहेरी दर्ता भए पनि भक्तपुर प्रहरीले पहिचान नभएको दाबी गर्दै चक्रेलाई अनुसन्धानबाट उन्मुक्ति दिएकोबारे पहिलो पटक उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

काठमाडौं प्रहरीको हिरासतमा होहल्लाको आरोपमा रहेका चक्रे विरुद्ध भक्तपुर जिल्ला अदालतमा 'पहिचान खुलेको बखत अनुसन्धान गरेर अभियोग पत्र ल्याउने' दाबी उल्लेख भए पनि प्रहरीले चक्रेको खोजी गरेको थिएन।

उकेराको खुलासासँगै भक्तपुर प्रहरीले शुक्रवार चक्रेलाई काठमाडौं हिरासतबाट भक्तपुर लगेर मनिष रायमाझीको हत्या प्रयासको आरोपमा बयान लिएको छ।

भक्तपुर प्रहरीले अभियोग पत्र लैजाने मनसायले शुक्रवारै सरकारी वकिल कार्यालय भक्तपुर लगेर चक्रेको बयानसमेत प्रमाणित गराएर काठमाडौं प्रहरीकै हिरासतमा फिर्ता पठाएको एक प्रहरीले जानकारी दिए।

चक्रे विरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनले केटाहरू पठाएर रायमाझीलाई कुटाएको आरोप छ। अदालतमा अभियोग पत्र पुगे पनि पीडित भनिएका रायमाझीले भने उकेरासँग सो घटनाबारे चक्रे मिलनसँग सहमति भइसकेको दाबी गरेका थिए। 

साउन २४, २०८२ शनिबार ०३:०८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।