ट्रम्पको कर विवादका बीच मोदी-पुटिन फोन संवाद

ट्रम्पको कर विवादका बीच मोदी-पुटिन फोन संवाद

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार टेलिफोनमार्फत संवाद भएको छ। युक्रेनको पछिल्लो परिस्थितिबारे छलफल गर्दै दुई नेताले भारत-रुसबीचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘मेरो मित्र राष्ट्रपति पुटिनसँग विस्तृत र सकारात्मक कुराकानी भयो। युक्रेनसम्बन्धी पछिल्ला घटनाक्रमबारे जानकारी दिनुभएकोमा म उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्। साथै उनले वर्षको उत्तरार्धमा पुटिनलाई भारत भ्रमणका लागि स्वागत गर्न आतुर रहेको पनि जानकारी दिएका छन। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि उच्च भन्सार शुल्क लगाउने घोषणा गरेको केही दिनपछि भएको यो वार्तालाई विशेष रुपमा हेरिएको छ। ट्रम्पले भारतले रुसी तेल आयात गरिरहेको भन्दै बुधबार भारतीय सामानहरूमा हालको २५ प्रतिशत भन्सार दर बढाएर ५० प्रतिशत पुर्याउने निर्णय सार्वजनिक गरेका थिए।

बिहीबारदेखि प्रारम्भिक २५ प्रतिशत भन्सार लागू भइसकेको छ भने थप २५ प्रतिशत तीन हप्ताभित्र लागू हुने तय गरिएको छ। रुसबाट तेल खरिद गरेर भारतले अरबौँ डलर बचत गर्न सफल भएको छ, जसले आन्तरिक बजारमा इन्धन मूल्य स्थिर राख्न सहयोग पुर्याएको छ।

भारत र रुसबीचको रणनीतिक साझेदारी लामो समयदेखि रहँदै आएको छ। विशेषगरी रक्षा क्षेत्रमा रुस भारतको प्रमुख साझेदार हो। सोभियत संघको समयदेखि नै दुई देशबीचको मित्रता बलियो मानिन्छ।

यसैक्रममा, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बिहीबार मस्कोमा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको समग्र सम्बन्धबारे छलफल भएको जनाइएको छ।

यता, क्रेमलिनले कुनै राष्ट्रको नाम नलिई व्यापारिक सम्बन्ध तोड्न लगाउने प्रयासलाई ‘अवैध’ भन्दै आलोचना गरेको छ। साथै राष्ट्रपति ट्रम्प र पुटिनबीच युक्रेनसम्बन्धी सम्भावित शिखर वार्ता केही दिनभित्र हुनसक्ने संकेत पनि दिएको छ।

साउन २३, २०८२ शुक्रबार २२:१५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।