
रविलाई सेवा सुविधामा विभेद छैन, सञ्चारमाध्यममा प्रकाशित तस्बिर कारागार भित्रको होइन : रुपन्देही कारागार

बुटवल : रुपन्देही कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार बसाइका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ती सामग्रीहरू वास्तविकता विपरीत रहेको स्पष्ट पारेको छ।
गृह मन्त्रालय अन्तर्गतको रुपन्देही कारागार कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचारमा प्रयोग गरिएको तस्बिर कारागार भित्रको नभएको र समाचारमा उल्लेख गरिएजस्तो अवस्था नरहेको दाबी गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा प्रकाशित तस्बिर यस कारागार भित्रको होइन र समाचारमा उल्लेख भएजस्तो अवस्था छैन।’
सहकारी ठगीसम्बन्धी मुद्दामा विगत चार महिनादेखि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा निलम्बित प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई सुरक्षा दृष्टिकोणले छुट्टै कोठामा राखिएको कारागार प्रशासनले जनाएको छ।
लामिछानेलाई अन्य कैदीबन्दीले पाउने कुनै पनि सुविधाबाट बन्चित नगरेको दाबी गरेको भन्दै नियम अनुसारको सेवा उपलब्ध गराइएको बताइएको छ। कारागार प्रशासनले समय-समयमा उहाँसँग भेट गरेर आवश्यक समस्या सुन्दै आएको र समाधान गर्ने प्रयास गरिरहेको समेत बताएको छ।
‘उहाँले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिहरूलाई भेटघाटको अनुमति दिइन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सञ्चार सुविधा पनि उहाँको माग अनुसार उपलब्ध गराइने गरिएको छ।’
सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनुहुन र कार्यालयसँग आधिकारीक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।
सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी तस्बिर र समाचार प्रकाशन नगर्न आग्रह गरिएको छ।
‘कारागारसँग सम्बन्धित समाचार प्रकाशन गर्दा आधिकारिक जानकारी लिनुहोला,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा गलत जानकारीले नकारात्मक असर पार्न सक्छ।’
साउन २३, २०८२ शुक्रबार २१:१८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।