नेपाल-स्पेन व्यापार सहकार्यबारे महासंघ अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्स प्रमुख रेनेबीच भेटवार्ता

नेपाल-स्पेन व्यापार सहकार्यबारे महासंघ अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्स प्रमुख रेनेबीच भेटवार्ता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

भेटमा नेपाल-स्पेनबीचको आर्थिक सहकार्य, व्यापार र लगानी प्रवर्द्धन, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका सम्भावनाहरूबारे गहन छलफल भएको थियो।

अध्यक्ष ढकालले निजी क्षेत्रमार्फत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै प्रविधि, पूँजी र अनुभव स्पेनबाट ल्याउन सकिने उल्लेख गरे। उनले नेपाली निजी क्षेत्र त्यसका लागि पूर्णतः तयार रहेको विश्वास दिलाए।

स्पेन चेम्बरसँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदाप्रति आभार व्यक्त गर्दै ढकालले उक्त दस्तावेजले साझा दृष्टिकोण निर्माण र दीर्घकालीन सहकार्यको आधारशिला बनाउने विश्वास व्यक्त गरे। उनले विस्तृत अध्ययनपछि चाँडै दुवै पक्षबीच औपचारिक हस्ताक्षर हुने प्रतिबद्धता पनि जनाए।

‘यस समझदारीपत्रमा व्यापार प्रवर्द्धन, लगानीको जानकारी आदानप्रदान, प्रतिनिधिमण्डल सहयोग, साना तथा मझौला उद्योगबीचको सहकार्य जस्ता व्यवहारिक पक्ष समेटिएका छन्, जुन निकै सकारात्मक छन्,’ अध्यक्ष ढकालले बताए। उनले संयुक्त लगानी, प्राविधिक सहयोग र ज्ञान साझेदारीका लागि यो समझदारी एक सशक्त प्लेटफर्म बन्ने विश्वास पनि व्यक्त गरे।

ढकालले स्पेनिश व्यवसायहरूलाई नेपालबारे बुझ्न सहज हुने र नेपाली व्यवसायीहरूका लागि स्पेन युरोप प्रवेशको ढोका बन्ने आधार यस समझदारीपत्रले तयार पार्ने बताए।

साना तथा मझौला उद्यमहरूलाई नेपालको आर्थिक मेरुदण्डका रूपमा चित्रण गर्दै उनले यी क्षेत्रमा स्पेनसँग सहकार्यको अपार सम्भावना रहेको बताए। त्यस्तै, नेपालमा पछिल्लो समय भएका सकारात्मक नीतिगत सुधारहरूका कारण पर्यटन, पूर्वाधार, जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता क्षेत्रमा विदेशी लगानीको आकर्षक अवसर खुलेको जानकारी पनि दिए।

स्पेन चेम्बर अफ कमर्सकी प्रमुख रेनेले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको उल्लेख गर्दै निजी क्षेत्रमार्फत द्विपक्षीय व्यापारिक सहकार्य सशक्त बनाउने इच्छा व्यक्त गरिन्। उनले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधार क्षेत्रमा साझेदारीको सम्भावना देखिएको बताइन्।

उनीले महासंघसँगको प्रस्तावित समझदारीले नेपाल-स्पेनबीच निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्याउने धारणा राखिन्।

भेटमा दुवै पक्षले आपसी आर्थिक सम्बन्ध थप सुदृढ बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट दुवै देशका व्यवसायिक समुदाय लाभान्वित हुने विश्वास व्यक्त गरे।

भेटका अवसरमा महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्यको समेत उपस्थिति थियो। गत जुन महिनामा स्पेनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीमा सहभागी हुँदा अध्यक्ष ढकालले रेनेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

साउन २३, २०८२ शुक्रबार २०:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।