
घुससहित रंगेहात पक्राउ परेका नगरप्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। उनलाई एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले कल्याणपुर नगरपालिका-६ मा सम्पन्न पक्की नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा साहले सेवाग्राहीसँग मागेको एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले उनलाई सोही रकमसहित नियन्त्रणमा लिएको थियो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो कायम गर्दै कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा आज आरोपपत्र दायर गरिएको हो।
प्रवक्ता पौडेलले नगरप्रमुख साहविरुद्ध आयोगले संकलन गरेका प्रमाणहरूका आधारमा ऐनअनुसारको कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
साउन २३, २०८२ शुक्रबार २०:०४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।