सेवाग्राहीसँग इमानदार र शिष्ट व्यवहार गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

सेवाग्राहीसँग इमानदार र शिष्ट व्यवहार गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजधानीमा शान्ति सुरक्षा थप मजबुत बनाउँदै नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ प्रहरी परिसरको निरीक्षणपछि गृहमन्त्री लेखकले शान्ति सुव्यवस्था कायम राख्न उपत्यका प्रहरीले निरन्तर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

‘प्रहरीको काम जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ,’ मन्त्री लेखकले भने, ‘मानवअधिकारको संरक्षण गर्दै महिला हिंसा, बालबालिका, ज्येष्ठ नागरिक तथा घरेलु हिंसाका घटनाप्रति अझ संवेदनशील बन्नुपर्ने आवश्यकता छ।’ 

हाल सडक दुर्घटना, लागुऔषधको दुरुपयोग, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी र आर्थिक अपराधजस्ता चुनौतीहरू बढिरहेको उल्लेख गर्दै उनले यस्ता समस्याको समाधान प्रविधिको उच्चतम प्रयोगमार्फत खोज्नुपर्ने बताए। ‘प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने विषयमा सरकार गम्भीर छ,’ उनले थपे।

गुण्डागर्दी र बिचौलिया प्रवृत्तिलाई निरुत्साहित गर्न निर्देशन दिँदै मन्त्री लेखकले प्रहरी सेवा सर्वसुलभ र झन्झटरहित बनाउन सेवाग्राहीसँग इमानदार र शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिए। ‘शिष्टता देखाएर काम गर्दा कसैको कद घट्दैन,’ उनले भने।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरीलाई उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्न आग्रह गर्दै भने, ‘जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा दिनु जरूरी छ, किनभने प्रहरीको कार्यसम्पादन सरकारसँग प्रत्यक्ष जोडिन्छ।’ 

त्यस्तै, प्रहरी महानिरीक्षक दीपक थापाले उपत्यकामा सीमित स्रोत साधन र जनशक्तिका बीच पनि प्रहरी कार्यालयले शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनसम्मको काम प्रभावकारी रूपमा गरिरहेको बताए। ‘शान्ति सुरक्षाको प्रत्याभूति गराउन उपत्यका प्रहरी निरन्तर क्रियाशील छ,’ उनले भने।

साउन २३, २०८२ शुक्रबार १९:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।