उत्तराखण्ड पहिरोमा बेपत्ता भएका पाँच नेपाली मजदुरको अवस्था अझै अज्ञात

उत्तराखण्ड पहिरोमा बेपत्ता भएका पाँच नेपाली मजदुरको अवस्था अझै अज्ञात

कञ्चनपुर : भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लास्थित धरालीमा गएको भीषण बाढीमा परी बर्दियाका पाँच नेपाली मजदुर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या खड्का, १८ महिनाका छोरा रोमन खड्का, अमृता परियार र सुवास विक रहेका छन्।

उनीहरू सबै धरालीमा सडक निर्माणमा मजदुरी गर्दै आएका थिए। स्थानीय मजदुर चित्र पौडेलका अनुसार बुधबार बिहान करिब ९ बजे आएको बाढीले उनीहरू बस्दै आएको टेन्ट बगाएको थियो। "उहाँहरू टेन्टमा बस्दै आउनुभएको थियो, बाढीले एकैछिनमै बगायो," पौडेलले भने।

पौडेल पनि त्यही स्थानमा सडक निर्माणमा काम गर्दै आएका मजदुर हुन्। उनका अनुसार घटनास्थलमा नेपालका विभिन्न जिल्लाबाट गएका करिब ४० जना मजदुर छन्।

बर्दिया मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले पाँच जना बेपत्ता र पाँच जना घाइते भएको पुष्टि गरे।
“बेपत्ता पाँच जनाको खोजी भइरहेको छ,” उनले भने, “घाइतेमध्ये तीन जना उपचारपछि काममा फर्किएका छन् भने दुई जनाको अझै उपचार भइरहेको छ।”

घटनास्थलमा रहेका नेपाली मजदुरहरूले बेपत्ताहरूको खोजीका लागि १०–१५ किलोमिटर क्षेत्रसम्म खोतले पनि उनीहरू भेटिनसकेको पौडेलले जानकारी दिए।

यसैबीच भारतस्थित नेपाली राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै हराइरहेका नेपालीहरूको अवस्था अझै अज्ञात रहेको जनाएको छ।

राजदूतावासले उत्तराखण्ड प्रहरीको जानकारी उद्धृत गर्दै घटनास्थलबाट हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र दुई जनाको शव फेला परेको उल्लेख गरेको छ। तर ती शवहरूमा नेपाली नागरिक नरहेको स्पष्ट गरिएको छ।

चार जना घाइतेमध्ये तीन जना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी पनि राजदूतावासले दिएको छ। 

बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार तथा आवश्यक सहयोगका लागि नेपाली दूतावासले उत्तराखण्ड सरकारसँग समन्वय गरिरहेको जनाएको छ।

साउन २३, २०८२ शुक्रबार १९:३८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।