‘बर्थ डे पार्टी’ बाट समातिएका चक्रे मिलनसहित १९ जनाको हिरासत बसाइ लम्बियो

‘बर्थ डे पार्टी’ बाट समातिएका चक्रे मिलनसहित १९ जनाको हिरासत बसाइ लम्बियो

काठमाडौं : जन्मदिनको पार्टी गरिरहेको अवस्थामा समातिएका गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङको हिरासत बसाइ लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनी सहित १९ जनालाई दोस्रो पटक पनि हिरासतमा राख्न म्याद थपेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई थप ५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

महाराजगञ्जस्थित होटल साम्बालाको आठौँ तल्लामा जन्मदिनको पार्टी मनाइरहेको अवस्थामा उनीसहित ४७ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो। अन्यलाई सामान्य सोधपुछ गरेर छोडिएपनि १९ जनामाथि भने प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको छ। 

उनको जन्मदिनको अवसरमा निकालिएको गाडीको लावालस्कर र टिकटकमा सार्वजनिक भएका ‘उद्दण्ड’ दृश्य भाइरल भएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो।

उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले भाइरल दृश्यपछि निगरानी बढाउन निर्देशन दिएका थिए। बिहीबार दिनभर उनले पशुपतिमा पैसा बाँडेको, ठमेलमा र्यापरहरुसँग देखिएको र एकै ठाउँमा २० वटासम्म केक काटेका थिए। 

प्रहरीले होटलमा होहल्ला गरेको आरोपमा पक्राउ गरेको बताए पनि पक्राउ पर्नुको मुख्य कारण भने सम्भावित ग्याङ भिडन्त रोक्नु रहेको बुझिएको छ। चक्रेको समूह अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल जाने तयारीमा थियो।

त्यहाँ मनाङेका समर्थकहरू जम्मा भइसकेकाले दुई समूहबीच मुठभेडको सम्भावना बढेपछि प्रहरीले हस्तक्षेप गरेको हो। विगतमा मनाङेले चक्रेलाई नै खुकुरी प्रहार गरेको अभियोगमा हाल उनी जेलमा छन्।

यसअघि टिकटकमा हतियार देखाएर पक्राउ परेकाहरूलाई सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि छुटेका थिए, जसकारण प्रहरी यसपटक कसुर स्थापित गर्न सजग देखिएको छ।

२०६२/६३ को जनआन्दोलनपछि चक्रे मिलन, दीपक मनाङे, राजु गोर्खाली जस्ता व्यक्तिहरू गुण्डागर्दीमा सक्रिय थिए।

मनाङे, गणेश लामा, दावा लामा जस्ता व्यक्तिहरू राजनीतिमा प्रवेश गरेर आफ्नो पृष्ठभूमि परिवर्तन गर्ने प्रयासमा छन् भने प्रहरीको आक्रामक कारबाही र ‘इन्काउन्टर’ पछि उपत्यकामा संगठित गुण्डागर्दीका गतिविधिमा कमी आएको मानिन्छ।

साउन २३, २०८२ शुक्रबार १८:४५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।