
महालेखा परीक्षकले बेरुजु लुकायो भन्ने आशंक नगर्न सचिवहरूलाई रायाको आग्रह

काठमाडौं : सार्वजनिक लेखा समितिको बैठकमा बेरुजूको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गरिएको छ।
शुक्रबार बसेको लेखा समितिमा बेरुजूको आयतन उच्च भएका मन्त्रालयका सचिव र विभागका प्रमुखसँग छलफल गरिएको हो।
बैठकमा महालेखापरीक्षक तोयम रायाले हरेक मन्त्रालयमा बेरुजू प्रतिवेदन बुझाइसकेको जानकारी दिए। उनले मन्त्रालयका सचिवहरूसँग नबुझि महालेखा परीक्षकले लुकायो पठाएन भन्ने आरोप नलगाउन आग्रह गरे।
‘हामी सचिवहरू आफैंले बेरुजूको विषय हेर्ने हो। यसबारेमा छलफल पनि भएको छ। हरेक मन्त्रालयले सम्पूर्ण निकायको बेरुजूहरू प्रतिवेदन हामीले मन्त्रालय मन्त्रालयमा पठाएका छौ। यस अर्थमा माननीय सदस्यज्यूहरूसँग मेरो आग्रह महालेखापरीक्षकले बेरुजू लुकायो वा पठाएन कि आएन भन्ने विषयमा होइन। हामीले पठाएका छौ।’
उनले सचिवहरूलाई आफैं लागेर काम गर्न आग्रह समेत गरे।
यस्तै, शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले ७७ वटै जिल्लामा समन्वयका प्रमुखहरूलाई ७० प्रतिशत बेरुजू फर्छ्यौट टार्गेट दिएर पठाइसकिएको जानकारी दिए। साथै उनले महालेखापरीक्षकबाट सहयोग भइरहेको पनि बताए। ‘हामी बैठकको निर्देशन अनुसार कार्ययोजना बनाएर अगाडि बढ्न गइरहेको छौ। २१ र २२ गते ७७ वटै जिल्लामा समन्वयका प्रमुखहरूलाई काठमाडौं ल्याएर यो वर्ष ७० प्रतिशत बेरुजू फर्छ्यौट टार्गेट दिएर पठाइसकिएको छ,’उनले भने।
शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बेरुजुको ठुलो अंश पेस्की रहेपनि फर्छ्यौट गर्न सहज हुने अवस्था रहेको बताए।
उनले ६० प्रतिशत न्यूनतम् बेरुजू फर्छ्यौट गर्ने कार्ययोजना अनुसार अगाडि बढेको बताए।
उनले भने, ‘हाम्रो विकाससँग सम्बन्धित पूँजीगत खर्च गर्ने कार्यालय भएकाले बेरुजूको ठुलो अंश पेस्की छ। पेस्की चाही नियमित कन्ट्राक्टरको बिलबाट कट्टा हुने भएकाले यो अंक धेरै भएपनि फर्छ्यौट गर्न सहज हुने अवस्था होला। आर्थिक वर्ष बेरुजू फर्छ्यौटको लागि ६० प्रतिशत न्यूनतम् बेरुजू फर्छ्यौट गर्ने भन्ने कार्ययोजना सबै निकायमा बनाएर अगाडि बढ्ने लक्ष्य छ।’
यस्तै, समितिका सभापति ऋषिकेश पोखरेलले यस वर्ष कम्तिमा ८० प्रतिशत बेरुजू फर्छ्यौट गर्न र अब बेरुजू हुन नदिनको लागि कानुनको पूर्ण पालना गर्न अनुरोध गरे।
साउन २३, २०८२ शुक्रबार १७:०१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।