इजरायलको सुरक्षा मन्त्रिपरिषदबाट गाजामाथि नियन्त्रण गर्ने प्रधानमन्त्रीको प्रस्ताव अनुमोदन

इजरायलको सुरक्षा मन्त्रिपरिषदबाट गाजामाथि नियन्त्रण गर्ने प्रधानमन्त्रीको प्रस्ताव अनुमोदन

एजेन्सी : इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजालाई नियन्त्रणमा लिने योजनालाई अनुमोदन गरेको छ।

शुक्रबार बिहानको बैठकमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको प्रस्तावलाई सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

विज्ञप्तिमा गाजाको नियन्त्रणका लागि सहमति भएका योजनाहरू र ‘युद्ध अन्त्यका लागि पाँच बुँदे’ को विवरण समेत उल्लेख गरिएको छ। मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘आईडीएफले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्नेछ। युद्ध अन्त्य गर्न पाँच बुँदामा काम गर्नेछ।

युद्ध अन्त्यका लागि हमासको निशस्त्रीकरण, जिवित र मृत रहेका सबै बन्धकहरूको फिर्ती, गाजामा निशस्त्रीकरण, इजरायलले गाजाको सुरक्षा नियन्त्रण तथा हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकारको प्रस्ताव अनुमोदन भएको छ।

बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले भने, ‘हामी सम्पूर्ण गाजामाथि नियन्त्रण चाहन्छौँ। हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी हमासलाई त्यहाँबाट हटाउन चाहन्छौँ। हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ।’

साउन २३, २०८२ शुक्रबार १४:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।