क्यानडामा कपिल शर्माको क्याफेमा फेरि गोलीबारी, दुई समूहले लियो जिम्मेवारी

क्यानडामा कपिल शर्माको क्याफेमा फेरि गोलीबारी, दुई समूहले लियो जिम्मेवारी

एजेन्सी : क्यानडाको सुरेमा रहेको भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’मा यस महिनामै दोस्रोपटक गोलीबारी भएको छ।

यस घटनाको जिम्मेवारी दुई फरक आपराधिक समूह- गुरप्रीत सिंह उर्फ गोल्डी ढिल्लों र लरेन्स बिश्नोई समूहले सामाजिक सञ्जालमार्फत लिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको भिडियोमा कम्तीमा २५ राउन्ड गोली चलिरहेको सुन्न सकिन्छ।

गोलीबारीकै बीचमा एक आवाज सुनिन्छ- ‘हामीले टार्गेटलाई फोन गरेका थियौं, तर उनले रिङ सुनेनन्, त्यसैले हामीले कारबाही गर्नुपर्यो। यदि अझै रिङ सुन्ने छैनन् भने, अर्को कारबाही चाँडै मुम्बईमा हुनेछ।’

स्रोतका अनुसार, मुम्बई प्रहरीले अन्य सुरक्षा निकायसँग मिलेर घटनाको जाँच गरिरहेको छ।

पहिलोपटक यही क्याफेमाथि जुलाई १० मा आक्रमण भएको थियो। त्यतिबेला क्याफेभित्र केही कर्मचारीहरू रहेका थिए, तर कसैलाई चोटपटक लागेको थिएन। घटनापछि एक झ्यालमा कम्तीमा १० वटा गोलीका प्वाल भेटिएका थिए भने अर्को झ्यालको सिसा फुटेको थियो।

स्थानीय प्रहरीले पहिलो घटनापछि भारतीय मिडियामा आएका ती समाचारबारे जानकारी रहेको जनाएको छ, जसमा एक खालिस्तानी अलगाववादीले आक्रमणको जिम्मेवारी लिएको उल्लेख गरिएको थियो।

जुलाई १० को गोलीबारीपछि बब्बर खालसा इन्टरनेशनल (बीकेआई) समूहका सदस्य हरजीत सिंह लड्डीले जिम्मेवारी लिँदै कपिल शर्माको कार्यक्रममा सहभागी एक व्यक्तिले निहंग सिखहरूको परम्परागत पोशाक र आचरणबारे गरेका “हास्यपूर्ण” टिप्पणीहरूले समुदायको भावना दुखेको दाबी गरेका थिए।

बीकेआईलाई क्यानडा सरकारले आतंकवादी संगठनको सूचीमा राखेको छ। हरजीत सिंह लड्डी भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)को सबैभन्दा खोजी सूचीमा रहेका व्यक्तिमध्ये एक हुन्।

साउन २३, २०८२ शुक्रबार १३:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।