
‘पूर्णबहादुरको सारङ्गी’पछि ४० बढी फिल्म प्रदर्शन : चार वटाले उठाए लगानी, नयाँ सालमा एउटा मात्रै हिट

४६ करोड ८० लाख रुपैयाँ।
यो २०८१ कै सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को आम्दानीको आँकडा हो। एउटै फिल्मले यति धेरै रकमको आम्दानी गर्छ भनेर सायद फिल्मका निर्माताले मात्र होइन, नेपाली फिल्मवृत्तका कसैले पनि अनुमान गरेका थिएनन् होला।
लक्ष्मीपूजाको दिन रिलिज भएको यो चलचित्र कमाइको हिसाबले अहिलेसम्मकै उच्च हो। फिल्मले यति धेरै कमाइ गर्नुका पछाडि फिल्मको कथावस्तु र अभिनयसँगै टिकटकको प्रचार पनि हो। हलमा दर्शक धरधरी रोएको भिडियो टिकटकमा भाइरल भएपछि यो फिल्म हेर्नका लागि हलमा महिना दिनसम्म लाइन लाग्यो, जसले फिल्मलाई यति सफल बनायो।
सरोज पौडेल निर्देशित फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।
तर, त्यसयता प्रदर्शनमा आएका ४० भन्दा बढी फिल्मको आँकडा हेर्दा अधिकांश फिल्मले विदेश राइट्स र डिजिटल राइट्सबाहेक हलमा फिल्म प्रदर्शन गरेर मात्रै लगानी उठाउन सकेका छैनन्।
तिहारपछि प्रदर्शनमा आएका चार चलचित्रले बक्स अफिसबाट बल्ल-बल्ल लगानी उठाएका छन्। त्यसमाथि पनि नयाँ वर्ष २०८२ लागेपछि प्रदर्शनमा आएका १२ फिल्ममध्ये ११ वटा फिल्म फ्लप छन्।
एउटा फिल्मले हलबाट कमाएको कुल रकमको ३० देखि ३५ प्रतिशत मात्र रकम निर्माताको हातमा पर्ने गरेको छ भने एउटा नेपाली फिल्म कम्तीमा पनि डेढ करोडको लागतमा बन्ने गरेको छ।
फागुन १४ गते प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले चार करोड ३४ लाख रुपैयाँ बक्स अफिसबाट सङ्कलन गर्यो। करिब दुई करोडको लगानीमा बनेको फिल्म थियो यो। सिधा तरिकाले हेर्दा फिल्मले लगानी उठाएको देखिँदैन। तर, निर्माताहरू भने फिल्मले लगानी उठाएको दाबी गर्छन्।
उता, फागुन २३ गते प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ले पनि चार करोड पाँच लाख रुपैयाँको ग्रस कलेक्सन गर्यो। डेढ करोडको लगानीमा बनेको फिल्मले बल्ल-बल्ल लगानी उठायो।
गत वर्षको फागुन अन्तिम साता नै प्रदर्शनमा आएको फिल्म ‘एन्जिला’ले सात करोड ५० लाख ५० हजार रुपैयाँको ग्रस कलेक्सन गर्यो। फिल्म डेढदेखि दुई करोड लगानीमा बनेको हो।
२०८२ लागेपछि...
नयाँ वर्ष लागेपछि प्रदर्शनमा आएका अधिकांश फिल्मको अवस्था पनि २०८१ को भन्दा फरक छैन।
चलचित्र विकास बोर्डले उपलब्ध गराएको विवरणअनुसार २०८२ मा हालसम्म प्रदर्शनमा आएका १२ मध्ये एउटा फिल्मले मात्र लगानी उठाउन सकेको छ: ‘उनको स्वीटर’। डेढदेखि दुई करोडको लगानीमा बनेको फिल्मले बक्स अफिसमा मात्र ११ करोड ३४ लाखको आम्दानी गर्यो।
नवीन चौहानको निर्देशनमा निर्माण भएको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, कलाकारहरू सुरज तमु, भावना खपाङ्गी मगर लगायतको अभिनय छ। फिल्म वैशाख २६ गते प्रदर्शनमा आएको थियो।
त्यसभन्दा अघि र पछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले लगानी उठाउन सकेका छैनन्। नयाँ वर्षको सुरुवातसँगै प्रदर्शनमा आएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ले पनि आफ्नो लगानी बक्स अफिसबाट उठाउन सकेनन् भने त्यसपछि वैशाख १२ गते प्रदर्शनमा आएको ‘खेल’मा पनि दर्शकको रुचि भएन।
अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेको फिल्मले १४ लाखभन्दा बढी कमाउन नसकी फ्लप भयो। कलाकारको जम्बो टोली भएको फिल्मले बक्स अफिसबाट कलाकारलाई दिने पैसा पनि उठाउन सकेन।
वैशाख १२ मै प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनित फिल्म ‘भुठान’ले पनि दर्शकलाई आकर्षित गर्न सकेन। भुटानबाट नेपाल हुँदै अमेरिका पुगेको भुटानी शरणार्थीको कथा समेटिएको फिल्मले जम्मा २२ लाख कमायो। जसबाट निर्माताको हातमा आठ लाख मात्र पर्यो, जसले आचार्य लगायतका केही कलाकारको अमेरिका जाने-आउने टिकट किन्नसमेत पुगेन।
वैशाख १९ गते यादव भट्टराई निर्देशित ‘झिल्को’ प्रदर्शनमा आयो। ‘झिल्को’ले पनि नेपाली बक्स अफिसमा आगो बाल्न सकेन, झिल्कोमै निभ्यो। वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तै पाएनन्। फिल्मले ८ लाख रुपैयाँको ग्रस कलेक्सन गर्यो।
‘झिल्को’सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘देवी’को अवस्था भने ‘झिल्को’भन्दा राम्रो देखिए पनि लगानी भने उठाउन सकेन। बक्स अफिस रिपोर्टअनुसार फिल्मले कुल १५ लाख ५० हजार रुपैयाँ कमायो।
वैशाख २६ गते आएर लगानी उठाएको फिल्म ‘उनको स्वीटर’सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘जार’ भने फ्लप भयो। फिल्मले तीन लाख ८४ हजार रुपैयाँ मात्र ग्रस कलेक्सन गर्यो। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। सबै छायाङ्कन भारतको सिक्किममा भएको फिल्मको शीर्ष भूमिकामा गीताञ्जली थापा, अनुपविक्रम शाही र सौगात मल्ल छन्।
जेठ २ गते हलमा ‘के घर के डेरा: घर नम्बर २’ र ‘हेलो काशीराम’ प्रदर्शनमा आए। ‘हेलो काशीराम’को तुलनामा ‘के घर के डेरा: घर नम्बर २’ले राम्रै कलेक्सन गरे पनि लगानी उठाउन पर्याप्त भएन।
दीपेन्द्र के खनालको फिल्म ‘के घर के डेरा: घर नम्बर २’ले ५८ लाख ६६ हजार ग्रस कलेक्सन गर्यो। फिल्ममा खगेन्द्र लामिछाने, उपासना सिंह ठकुरी, केकी अधिकारी, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय थियो। यता दिलीप रायमाझीको मुख्य भूमिका रहेको ‘हेलो काशीराम’ हलमा लागेको र उत्रेको पत्तै भएन। यसले ३१ हजार रुपैयाँ मात्र उठाउन सक्यो।
आठ वर्षपछि राजेश हमालको कमब्याकको रूपमा हेरिएको फिल्म ‘नरसिंहा अवतार’ जेठ ९ गते प्रदर्शनमा आए पनि ‘महानायक’ले दर्शकलाई हलसम्म डोर्याउन सकेनन्। दिवाकर भट्टराईको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा एक करोड ८० लाखको ग्रस कलेक्सन गर्यो, जुन फिल्मको लगानी उठाउन पर्याप्त भएन। फिल्ममा कम्तीमा एक करोडभन्दा बढी लगानी भएको छ।
जेठ २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले ३८ लाख ७२ हजार रुपैयाँ मात्र कमायो, जसबाट निर्माताको हातमा लगभग १३ लाख रुपैयाँ मात्र पर्यो। सिमोश सुनुवारको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया लगायतका कलाकारको अभिनय छ। एउटा फिल्म लेखेको २५ लाख डिमाण्ड गर्दै आएका प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखेको यो फिल्मले निर्माताकै हातमा १५ लाख पार्न सकेन।
जेठ ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ पनि नमज्जाले पछारियो। दिनेश राउत निर्देशित फिल्मले ६८ लाख २५ हजार रुपैयाँ कलेक्नस गर्यो। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको फिल्म सुरूमा जेठ १५ गते प्रदर्शन हुने भनिए पनि राजावादीको आन्दोलनका कारण मिति सारिएको थियो।
असार २७ गतेबाट विजय बराल,विल्सन विक्रम राई,बुद्धि तामाङको अभिनित फिल्म ‘यो मन त मेरो नेपाली हो’प्रदर्शनमा आयो। फिल्मले हलमा न पानी भन्न पायो, न विजयकै शाख जोगाउन सक्यो। विजय नेपालकै सबैभन्दा बढी कमाउने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का मुख्य अभिनेता हुन्। ८ लाख १३ हजारको ग्रस कलेक्सन गरेको फिल्म अमेरिकामा बसोबास गरिरहेका साहित्यकार नर प्रधान (मित्र)को लेखन तथा निर्देशनमा बनेको हो।
साउन १६ गतेबाट नीता ढुङ्गाना अधिकारी अभिनित फिल्म ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आएको छ। यो फिल्म शुक्रबार र शनिबार ४ लाख ८० हजार ८ सय ८३ ग्रस कलेक्सन गर्यो। दर्शक आउन छाडेपछि हलमा लागेको दुई हप्ता नबित्दै निर्माताले फिल्म उतारेका छन्।
विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा नीतासहित प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय छ। यो फिल्मलाई पनि प्रदीप भारद्वाजले नै लेखेका हुन्।
प्रदर्शनको तयारीमा
यसका अलावा साउन २३ गते ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शनमा आउँदैछ। यसमध्ये ‘मोहर’ देउकी कुप्रथाको कथामा बनेको फिल्म हो। यसमा पल शाह, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा लगायतको अभिनय रहेको छ। यस फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक हुन्।
सोही दिन राजबहादुर सानेको लेखन तथा निर्देशनमा ‘सिटामोल’प्रदर्शनमा आउँदैछ। यसमा पनि बेनिशाकै मुख्य भूमिका रहेको छ। फिल्ममा बेनिशासँगै सौगात मल्ल,श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
त्यसैगरि भदौ ६ गते दुई वटा फिल्म ‘माग्नेराजा’,‘जनै हराएको मान्छे : धागाका मान्छेहरू’ र ‘ताराहरू’ प्रदर्शनमा आउँदैछ। ‘माग्ने राजा’लाई सामिप्यराज तिमल्सेनाले लेखेका हुन् भने निर्देशन ऋषि लामिछानेको छ। यो फिल्ममा केदारप्रसाद घिमिरे (माग्नेबुढा),वर्षा सिवाकोटी,मिस पवि लगायतको अभिनय रहेको छ। फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन्।
सोही दिन प्रदर्शनमा आउने अर्को फिल्म ‘जनै हराएको मान्छे : धागाका मान्छेहरू’मा विजय बराल, केकी अधिकारी,मिरुना मगरको मुख्य भुमिका रहेका छन्। हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद छ। फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् भने सहायक निर्देशनको जिम्मा मनिष राउतले गरेका छन्।
भदौ ६ गते नै आशान्त शर्माको निर्देशनमा बनेको फिल्म ‘ताराहरू’प्रदर्शनमा आउन लागेको हो। यसमा आशान्त कै अभिनय रहेको छ भने अन्य कलाकारमा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतले अभिनय गरेका छन्। गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी शर्मा निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो।
त्यसैगरि भदौ १२ गते फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शन हुँदैछ। फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा लगायतले अभिनय गरेका छन्। फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन्।
भदौ १३ गते नै नाजिर हुसेनको फिल्म ‘गुन्युचोली’ प्रदर्शन हुँदैछ। समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुन्यु चोलोः द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको हो। जसमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणाको अभिनय गरेका छन्।
भदौ २० गतेबाट दयाहाङको ‘रिमै’ र खगपु फिल्म ‘चिठी’ प्रदर्शनमा आउँदैछ। दुवै फिल्म एकसाथ प्रदर्शनमा आउन लागेको हो। फिल्म ‘रिमै’मा दयाहाङ राई दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतले अभिनय गरेका छन् भने फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन्।
माधवराज खरेलको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म ‘चिठी’मा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, मुस्कान लामा लगायतका कलाकारको अभिनय छ।
हालै ‘अभिमन्यु च्याप्टर १’ टिमले फिल्म भदौ २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएको छ। बिनोद पौडेलको लगानी रहेको फिल्ममा कामेश्वर चौरासिया, शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरीको मुख्य भूमिका छ। फिल्ममा सुशान्त गौतमको निर्देशन र मुकेश खनालको लेखन छ।
असोज ३ गतेबाट उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘जारी २’आउने भएको छ। ‘सङ अफ च्याब्रुङ’ नाम राखिएको फिल्म सन् २०२३ मा रिलिज फिल्म ‘जारी’को सिक्वेल हो। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बरालको मुख्य भूमिका रहेको छ।
असोजको फूलपाती अर्थात असोज १३ गतेबाट रोहित अधिकारीको फिल्म ‘माइतीघर’ दिपेन्द्र के खनालको ‘हरिबहादुरको जुत्ता’ र सन्तोष सेनको ‘बलिदान’ प्रदर्शनमा आउँदैछ।
फिल्म ‘माइतीघर’लाई मिलन तामाङको निर्देशन गरेका हुन्। रोहित अधिकारीको प्रस्तुतिमा निर्माणमा तयार भएको यो फिल्ममा केदार घिमिर (माग्नेबुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा लगायतको अभिनय छ।
सोही दिन दीपेन्द्र के खनालले निर्देशित र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि प्रदर्शनमा आउँदैछ। फिल्ममा हरिवंशका अलवा स्वस्तिमा खड्का, प्रियंका कार्की, प्रकाश सपुत लगायतको अभिनय रहेको छ।
सोही दिन फिल्म ‘बलिदान’ पनि प्रदर्शनमा आउँदैछ। सन्तोष सेनको निर्देशन तथा निर्माणमा तयार भएको यो फिल्ममा समिर भट्ट,ऋचा शर्मा लगायतको अभिनय रहेको छ। यही मितिमा फिल्म ‘परालको आगो’आउने चर्चा थियो। तर, अहिलेसम्म निर्माण नभएपछि प्रदर्शनमा आउने फिल्मलाई राहत मिलेको छ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘महाराज धिराज’को पनि घोषणा भएको छ। तर, अहिलेसम्म छायांकनमा नगएकाले यो फिल्मको यकिन छैन।
असोज ३१ गते अनमोल केसी अभिनित फिल्म ‘जेरि अन टप’प्रदर्शनमा आउने घोषणा भइसकेको छ। यसमा सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्ममा अनमोलका साथमा जसिता गुरुङ,केदार घिमिरे (माग्नेबुढा), आँचल शर्मा, भुवन केसी, सुरक्षा पन्त र उषा खड्गीको प्रमुख भूमिकामा छन्।
कात्तिक १४ गते फिल्म दीपकप्रसाद आचार्य (काकु)को ‘परान’प्रदर्शनमा आउन लागेको छ।
साउन २३, २०८२ शुक्रबार १२:५२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।