रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, रवि लामिछानेको प्रतिरक्षादेखि विदेशमा रहेका नेपालीको मताधिकारसम्मका एजेन्डा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, रवि लामिछानेको प्रतिरक्षादेखि विदेशमा रहेका नेपालीको मताधिकारसम्मका एजेन्डा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

बैठकका लागि समसामयिक राजनीतिदेखि पार्टीका आन्तरिक सांगठनिक विषयसम्मका १३ वटा मुख्य एजेन्डा तय गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधविरुद्ध सञ्चालित हस्ताक्षर अभियानको प्रगति समीक्षा र त्यसलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

सहकारी प्रकरणमा सभापति लामिछानेलाई लक्षित गरिएको भन्दै रास्वपाले देशव्यापी रूपमा हस्ताक्षर अभियान चलाइरहेको छ।

त्यसैगरी, रुपन्देहीमा हुने उपनिर्वाचनको तयारी, संसदीय दलको रुपन्देही बैठकको समीक्षा र त्यहाँको सांगठनिक अवस्थाबारे पनि बैठकमा छलफल हुनेछ।

पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयलाई पनि प्राथमिकतामा राखेको छ।

बैठकमा पार्टीको आन्तरिक सुदृढीकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू लिइने प्रवक्ता झाले जानकारी दिए।

जसअनुसार, पार्टीको रणनीतिक समूह गठन, केन्द्रीय विभागका प्रमुखहरूको मनोनयन, पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्ताव र पार्टीको निर्वाचन आयोगमा सदस्य मनोनयन गर्ने विषयमा छलफल हुनेछ।

यसका साथै, बैठकमा पार्टी सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, विधानको व्याख्या अनुमोदन, प्रदेश इञ्चार्जहरूबाट प्रदेशको रणनीतिक रिपोर्टिङ र केन्द्रीय सदस्यहरूको रिपोर्टिङ पनि हुनेछ।

पार्टीको ‘कुलिङ अफ पिरियड’मा भएको भनिएको गडबडीबारे छानबिन समितिको प्रतिवेदनमाथि पनि छलफल गरिने एजेन्डामा उल्लेख छ।

बैठकमा महाधिवेशन प्रतिनिधि छनोटको समयसीमा, मधेश प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुति र सांसदहरूको लेविबारे पनि छलफल हुनेछ।

साउन २३, २०८२ शुक्रबार ०९:५१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।