
रुपन्देही-३ उपनिर्वाचन : रास्वपाबाट नौ जना आकांक्षी, डाक्टरदेखि उद्योगीसम्म दौडमा

बुटवल : आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नौ जनाले उम्मेदवारीका लागि आकांक्षा देखाएका छन्।
पार्टीले आह्वान गरेको अनलाइन आवेदनमार्फत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूदेखि पार्टीका सक्रिय पदाधिकारीसम्मले उम्मेदवार बन्न इच्छा व्यक्त गरेका हुन्। यद्यपि नौमध्ये दुई जना एमाले पृष्ठभूमिका छन्।
रास्वपा निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्म खुलाएको आवेदनमा परेका सदर नामहरू बिहीबार सार्वजनिक गरेको हो। रास्वपाका सह-महामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी आकांक्षीहरूको नामावली सार्वजनिक गरेका हुन्।
सार्वजनिक सूचीअनुसार आकांक्षीहरूमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, पूर्वउम्मेदवार, चिकित्सक, प्राध्यापक, सहकारी अभियन्ता, उद्योगी र विदेशबाट फर्किएका युवा समेत छन्, जसले उपनिर्वाचनलाई थप रोचक बनाएको छ।
श्रीमती एमालेबाट उपमेयर, श्रीमान् रास्वपाको उम्मेदवार दौडमा
आकांक्षीहरूको सूचीमा एक रोचक नाम पार्थिवेन्द्र उपाध्यायको छ। उनी एमाले बाट निर्वाचित पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन्। एमालेको राजनीतिक पृष्ठभूमि भएको परिवारका सदस्य उपाध्यायको नाम रास्वपाको सम्भावित उम्मेदवार सूचीको दोस्रो नम्बरमा छ।
अझ रोचक त के छ भने, उनकी श्रीमती उमा अधिकारी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख हुन्, जो एमालेबाटै निर्वाचित भएकी थिइन्।
रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख रहेका उपाध्यायले उम्मेदवार बन्ने तयारीस्वरूप केही दिनअघि मात्रै पदबाट राजीनामा दिएका थिए। राजनीतिशास्त्रमा स्नातकोत्तर र नर्वेबाट अंग्रेजी साहित्यमा एमफिल गरेका उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए।
अन्य प्रमुख आकांक्षी को-को?
रास्वपाले पहिलो नम्बरमा नाम सार्वजनिक गरेका सुलभ खरेल बुटवल-१६ का हुन्। उनी रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनकै लागि अमेरिकाबाट बुटवल आएका हुन्। कानुनका विद्यार्थी समेत रहेका खरेल रवि लामिछाने र डा. स्वर्णिम वाग्लेसँग निकटस्थ मानिन्छन्।
डा. लेखजङ्ग थापा सिद्धार्थनगर नगरपालिका-९ का हुन्। न्यूरो सर्जन रहेका उनको भैरहवामा आफ्नै क्लिनिक छ। थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य पदमा समानुपातिक उम्मेदवार थिए।
यस्तै, सिद्धाथनगर नगरपालिका-८ की ज्ञानु पौड्याल सहकारी अभियन्ता हुन्। उनको राजनीतिक पृष्ठभूमि एमाले हो। पौडेल लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पूर्वअध्यक्ष समेत हुन। उनी सामाजिक कार्यमा समेत सक्रिय छन्।
जितबहादुर गुप्ता (जेवी) सिद्धार्थनगर नगरपालिका-१ का स्थानीय हुन्। २०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा उनी राप्रपाका दिपक बोहोरासँग चुनावी लडाइँमा थिए। गुप्ताले पाँच हजार ७९६ मत ल्याएका थिए।
त्यस्तै कुशुम महर्जन मध्यपुर ठिमीकी हुन्। उनको माइती भैरहवा हो। गत आम निर्वाचनमा उनी रास्वपाकी समानुपातिक उम्मेदवार थिइन्। उनले अहिले उम्मेदवार बन्नकै समानुपातिक सूचीबाट आफ्नो नाम हटाएकी छन्।
अर्का आकांक्षी रचना क्षेत्री भैरहवा निवासी हुन्। पार्टीकी जिल्ला कोषाध्यक्ष समेत रहेकी क्षेत्री स्थानीय स्तरमा लोकप्रिय छिन्। त्यस्तै पनमकुमारी अग्रवाल सिद्धार्थनगर नगरपालिका-८ कि हुन्। उनी उद्योगी हुन्। अग्रवाल नेपालकै ठूलो प्राङ्गारिक मल उद्योगकी सञ्चालक हुन्।
अर्का निवेदक मधु अर्याल रुपन्देही-३ का सभापति हुन्। उनी संगठन निर्माणमा अग्रपंत्तिमा छन्। मन्टेशवरी स्कुलका सञ्चालक समेत रहेका मधु सामाजिक संघसंस्थामा पनि क्रियाशील छन्।
कारागारबाटै रविको चासो, उपनिर्वाचनलाई प्रतिष्ठाको विषय
चैत महिनादेखि रास्वपा सभापति रवि लामिछाने यही निर्वाचन क्षेत्रमा पर्ने रुपन्देही कारागारमा छन्। उनको उपस्थितिले यहाँ रास्वपाको राजनीतिक चहलपहल बढाएको छ। लामिछानेलाई भेट्न आउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मको आवतजावतले चुनावी माहौल गर्माएको छ।
स्रोतका अनुसार, लामिछानेले कारागारबाटै यो उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर जसरी पनि जित्ने गरी तयारी गर्न निर्देशन दिइरहेका छन्। उनको योजनाअनुसार नै पार्टीको संसदीय दलको बैठक समेत केही दिनअघि भैरहवामै बसेको थियो।
सहमहामन्त्री आचार्यका अनुसार अब पार्टीको विधिअनुसार आन्तरिक निर्वाचनमार्फत अन्तिम उम्मेदवारको टुङ्गो लगाइनेछ। यसका लागि साउन २३ र २४ गते उम्मेदवारविरुद्ध दाबी-विरोध, २५ गते अन्तिम नामावली प्रकाशन, भदौ ११ सम्म उम्मेदवारहरूलाई प्रशिक्षण र भदौ १२-१३ मा आन्तरिक निर्वाचन गरी भदौ १५ गतेभित्र आधिकारिक उम्मेदवार घोषणा गरिनेछ।
कस्तो थियो २०७९ को चुनावी प्रतिस्पर्धा ?
२०७९ को आमनिर्वाचनमा रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ १४ हजार मत ल्याएर तेस्रो स्थान हासिल गरेको थियो।
प्रत्यक्षतर्फ भने राप्रपा र एमालेको तालमेलबाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए। उनले नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
करिब डेढ लाख मतदाता रहेको यस क्षेत्रमा समानुपातिक र स्थानीय तहको मतको आधारमा कांग्रेस पहिलो शक्ति देखिन्छ भने रास्वपाको उदयले प्रतिस्पर्धा थप त्रिपक्षीय बन्ने अनुमान छ।
साउन २३, २०८२ शुक्रबार ०८:२७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।