इजरायली प्रधानमन्त्रीको योजनामा सेना नै असहमत, भन्यो- गाजामा पूर्ण कब्जा भनेको जालमा फस्नु सरह हो

इजरायली प्रधानमन्त्रीको योजनामा सेना नै असहमत, भन्यो- गाजामा पूर्ण कब्जा भनेको जालमा फस्नु सरह हो

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा नयाँ सैन्य अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेसँगै सैन्य नेतृत्वले यसको विपक्षमा चेतावनी दिएको छ।

यस योजनाले थप प्यालेस्टाइनी नागरिकको ज्यान जाने र अन्तर्राष्ट्रिय स्तरमा इजरायल झनै एक्लिने जोखिम बढेको विश्लेषण गरिएको छ।

फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा नेतन्याहूले भने, ‘हामी सम्पूर्ण गाजामाथि नियन्त्रण चाहन्छौं। आफ्नो सुरक्षा सुनिश्चित गर्न हामी त्यहाँबाट हमासलाई हटाउन चाहन्छौं... हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौं।’

उनले थपे, ‘हामी गाजालाई यस्तो नागरिक प्रशासनलाई सुम्पन चाहन्छौँ, जो न हमास होस्, न त इजरायलको विनाशको वकालत गर्ने कुनै पक्ष।’

यद्यपि, नेतन्याहूले इजरायलले गाजामाथि शासन गर्न नचाहेको पनि स्पष्ट पारे।

‘हामी एक सुरक्षा घेरा चाहन्छौँ। हामी त्यहाँ शासन गर्न वा प्रशासनिक निकायको रूपमा रहन चाहँदैनौँ। हामी यसलाई अरब सेनाहरूको हातमा सुम्पन चाहन्छौँ’, उनले भने।

तर, प्रधानमन्त्री नेतन्याहूको यो योजनाप्रति इजरायली सेनाको नेतृत्व भने सहमत देखिँदैन। इजरायली सेनाका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जमिरले नेतन्याहूलाई गाजामाथि पूर्ण कब्जा गर्ने योजना ‘जालमा फस्नु सरह’ भएको बताएका छन्।

रिपोर्टहरूका अनुसार, जनरल जमिरले यस्तो आक्रमणले करिब २० जना बन्धक र युद्धबाट थकित सैनिकहरूको जीवनमाथि थप खतरा बढाउने चेतावनी दिएका छन्।

इजरायलमा गरिएका सर्वेक्षणहरूले पनि अधिकांश इजरायली नागरिक बन्धकहरूको रिहाइ र युद्ध अन्त्यका लागि हमाससँग सम्झौता गर्नुपर्ने पक्षमा रहेको देखाएका छन्।

बन्धक बनाइएकाहरूका परिवारका सदस्यहरू पनि सैन्य नेतृत्वको यो कुरामा सहमत छन्।

उनीहरूको भनाइ छ, ‘बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने एकमात्र तरिका हमाससँग सम्झौता गर्नु हो।’

साउन २३, २०८२ शुक्रबार ०७:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।