
विदेशी जनै प्रतिस्थापन गर्नका लागि बुटवलमा २५ लाखमा पूजा सामग्री उद्योग सञ्चालन, १२५ जनालाई रोजगारी

बुटवल : विदेशी जनै र रक्षाबन्धनको आयातलाई प्रतिस्थापन गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बुटवलको देविनगरमा २५ लाख रुपैयाँको लगानीमा ‘हरि ॐ पूजा सामग्री उद्योग’ सञ्चालनमा आएको छ।
लोकप्रसाद काफ्ले, जनार्दन न्यौपाने र सुन्दर न्यौपानेको संयुक्त लगानीमा स्थापित यस उद्योगले शास्त्रीय विधि र परम्पराअनुसार पूर्ण सरा र शिखा भएका जनै एवं रक्षाबन्धन उत्पादन गरी बिक्री गर्दै आएको छ। स्थापनाको पहिलो वर्षमै उद्योगले १५ लाखभन्दा बढी रक्षाबन्धन उत्पादन गर्न सफल भएको छ।
उद्योगका सञ्चालक जनार्दन न्यौपानेले विदेशी जनैको आयात रोक्दै धर्म-संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको बताए।
‘नेपालमा वार्षिक करिब ५ करोड जनै आवश्यक पर्ने अनुमान छ,’ उनले भने, ‘त्यसमध्ये मुस्किलले १ करोड मात्र नेपालमा उत्पादन हुन्छ। बाँकी सबै भारत र चीनबाटै आयात हुने गरेको छ। हामीले यही आयातलाई रोक्न खोजेका हौं।’
उनका अनुसार उद्योगबाट उत्पादित जनै ५४ सरेको र विधिपूर्वक तयार पारिएको छ। उद्योगका लागि आवश्यक कपास र धागो भारतबाट आयात गरिए पनि त्यसलाई नेपालमा हातले शिखा पारेर जनै तयार पारिन्छ।
यस प्रक्रियामा हाल १२५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगले आफ्ना उत्पादन युरोप र अमेरिकासम्म बिक्री हुने गरेको दाबी गरेको छ।
लामो समय विदेशमा बिताएर फर्किएका अर्का सञ्चालक लोकप्रसाद काफ्लेले स्वदेशमै केही गर्ने सोचले उद्योगमा लगानी गरेको बताए।
हिन्दू धर्ममा जनैको विशेष महत्त्व रहेको बताउँदै अर्का सञ्चालक सुन्दर न्यौपानेले यसलाई ‘ब्रह्मसूत्र’ अर्थात् वेदोक्त कर्म गर्ने अधिकार प्राप्तिका लागि धारण गरिने धागोको रूपमा लिइने बताए।
उनका अनुसार जनैमा रहेका शिखाका तीन-तीन डोराले ब्रह्मा-विष्णु-महेश्वर तथा कर्म-उपासना-ज्ञानको प्रतीकका रूपमा अर्थ राख्छन्।
साउन २३, २०८२ शुक्रबार ०७:२६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।