तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टेलका कार्यकारी प्रमुख लिप-बु टानलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। इन्टेल कर्पोरेशन एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो। उनले बुधबार आफ्नो सोसल प्लेटफर्म ट्रुथमा लेख्दै टान चिनियाँ कम्पनीहरूसँगको सम्बन्धका कारण विवादमा मुछिएको दाबी गरे।
ट्रम्पको यो टिप्पणी अमेरिकी सिनेटर टम कटनले इन्टेललाई लेखेको कडा पत्र सार्वजनिक भएपछि आएको हो। कटनले टानसँग चीनका “दर्जनौँ कम्पनीहरूमा स्वामित्व वा सरोकार” रहेको र तीमध्ये कम्तीमा आठवटा कम्पनीको सीधै चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध रहेको आरोप लगाएका छन्।
सिनेटर कटनले टानले अघिल्लो भूमिकामा रहँदा ‘क्याडेन्स डिजाइन सिस्टम्स’ कम्पनीमार्फत चिनियाँ सैन्य विश्वविद्यालयलाई अवैध रूपमा उत्पादन बेचेको र चिनियाँ सेमीकन्डक्टर कम्पनीलाई प्रविधि हस्तान्तरण गरेको पनि आरोप लगाए। “त्यतिबेला टान नै कम्पनीका प्रमुख थिए,” कटनले भनेका छन्।
मलेसियामा जन्मिएका लिप-बु टानले यसै वर्ष मार्चमा इन्टेलको कार्यकारी प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए। ट्रम्प र कटन दुवैले टानको नियुक्तिमा सुरुदेखि नै असन्तोष देखाउँदै आएका थिए।
इन्टेल अहिलेको प्रविधि बजारमा पुरानो प्रभाव गुमाउँदै गएको छ। सिलिकन भ्यालीको प्रतिष्ठित कम्पनीमध्ये एक मानिने इन्टेल टीएसएमसी र सामसुङजस्ता एसियाली कम्पनीहरूसँग प्रतिस्पर्धामा कमजोर देखिएको छ। एआई चिप बजारमा एनभिडियाको तीव्र उदयले इन्टेललाई थप दबाबमा पारेको छ।
टानले हालै सार्वजनिक रूपमा भनेका थिए, “इन्टेलका लागि अहिलेको चुनौती समाधान गर्न सजिलो हुने छैन।”
साउन २२, २०८२ बिहीबार २२:०७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।