उत्तराखण्डको बाढीमा जाजरकोटका १३ जना बेपत्ता

सुर्खेत: भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन्। कुशे गाउँपालिका-२ का ती १३ जना भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा हुन्।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले एक विज्ञप्ति जारी गर्दै बाढीपछि ती व्यक्तिहरू परिवार तथा अन्यसँग सम्पर्कमा नआएको जानकारी दिएका छन् । “बाढीपछि बेपत्ता भएकाहरू हालसम्म सम्पर्कमा आएका छैनन्,” उनले भने, “उहाँहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।”
अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग बेपत्ताहरूको खोजी गरिदिन अनुरोध गरेका छन्। उनका अनुसार हर्सिल क्षेत्रमा मजदुरी गर्दै आएका अन्य वडाका केही बासिन्दासँग पनि हालसम्म सम्पर्क हुन सकेको छैन।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पनि बाढीमा परेर केही स्थानीय बेपत्ता भएको जानकारी कुशे गाउँपालिकाबाट प्राप्त भएको बताए।
“हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटका नागरिकहरूको नाम संकलन गर्न जिल्लाका सबै स्थानीय तह र प्रहरी चौकीलाई पत्राचार गरिसकेको छु,” उनले भने, “गृहमन्त्रालयलाई समेत सोही जानकारी पठाएको छु।”
साउन २२, २०८२ बिहीबार २१:५२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।