खेलकुद मन्त्रीलाई मुख्यमन्त्रीले भने- ‘राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्ने गरी मात्र तोक्नुहोला’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्नेगरी तोक्न अनुरोध गरेका छन्।
बिहिबार १० औं राष्ट्रिय खेलकुदको विषयमा परामर्श गर्न सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको कारणले प्रतियोगिता प्रभावित नहुने भएकोले अब मिति तोक्दा नसर्ने गरी तोक्न अनुरोध गरे।
‘प्रदेश सरकारबाट हुने सहयोग सबै हुन्छ। तर, पटक-पटक प्रतियोगिताको मिति तोक्ने खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश फैलिएको छ,’ उनले भने, ‘कर्णालीमा खेलकुद प्रतियोगिता गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिवद्ध छौं । त्यही अनुसार तयारी पनि गरिरहेका छौं। आयोजक तपाईंहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नु होला।’
मुख्यमन्त्री कडेलले मिति तोक्दा संघीय र प्रदेश सरकारको जिम्मेवारीसहित स्पष्ट तालिका बनाउन सुझाव दिए। उनले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका कमजोरीहरु दोहरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला। तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला।’ मुख्यमन्त्री कडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्री चौधरीलाई सचेत गराए। ‘तपाईंहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्नेगरी काम गर्नुस् भनेर निर्देशन दिनुभएको रहेछ, हाम्रो स्स्प्रिड पनि त्यही हो,’मुख्यमन्त्री कँडेलले भने। उनले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषदका रिक्त पदहरूमा नियुक्त गर्न छलफल सुरू भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने प्रतिवद्धता जनाए।
राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भएपनि रंगशाला र खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पू्र्वाधार निर्माण गरेको उनले बताए। उनले थप पूर्वाधार बनाउने कुरामा सघीय सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे। युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्नेगरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे। उनले सुर्खेत आसपास हुनेरी प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी रहेको बताए। छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो।
मिति सरेको सर्यै
कहिल्यै भौतिक पूर्वाधारको अभाव त कहिल्यै आवश्यक तयारी पूरा नभएको भन्दै प्रतियोगिताको मिति सर्दै आएको छ।
मन्त्री चौधरीले सुर्खेतमा प्रतियोगिता सञ्चालक मूल आयोजक समितिको २५ फागुन २०८१ मा सचिवालयको उद्घाटन गरेका थिए।
चौधरी खेलकुद मन्त्री भए यता तीनपटक प्रतियोगिताको मिति सरिसकेको छ। पहिलो पटक ०८१ मंसिर २ देखि ८ सम्म तय भयो। दोस्रो पटक चैत २३ देखि ३० गतेसम्म हुने तय भयो। यही समयमा मन्त्री चौधरीले प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरे। प्रतियोगिता तयारीका लागि विभिन्न ११ उपसमिति बनाए। तरपनि प्रतियोगिता तोकिएको मितिमा भएन। मन्त्री चौधरीले तेस्रो पटक प्रतियोगितालाई ०८२ जेठ ३ देखि १० सम्म धकेले। त्यो समयमा पनि नभएपछि मन्त्री चौधरी चौथो पटकका लागि कर्णाली धाइरहेका छन्।
०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहबाट तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएका थिए। कर्णाली प्रदेशले ०८१ मंसिर २ देखि ८ गतेसम्म १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने मिति तोकेको थियो।
यता कर्णाली प्रदेशको खेलकुद विकास परिषद् सात महिनादेखि नेतृत्व विहीन छ। ०८१ पुस ६ गते तत्कालीन उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वामित्र सज्यालसहित पाँच पदाधिकारीको कार्यकाल सकिएपछि परिषद् रित्तो छ। प्रदेश सरकारमा रहेका राजनीतिक दलबीच सदस्यसचिव कसको भागबाट नियुक्त गर्ने भन्ने सहमति हुन सकेको छैन।
साउन २२, २०८२ बिहीबार २१:०३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।