९२ विगाहा क्षेत्रफलमा पूर्वाधार निर्माणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना

९२ विगाहा क्षेत्रफलमा पूर्वाधार निर्माणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना

बुटवल : बौद्ध विश्वविद्यालयलाई नमुना उच्च शिक्षाको केन्द्र बनाउने योजना अनुसार ८० अर्बको देवदह गुरुयोजना तयार गरिएको छ। विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार गर्नु अघि गुरुयोजना तयार गरेको हो।

देवदहमा रहेको ९२ विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरू निर्माणका लागि विस्तृत गुरुयोजना तयार गरी सार्वजनिक गरिएको छ। यो गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो।

लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले स्वदेशी र विदेशी गरी २० हजार विद्यार्थीहरूले अध्ययन गर्ने गरी अहिले गुरु योजना बनाई पूर्वाधार निर्माणको तयारी भइरहेको बताए।

पूर्वाधार निर्माणका लागि नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोग तथा विदेशी दातृ निकायहरूसँग सहकार्य सम्झौता भइरहेको उनले बताए।

‘देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र चार हजार नेपाली विद्यार्थीले अध्ययन गर्नेछन्। यो सम्पन्न पश्चात् देवदह शैक्षिक ग्रामका रुपमा स्थापित हुनेछ’उनले भने। साथै उनले देवदहको शैक्षिक केन्द्र अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्ने समेत बताए।

विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा विश्वविद्यालयको टिम जुटेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा ९ वटा स्कुलहरूमार्फत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ। त्यसका लागि आवश्यक पूर्वधार विश्वविद्यालयले तयार गर्दैछ।

विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरू सरकारका नीति योजनामा पर्नेगरी काम गरिरहेको उनले बताए। देवदहको गुरुयोजना कार्यान्वयन हुँदा मुलुककै नमुना विश्वविद्यालयका रुपमा स्थापित हुने उनको भनाई छ।विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले विदेशी तथा स्वदेशी विद्यार्थीहरुले बौद्ध अध्ययनसँगै जीवनोपयोगी शैक्षिक कार्यक्रममा अध्ययन गर्दै आएको बताए। साथै उनले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताए।

त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने बताउँदै उनले देवदह गुरुयोजनाको सपना छिट्टै साकार हुने विश्वास व्यक्त गरे।

देवदह गुरुयोजना निर्माणका लागि विभिन्न निकायहरूसँग नियमित छलफलहरू भइरहेको उनले बताए। गुरुयोजना अनुसारको संरचना निर्माणको थालनी भइरहेको उनले बताए।

देवदहमा तयार भएको गुरुयोजना अनुसार शैक्षिक भवनहरू, आध्यात्मिक अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहालय, पुस्तकालय, गेस्टहाउस भिल्लासहितका संरचना बन्नेछन्।

रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ। हाल विश्वविद्यालयले लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। त्यस्तै विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको छ।सो निर्माण बीस महिनाभित्र सकिने अपेक्षा रहेको छ। विश्वविद्यालयमा हाल करिव २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।

बौद्ध विश्वविद्यालयमा अहिले बौद्ध अध्ययन संकाय र प्राविधिक बौद्ध संकाय रहेका छन्। दुई वटा स्कुल र दुईवटा आंगिक क्याम्पस रहेका छन्। केन्द्रीय क्याम्पसमा चालु शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, आर्कियोलोजी र म्युजोलोजी, भोट बौद्ध अध्ययन सञ्चालनमा रहेका छन्। त्यस्तै, स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको छ।

बौद्ध विश्वविद्यालयको बुटवल सिटी क्याम्पसमा स्नातक तहमा ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छ भने चालु शैक्षिक सत्रका लागि बीबीए एआई र बीएचटीएमको भर्ना खोलेको छ। त्यस्तै, स्नातकोत्तर तहमा इन्टरनेसनल रिलेसन एन्ड पिस स्टडिज, एप्लाईड बुद्धिज्मको कक्षासमेत सञ्चालनमा छन्। बुटवलमै रहेको स्कुल अफ लमा बिएएलएलबी सञ्चालनमा रहेको छ।

बुद्धसँग सम्बन्धित स्थल देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा छ। यसै शैक्षिक सत्रदेखि स्नातक तहमा ट्राभल एन्ड टुरिजम, बिटिसिएसओएल र स्नातकोत्तर तहमा अनुवाद तथा व्यख्या, बुद्धिजम एण्ड नेपाल स्टडिज शैक्षिक कार्यक्रमको नयाँ भर्ना खोलिएको छ।

विश्वविद्यालय स्थापना गर्दा करिब साढे दुई बिघा जमिन थियो। तर, अहिले लुम्बिनीसहित विभिन्न स्थानमा विश्वविद्यालयको एक सय १३ बिघा जमिन छ। विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन छ।  बुटवल- १२, नयाँगाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन रहेको बौद्ध विश्वविद्यालयका सूचना अधिकारी सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए। उनले विश्वविद्यालयले पूर्वाधार निर्माण र शैक्षिक विकासलाई सँगसँगै अघि बढाइरहेको बताए।

विश्वविद्यालयले बौद्ध अध्ययन संकाय अन्तर्गत छोटो अवधिको शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ। संकायका डिन डा. माणिकरत्न शाक्यले विदेशीलाई लक्षित गरेर छोटो अवधिका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएको बताए।

विश्वविद्यालयमा चिनियाँ भाषा परीक्षण केन्द्र समेत स्थापना भएको छ। देवदहमा रहेको सेन्टरमा भारतीय विद्यार्थीको चाप समेत उच्च रहेको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए। हरेक महिना भाषा परीक्षण हुँदै आएको छ।

साउन २२, २०८२ बिहीबार २०:४४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।