निर्देशक देव कुमारसँग हिजोका कुरा : फिल्ममा पानी परेको दृश्य आउँदा मान्छेहरू ‘बिस्कुन भिजायो’ भन्दै हत्तपत्त बाहिर जान्थे

निर्देशक देव कुमारसँग हिजोका कुरा : फिल्ममा पानी परेको दृश्य आउँदा मान्छेहरू ‘बिस्कुन भिजायो’ भन्दै हत्तपत्त बाहिर जान्थे

काठमाडौं :  वि.सं. २०२७ सालमा ललितपुरको भैसेपाटीमा जन्मिएका कलाकार तथा निर्देशक देव कुमार श्रेष्ठको बाल्यकाल भैसेपाटी र इमाडोलमा बित्यो। श्रेष्ठ विद्यालय पढ्दा लजालु स्वभावका थिए, तर अभिनयप्रति भने रुचि थियो। वि.सं. २०३५ साल तिर एक साँझ भैसेपाटीमा कसैले उनलाई डकुमेन्ट्री फिल्म देखाइदियो। त्यसपछि उनमा फिल्म प्रति चासो बढ्दै गयो।

पछि इमाडोल सरेपछि उनी पहिलोपटक राजेश खन्नाको फिल्म ‘हाथी मेरे साथी’ अशोक सिने हलमा गएर हेरे। त्यही दिन उनले बुझे फिल्म त दिउँसो पनि हेर्न मिल्ने रहेछ। त्यसपछि त उनले हलमा लागेका कुनै पनि फिल्म छुटाएनन्। अमिताभ बच्चनका फिल्महरूले उनलाई निकै प्रभावित पार्थे। 

अमिताभको प्रभावले उनीभित्र हिरो बन्ने सपना पलायो। उनले अभिनय सिक्न थाले, नाटकमा पनि भाग लिए। नाटकघरमा सित्तैमा नाटक खेले, तर उनको हिरो बन्ने चाहना भने पूरा हुन सकेन। त्यसपछि उनी निर्देशनतर्फ मोडिए।

 सुरुवातमा टेलिफिल्म निर्माण गरे। प्रकाश सायमीको फिल्म पृथ्वीमा सहायक निर्देशकका रूपमा काम गरे। त्यसपछि अवतार, सिमाना जस्ता चलचित्रमा पनि सहायक निर्देशनमा अनुभव बटुले।

वि.सं. २०४८ तिर फिल्म शंका  मार्फत निर्देशनमा औपचारिक रूपमा प्रवेश गरे। पछि उनले राजेश हमाल, सारङ्गा श्रेष्ठ, रबिन्द्र खड्का लगायत लोकप्रिय कलाकारलाई लिएर ‘विशालु’  निर्देशन गरे।  जसले उनलाई चलचित्र निर्देशकको रूपमा स्थापित गरायो। 

उनै देव कुमार श्रेष्ठले आफ्नो बाल्यकाल, संघर्ष र चलचित्रप्रतिको मोहलाई उकेराको स्तम्भ ‘हिजोको कुरा’मा साटेका छन् : 

बागमतीमा बालुवा टल्किन्थ्यो, माछा देखिन्थे 

मेरो पढाइ ललितपुरको महेन्द्र भृकुटी स्कुलबाट सुरू भयो। त्यसपछि म पुलचोकमा रहेको त्रिपद्मा स्कुलमा भर्ना भएँ। त्यो समयमा म साइकल लिएर पूरै रिङ रोड घुम्थेँ। अहिलेको जस्तो घर र गाडीहरू भरिभराउ थिएनन्। गाडीहरू फाटफुट मात्र देखिन्थे। जताततै खेतबारीमा मान्छेहरू काम गरिरहेका हुन्थे।

हामी इमाडोलबाट हिँड्दै मंगल बजार, पाटन बजार जान्थ्यौँ। अहिले त कहाँ त्यस्तो छ र ? मलाई त सपना जस्तै लागिरहेको छ। हामी बागमतीमा बालुवा टल्किएको देखेका मान्छे हौँ। बागमतीमा माछा पनि देखिन्थ्यो। अहिले त खाली ठाउँ भेट्नै गाह्रो छ।

त्यो बेलामा हरियो साझा बस चल्थ्यो। रिङ रोडभित्र ट्रली बसहरू चल्थे। मुख्य बजार लाग्ने ठाउँ बाहेक अरू ठाउँमा दिउँसै स्याल कराउँथे। यही इमाडोलमै मान्छेहरू साँझ परेपछि एक्लै हिँड्न डराउँथे। जात्रामा मात्र भीडभाड देखिन्थ्यो। पाटन एरियामा भने घरहरू बाक्लै देखिन्थे। नत्र त एउटा घरबाट अर्को घर पुग्नलाई समय लाग्थ्यो। अहिले यो कुरा भन्दा कथा जस्तै लाग्छ। 


स्कुलमै हुँदा अभिनयको रहर

अहिले पो स्कुल-स्कुलमा नाटक, अभिनय, विभिन्न कक्षाहरू हुन्छन्, त्यो समयमा थिएन। रहर त लाग्थ्यो अभिनय गर्न, डान्स गर्न। तर रहर लागे पनि त्यो समयमा देखाउने ठाउँ थिएन। अर्को कुरा म सानोमा लजालु स्वभावको पनि थिएँ। 

मैले ८-९ कक्षामा पढ्दै गर्दा एउटा नाटक गरेको थिएँ। आफैंले लेखेर, आफैंले अभिनय र निर्देशन पनि गरेको थिएँ। सायद त्यो अहिले मलाई लाग्छ, कला क्षेत्रमा डोर्याउने लक्षण रैछ क्या रे।

नाटकबारे केही पनि थाहा थिएन। हावा पारामा भन्छन् नि मान्छेहरू हो, त्यस्तै तरिकाले नाटक गरियो। सबैले राम्रो भने।कस्तो गरियो आफैंलाई केही थाहा छैन। स्कुलमा सर-मिसले पनि ‘नाटक राम्रो गर्यौ’ भन्नुहुन्थ्यो।

त्यसपछि मैले नाटक गरिँन। लामो समय नाटकभन्दा पनि म पेन्टिङ (फाइन आर्ट) तर्फ लागेँ। मलाई आर्ट, ग्राफिक डिजाइनतर्फ झुकाव भयो। त्यो समयमा न कम्प्युटर, न केही। हातैले गर्नुपर्ने हुन्थ्यो।

पछि लगनखेलमा एउटा अभिनय सिकाउने ठाउँ खुलेको थाहा पाए।  अभिनय, डान्स, म्युजिकदेखि लिएर रेडियो बनाउने, इलेक्ट्रोनिक सामानहरू बनाउने इन्स्टिच्युट खुलेको थियो। म पनि अभिनय सिक्न गएँ। मलाई अभिनय गर्ने चाहना थियो, घर नजिकै खुलेको भएर गएँ, सिके पनि। यो २०४३ सालको कुरा हो। यहाँबाट विभिन्न कार्यक्रमहरू र नाटकहरू पनि गरियो।


दिउँसै फिल्म लाग्छ र ? भन्ने लाग्थ्यो

मलाई ‘फिल्म हुन्छ र फिल्म हलमा देखाइन्छ’ भन्ने नै थाहा थिएन, निकै ठूलो हुँदासम्म पनि। भैसेपाटीमा साँझ परेपछि डकुमेन्ट्रीहरू देखाउन ल्याइन्थ्यो, स्वास्थ्यसम्बन्धी। जिपजस्तो गाडी आउँथ्यो, प्रोजेक्टरबाट राति डकुमेन्ट्री देखाउँथे। दिउँसो हुन्न थियो। फिल्म भन्ने नाम त सुनेको थिएँ, तर दिउँसो पनि देखाइन्छ भन्ने थाहा थिएन।

एक दिन दसैँको बेला थियो जस्तो लाग्छ। इमाडोल सरेपछि घर परिवारले ‘आज फिल्म हेर्न जानु पर्छ’ भन्नुभयो। त्यतिबेला अशोक सिनेमा हल थियो। अहिले त त्यो हल छैन।

त्यस दिन परिवारसहित जम्बो टिम भएर फिल्म हेर्न गएका थियौँ। मलाई अहिले पनि त्यो फिल्मको नाम याद छ- ‘हाथी मेरे साथी’ राजेश खन्नाको। हेर्दा रमाइलो लाग्यो।

पहिलोपटक फिल्म हेर्दा मान्छेहरू नाचिरहेका छन् तर बाजा बजाउने मान्छे कतै देखिँदैनन्। कताबाट बजिरहेका होलान् भनेर सोचे। अझ अचम्म के लाग्यो भने- आफूले भैसेपाटीमा हुँदा राति डकुमेन्ट्री मात्र हेरेको थिएँ, यता हलमा त दिउँसै फिल्म देखाए! म त चकित भएँ- फिल्म त दिउँसो पनि हेर्न मिल्दो रहेछ!

बिस्तारै-बिस्तारै फिल्म हेर्ने बानी बस्यो। त्यतिबेलाको टिकट कटाइ पनि अर्कै हुन्थ्यो। मान्छेको भिड मारामार हुन्थ्यो। टिकट काट्दा पनि युद्ध जिते झैँ लाग्थ्यो। मैले फिल्म हेर्न थालेको समयमा थर्ड क्लासको टिकटलाई ३० पैसा पर्थ्यो। 

सधैँ फिल्म हेर्नलाई पैसा हुन्थ्यो। टिकट काट्ने झ्याल एकछिन खुलेर बन्द हुन्थ्यो। टिकट काटेकाहरू हलभित्र छिरेपछि, टिकट नकाटेकाहरू बाहिर नै उभिएका हुन्थ्यौँ। त्यसमा म पनि पर्थेँ। गार्डलाई ‘हामी नि फिल्म हेर्छौं नि’ भन्थ्यौँ। कति पैसा छ? भन्थ्यो। ‘यति पैसा छ’ भनेपछि उसले निकै बेरपछि हलमा छिर्न दिन्थ्यो। त्यतिन्जेल म हल बाहिरै बसिरहन्थे। फिल्म हलमा चलेको आधा-एक घण्टापछि मात्रै भित्र छिर्न दिन्थ्यो।

सिट पनि पाइन्थ्यो, भुइँमै बसेर हेर्नुपर्ने हुन्थ्यो। हामी त त्यो जमानाको मान्छे हौँ नि। अहिले त सिटभन्दा धेरै राख्दैनन्। त्यो बेलामा त भुइँमै बसेर हेर्नुपर्ने हुन्थ्यो।

कोही-कोही त पहिलोपटक फिल्म हेर्न आएका हुन्थे। फिल्ममा पानी परेको, घाम लागेको दृश्य आउँदा ‘हत्त न पत्त बाहिर निस्केर बिस्कुन भिजायो आज’ भन्ने गरेको पनि सुनिन्थ्यो। अहिले त्यो बेलाको क्षण सम्झिँदा आफैँलाई रमाइलो लाग्छ।

फिल्म हेर्ने बानी लागेपछि प्रायजसो हलमा पुगिन्थ्यो। मैले अलिक बढी अमिताभ बच्चनका फिल्म हेरेँ। उनको अभिनय देखेपछि आफैँलाई पनि कता-कता हिरो हुने रहर जाग्न थालेको थियो।

...त्यसपछि हिरो बन्ने सपना सकियो

मैले नाटक सिक्न जाँदाको समयमा, अर्थात् करिअरको सुरुवातमा अशेष मल्लको नाटक ‘समाप्त असमाप्त’ मा अभिनय गरेको थिएँ। यो ४३ सालको कुरा हो। त्यसपछि सुनिल पोखरेल नाटक पढेर इन्डियाबाट आउनु भएको थियो। ४४ सालतिर कृष्ण मल्ल सरहरूको टिमले ‘अभियान समूह’ खोलेको थियो। त्यसमा सुनिल पोखरेलले अभिनयको क्लास लिनु हुँदो रहेछ। थाहा पाएपछि त्यो समूहमा प्रवेश गरेँ। समूहमा प्रवेश गरेपछि कक्षा पनि लिएँ।

पछि सुनिल सरले ‘आरोहण शनिबार’ भन्ने नाट्य समूह खोल्नुभयो। त्यसमा मैले ५ वर्षसम्म नाटकमा काम गरेँ। नाटकका अलावा मैले त्यहाँ आर्टको पनि काम पाएँ।

यो समूहमा सरोज खनाल, सुर्यमाला, निशा शर्मा, अनिल पाण्डे, खेम शर्मा लगायत थुप्रै कलाकारहरू हुनुहुन्थ्यो। यो समूहमा रहेर मैले ५० सालसम्म नाटक गरेको हुँ।

यसमा मैले आर्ट पनि गर्थेँ, सेट डिजाइन पनि गर्थेँ, ब्रोसरहरू पनि लेख्थेँ। मैले त्यो समयमा नाटकमा पोस्टरहरूको पनि डिजाइन गर्थेँ, किनभने मलाई सुनिल दाइले यो काम गर्न अह्राउनु हुन्थ्यो।

म आर्ट डिजाइन जान्ने भएकाले गर्थेँ। तर मनमा चाहिँ नाटक होइन, फिल्ममा जान पाए हुन्थ्यो भन्ने थियो। किनभने मलाई फिल्ममा अभिनय गर्ने रस त बाँकी नै थियो। नाटकमा आएपछि फिल्ममा लाग्ने, हिरो हुने भन्ने कुरा छुट्यो। नाटक गरिरहँदा पनि ‘फिल्ममा कसरी प्रवेश गर्ने होला ? भन्ने कुरा दिमागमा खेल्न थाल्यो।

मैले थाहा पाउँदा नेपालमा फिल्म अहिले जस्तो बनेको बनिँदैनथ्यो। निकै कम। बरु मैले केही सिरियलमा काम गरिसकेको थिएँ। 

मैले त्यस समयमा बद्री अधिकारीको सिरियलमा पनि काम गरेँ। सुनिल दाइको पनि ‘सन्या सारश’ भन्ने सिरियल थियो, त्यो पनि गरेँ। त्यो जापानिज नाटक थियो। त्यो नाटक गर्दा हामीलाई जापानीहरूले सम्मान गरेका थिए। फ्रेन्च, जर्मन लगायतका थुप्रै नाटक गरिएको थियो।

यतिबेलाको नरमाइलो पक्ष भनेको काम गरे पनि पैसा पाइँदैनथ्यो। पैसा कतैबाट पनि आउँदैनथ्यो। नाटक पनि बिना पैसा, काम पनि बिना पैसा नै गरिन्थ्यो। त्यो समयमा पैसाको चाहिँ सारै अभाव हुन्थ्यो। त्यो कुराले चाहिँ नरमाइलो लाग्थ्यो। अभावै अभावमा नाटक, सिरियल खेलिन्थ्यो।

मन त हिरो बन्ने नै थियो। तर त्यो समयमा अहिलेको जस्तो ‘पात्रलाई हिरो’ भनिँदैनथ्यो। जो कोहीलाई हिरोको रूपमा दर्शकले अपनाउँदैनथे।

त्यो समयमा हिरो भनेको ह्यान्डसम केटा हेरिन्थ्यो। अब आफ्नो त हाइट ठिकठाकै थियो, सोचेअनुसारको थिएन। आफैँलाई त्यति राम्रो पनि लाग्न छाड्यो। हिरो बन्ने सपना सकिएपछि अब ‘कलाकार बन्छु’ भन्नेतर्फ मन मोडिएको थिएँ। अहिलेको समय भएको भए हिरो हुन्थेँ होला। किनभने अहिलेका दर्शकले जो कोहीलाई पनि हिरोको रूपमा अपनाउन थाले। मान्छेभन्दा पनि ‘कथाको पात्र बलियो हुनुपर्छ’ भन्ने चेतना दर्शकमाझ आएको छ। अब त उमेर पनि ढल्कियो, हिरो बन्न सकिँदैन होला। 


लहलहैमा साथीहरूले निर्देशक बनाइदिए

आफैले त्यो समयमा काम गर्दै जाँदा कतिपय कुराहरू निर्देशकले गराएको चित्त बुझ्दैनथ्यो। टेलिफिल्म गर्दा पनि सानो रोल गरिन्थ्यो। प्रोडक्सनको काम पनि गरियो। त्यो गर्दा कताकता आफैँलाई दुःख लाग्थ्यो- ‘मैले यत्रो काम गरिरहेको छु, तर मैले भनेजस्तो रोल भने पाइरहेको छैन’ भन्ने लाग्थ्यो।

अनि मैले त्यो समयमा क्यामेराको कामहरू पनि कसले कसरी गर्छ भनेर हेर्थेँ। त्यो समयमा सिक्नका लागि नेपालमा कुनै ठाउँ थिएन। किन त भारत नै जानुपर्यो। तर त्यसका लागि पैसा पनि चाहियो। जसरी भए पनि काम नै सिक्ने हो भनेर अरूको पुच्छर लाग्दा-लाग्दा हेरेरै सिकियो। कति सिकियो, आफैँलाई थाहा छैन। तर यो यसो गर्नुपर्ने रहेछ भन्ने चाहिँ थाहा भयो।

सोही क्रममा ४८ सालतिर भिडियो फिल्मको खुबै चलन आएको थियो। त्यो समयमा साथीभाइहरूले एउटा भिडियो फिल्म बनाऔँ भन्न थाले। सबै भए, निर्देशक चाहिँ भएन। अनि साथीहरूले नै ‘तिमीले गर निर्देशन’ भन्न थाले। गर्ने हो त? भनेको, ‘गर’ भने। मैले पनि जे पर्छ, पर्छ भनेर एउटा भिडियो फिल्म ‘शंका’ बनाइयो। त्यो पनि ‘हरर’ जनराको। भृकुटीमण्डपमा हल थियो, त्यहाँ निकै दिन चलाइयो। साथीहरूले यो फिल्मबाट अवार्ड पनि थापेका थिए।

त्यसपछि मैले सिरियल बनाएँ- ‘मेरो घर कहाँ छ’ भन्ने। त्यसपछि मैले रविन्द्र खड्का, निशा शर्मा, पूजा चन्द, सुशिल पोखरेल राखेर अर्को सिरियल निर्माण गरेको थिएँ। यो तीन भागको मात्रै थियो। नेपाल टेलिभिजनमा आएपछि धेरैले मन पराएका थिए।

त्यसपछि मैले प्रकाश सायमी दाइको फिल्म ‘पृथ्वी’ मा सहायक निर्देशकको रूपमा काम गरेँ। यहीँबाट मेरो फिल्म यात्रा सुरु भयो भन्दा पनि हुन्छ।

फिल्म ‘अवतार’, ‘सिमाना’ मा सहायक निर्देशकको रूपमा काम गर्दै ‘विशालु’ भन्ने फिल्ममा पूर्ण निर्देशकको रूपमा काम गर्न पाएँ। यसबाट राम्रै पारिश्रमिक पनि आएको थियो।

म अरूको तुलनामा छिट्टै निर्देशक भएँ। यति छिट्टै मलाई निर्देशकको रुपमा विश्वास गर्छन् भनेर मलाई लागेको थिएन। यो फिल्म एकदमै राम्रो चल्यो। यो फिल्म चलेपछि ‘अब त फिल्म पाउँछु होला’ भन्ने लाग्यो। तर पाइनँ। फेरि ग्याप भयो। त्यो समयमा सिरियलहरू निर्माण गरेँ।

२०५८ सालमा बल्ल ‘गोधुली’ फिल्ममा काम गर्ने मौका पाएँ। यसमा राजेश हमाल, विरेन्द्र हमाल, साराङ्गा श्रेष्ठ, उषा पौडेल, सुभद्रा अधिकारी लगायतले खेल्नुभएको छ। यो फिल्म नै साराङ्गाको अन्तिम फिल्म होला। यो फिल्म खेलेपछि उहाँ अमेरिका जानुभयो। 

त्यसपछि फिल्म ‘एकता’ र ‘बदमास’ निर्माण गरेँ। ‘एकता’ मा नविन श्रेष्ठ, विरेन श्रेष्ठ, पूजा लामाले अभिनय गर्नुभएको थियो।
‘बदमास’ मा शिव श्रेष्ठ, राजेन्द्र खड्गी, जिमी गुरुङ, उषा पौडेल लगायतका कलाकारहरूले अभिनय गर्नुभएको थियो।

त्यो समयमा टेलिफिल्म निर्माण गरेर मात्रै हुँदैन थियो। टेलिभिजनमा प्रसारण गर्न निकै गाह्रो थियो। धेरै पापड बेल्नुपर्ने हुन्थ्यो। नेपाल टेलिभिजन मात्रै थियो। कान्तिपुर टेलिभिजन आउने तरखरमा थियो। कान्तिपुर टेलिभिजन सुरू भएपछि मैले एउटा ‘प्लस टु’ भन्ने सिरियल निर्माण गरेको थिएँ, जसमा आलोक नेम्वाङ, विजय लामा लगायतका कलाकारहरूले अभिनय गरेका थिए। त्यसपछि ‘मेरो घर कहाँ छ’ बनाएँ।

टेलिभिजनमा प्रसारण गर्न निकै धाउनुपर्ने, पापड बेल्नुपर्ने भएपछि पछि मैले निर्माण गर्नै छाडे। 

साउन २२, २०८२ बिहीबार २०:१२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।