एनपिएलको गन्जागोल हिसाब : १६ करोडको हिसाबमै गडबड, टिसिएम र स्टारको खर्च लुकाएर भुक्तानी

काठमाडौं : नेपाल प्रिमियर लिग आयोजना गरे बापत भएको आम्दानी र खर्च पुरै गोलमाल देखिएको छ। हालै नेपाल क्रिकेट एसोसिएसनको बोर्ड बैठकमा एनपिएल आयोजना परिषद्को तर्फबाट क्यान सचिव पारस खड्काले आम्दानी र खर्चको विवरण पेस गरेका थिए।
बोर्ड बैठकले सो विवरण पास नगरे पनि क्यानले प्रेस विज्ञप्तिमार्फत आम्दानी र खर्च विवरण सार्वजनिक गरेको थियो। उकेराले प्राप्त गरेको शीर्षक अनुसार आम्दानी र खर्च विवरण पुरै गोलमाल देखियो। न उसको कुल आम्दानी विश्वसनीय देखिन्छ न त खर्च नै। उसले एनपिएलका आठ फ्रेन्चाइज टिमलाई दिने आम्दानीको ५० प्रतिशत रकम समेत गोलमाल देखियो।
सार्वजनिक खरिद कानुन उलङ्घन गरेर ठेक्का दिएको, कानुन उलङ्घन गर्दै भारतीय कम्पनी टिसिएमलाई व्यवस्थापनको जिम्मेवारी दिएर दुबइको कम्पनीलाई भुक्तानी गरेको, विदेशी व्यक्तिलाई अवैध रूपमा परामर्शदाता नियुक्त गरेको र प्रतिस्पर्धा नगराई स्टार स्पोर्ट्सलाई पाँच करोड तिरेर प्रत्यक्ष प्रसारणको जिम्मा दिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै राष्ट्रिय खेलकुद परिषद्सम्मले छानबिन गरेको थियो। छानबिन प्रतिवेदन अहिले अख्तियार पुगेको छ।
एनपिएल परिचालन परिषद्का संयोजक पारस खड्काले प्रारम्भमा टिसिएमदेखि स्टार स्पोर्ट्ससम्मलाई एनपिएलमा आफूले ल्याएको दाबी गर्ने गरेका थिए। तर जब विवाद भयो उनले सबै जिम्मेवारी कमर्शियल राइट्स पाएको ब्रान्ड लजिकलाई जिम्मा लगाए। तर क्यान बोर्ड बैठकमा पेस गरेको विवरणमा टिसिएम र स्टार स्पोर्ट्स दुबैमाथि भएको खर्च उल्लेख छ।
पहिलो सिजनमा सिद्धार्थ बैंक टाइटल स्पन्सर र एनसेल पावर्ड बाई बनेका थिए यी दुवै कम्पनीसँगको सम्झौता कार्यक्रममा क्यानका सचिव पारसले नेतृत्व गरेका थिए। उनीहरूसँग कतिमा सम्झौता भएको खुलाइएको छैन। आठ फ्रेन्चाइज टिमका सञ्चालकहरूसँगको बैठकमा पारसले यी दुवैको आर्थिक अधिकार क्यानसँग रहेको र त्यस बापत आउने रकम टिममा बाँडफाँड हुने बताएको एक फ्रेन्चाइज टिमका प्रमुखले उकेरालाई बताए।
तर क्यान बोर्ड बैठकमा पारसले पेस गरेको आम्दानीको विवरणमा न सिद्धार्थ बैंकले दिएको रकम उल्लेख छ न त एनसेलले दिएको रकमै उल्लेख छ। एनपिएलको समयमा २० भन्दा बढी स्पन्सर्डहरु रहेको र तीमध्ये कुन कुन ब्रान्ड लजिकले ल्याएको हो र कुन क्यानको हो सो समेत नखुलाइएकाले फ्रेन्चाइज टिमका सञ्चालकहरूले समेत एनपिएलको आम्दानी र खर्चमा चित्त बुझाएका छैनन्।
‘एक टिमले १० करोडसम्म खर्च गरेर लिगमा भाग लिएको छ। तर आम्दानी र खर्च सार्वजनिक गर्दा फ्रेन्चाइज टिमसँग गरेको वाचा पुरा भएन,’ नाम उल्लेख गर्न नचाहने एक सञ्चालकले उकेरासँग भने ‘न आम्दानी पारदर्शी देखियो न खर्च। त्यसैले हामीले एनपिएलको सबै आम्दानी र खर्चहरू शीर्षक अनुसार देखाउन क्यानसँग माग गरिसकेका छौँ।’
१६ करोडको खर्च शंकास्पद
नेपाल प्रिमियर लिगको पहिलो शृङ्खलाका लागि आठ फ्रेन्चाइज टिमसँग नेपाल क्रिकेट सङ्घ एनपिएल लिग परिचालन परिषद्ले गरेको सम्झौतामा आर्थिक बाँडफाँडबारे तीन क्षेत्र उल्लेख छ। क्यान र फ्रेन्चाइज टिमबीच भएको सम्झौता पत्रको बुँदा नम्बर ९ मा प्रस्टै कमर्शिलय, स्पन्सरसिप, ब्रोडकास्टिङ र टिकट विक्रीबाट भएको आम्दानी ५०-५० प्रतिशत बाँडफाँड हुने उल्लेख छ।
त्यसमा आठ फ्रेन्चाइज टिमले टिमको लाइसेन्स लिँदा लगायतको गतिविधिबाट भएको आम्दानी जोडिने देखिएन। आठ टिमले टिम किने बापत परिषद्ले १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैयाँ आम्दानी गरेको थियो। क्यानले फ्रेन्चाइज टिमलाई दिने ५० प्रतिशत रकममा टिमको लाइसेन्स बापतको रकम मात्रै हैन फर्म किनेको पैसा समेत जोडेको छ।
क्यानले एनपिएलबाट २७ करोड ६९ लाख, ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानीमा २० करोड १५ लाख खर्च कटाएर ७ करोड ५३ लाख ९१ हजार २ सय ५९ रुपैयाँ नाफा निकाल्यो।
एनपिएल आयोजना परिषद्ले क्यानको हालै बसेको बोर्ड बैठकमा पेस गरेको आम्दानी र खर्चको विवरणमा कमर्शियल अधिकारबापत ६ करोड ६ लाख ५३ हजार ५ सय ९४ रुपैयाँ, टिकट बापत ४ करोड २२ लाख ६५ हजार १ सय ५८ मात्र आम्दानी भएको देखिन्छ।
क्यानले एनपिएलको पहिलो सिजनमा ब्रोडकास्टका लागि स्टार स्पोर्टस्लाई पाँच करोड तिरेको हो भने यो रकम उसको आम्दानीमा हैन खर्चमा जोडिन्छ। सम्झौता पत्र अनुसार क्यानले आफूलाई राख्ने र ८ फ्रेन्चाइज टिमलाई बाँड्ने ५०-५० प्रतिशतको कुल रकम १० करोड २९ लाख १८ हजार ७ सय ५२ हुन्छ।
सम्झौता अनुसार यसको ५०-५० प्रतिशत क्यान र आठ फ्रेन्चाइज टिमलाई बाँड्ने हो भने दुवैको भागमा ५ करोड १५ लाख ५९ हजार ३ सय ७६ पर्नुपर्ने हो। यसबाट पनि फ्रेन्चाइज आठ टिमलाई भाग लगाउँदा एक टिमलाई ६४ लाख ३२ हजार ४ सय २२ पर्नुपर्ने हो।
टिमले पाउने ८० लाखमै गडबड
सम्झौता पत्रमा लिगका लागि क्यानले के के गर्ने अनि फ्रेन्चाइज टिमले के के गर्न प्रस्ट छ। सम्झौता पत्रको बुँदा नम्बर १० मा उल्लेख भए अनुसार सबै प्रकारका लजिस्टिक कार्यहरू, मैदान व्यवस्थापन, विज्ञापन लगायतको व्यवस्थापन गरेर नेपाल प्रिमियर लिगको सफल आयोजन गर्नु उसको दायित्व हो।
त्यसमा उसले टिकट बिक्रीको अधिकार, सबै गतिविधिको निगरानी, प्रसारण अधिकारहरू र व्यावसायिक अधिकार आफूले लिएको छ। यस अनुसार लिग आयोजना गर्दाको सबै खर्च क्यानले ब्योहोर्नुपर्ने हो।
सम्झौता अनुसार त्यसमा आठ फ्रेन्चाइज टिमसँग ५० प्रतिशत बाँड्ने भनेको तीन शीर्षक खर्चमा जोडिने देखिन्न। तर क्यानले मैदानको पुनर्निर्माणदेखि क्यान्टिनसम्मको खर्च एकमुष्ट जोडेर आठ फ्रेन्चाइज टिमलाई जम्मा ४ करोड ३७ लाख ४० हजार ४ सय ७० परेको हिसाब सार्वजनिक गर्यो।
यो अनुसार एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टिममध्ये हरेक टिमको भागमा जम्मा ५४ लाख ६७ हजार ५ सय ५८ मात्र पर्यो। यसले एक टिमलाई नै १० लाख कम परेको देखियो। यसले सिधै ८० लाख गडबड देखियो।
यसमा पारसको बाचा अनुसार मुख्य र पावर्ड बाइ प्रायोजकले दिएको रकम जोड्ने हो भने आठ टिमको भागमा न्यूनतम २ करोड ५० लाख थप हुने देखिन्छ। यो अनुसार हेर्ने हो भने प्रत्येक टिमलाई थप ३१ लाख ५० हजार आम्दानी हुने देखिन्छ।
‘एनपिएल सकिएपछिको सञ्चालकहरूसहितको पहिलो बैठकमा पारसले प्रत्येक टिमले ८० लाख हाराहारीमा रकम पाउने बताएका थिए। दोस्रो बैठकमा रकम घटेर ६३ लाख जति पर्ला भने,’ अर्को फ्रेन्चाइज टिमका सञ्चालकले उकेरासँग भने ‘तर सार्वजनिक गर्ने बेलामा त ५४ लाख हाराहारी मात्र आयो। त्यसमा क्यानले गर्नुपर्ने खर्चको दायित्व पनि टिममा जोडिएको छ। यो त अति नै अपारदर्शी काम भयो।’
अचम्मको जोड घटाउ
अब क्यानले नै बोर्ड बैठकपछि एनपिएल लिग परिचालन परिषद्ले बोर्ड बैठकमा पेस गरेको भनेर सार्वजनिक गरेको एनपिएलको आम्दानी र खर्चको हिसाब हेरौँ।
सार्वजनिक विवरण अनि बोर्डमा पेस गरेको विवरण अनुसार कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ छ। त्यसमा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५ सय ५९ छ। अब आम्दानीबाट खर्च घटाउँदा निस्कियो ७ करोड ५३ लाख ९१ हजार २ सय ५९।
यसलाई परिषद्ले ५० प्रतिशत आफूलाई अनि ५० प्रतिशत आठ फ्रेन्चाइज टिमलाई बाँडेको छ। ७ करोड ५३ लाख ९१ हजार २ सय ५९ को ५० प्रतिशत हुन्छ ३ करोड ७६ लाख ९५ हजार ६ सय २९ रुपैयाँ। दुवै पक्षलाई यही रकम बाँडफाँड हुनुपर्ने हो।
तर आठ फ्रेन्चाइज टिमलाई कुल नाफाको ५० प्रतिशत भनेर परिषद्ले ४ करोड ३७ लाख ४० हजार ४ सय ७० दिएको छ। ७ करोड ५३ लाख नाफा भएकोमा त्यसको ५० प्रतिशत रकम कसरी ४ करोड ३७ लाख भयो?
यो हिसाब अनुसार त नाफा रकम ८ करोड ७४ लाख ८० हजार हुन्छ। यता आम्दानी र खर्च कटाएर बचेको रकममध्ये ५० प्रतिशत भाग पाउँदा क्यानले भने ३ करोड १६ लाख ५० हजार नै पाएको छ। त्यसमा क्यानले आफ्नो सात प्रदेशलाई १० लाखको दरले ७० लाख दिएर एनपिएलबाट जम्मा २ करोड ४६ लाख ५० हजार रुपैयाँ फाइदा भएको हिसाब निकालेको छ।
के-के छ आम्दानीमा?
एनपिएल लिग परिचालन परिषद्ले सार्वजनिक नगरेको तर बोर्ड बैठकमा पेस गरेको विवरण अनुसार उसले टिमको लाइसेन्स दिए बापतको १६ करोड र कमर्शिलय अधिकार बापतको ६ करोड र टिकट विक्रीको ४ करोड सहित इभेन्ट रेभिन्युबाट २९ लाख, खेलाडी दर्ता बापत ४ लाख ३२ हजार ८ सय ३५, टिमका फर्म फी बापत १८ लाख, प्रस्ताव फर्म फी बापत २० हजार गरेर २७ करोड ६९ लाख ६४ हजार आम्दानी भएको उल्लेख छ।
यो आम्दानीमा कमर्शिलयवापतको ६ र टिकट बापतको करिब ४ करोड गरेर १० करोडमा ५० प्रतिशत क्यानको हुन्छ। यसमा बाँकी रहेका सबै गरेर १७ करोड ४० लाख ४६ हजार क्यानले आम्दानी गरेको देखिन्छ।
टिसिएम र स्टारको खर्च लुकाएर भुक्तानी
क्यानको बोर्डमा पेस भएको खर्चको हिसाबमा टिसिएम र स्टार स्पोर्ट्सलाई भुक्तानी गरेको रकम लुकाएर केवल प्रडक्सन र ब्रोडकास्ट भनेर ४ करोड २७ लाख राखिएको छ। त्यो खर्च कसलाई गरिएको हो केही खुलाइएको छैन।
अख्तियारमा परेको उजुरीमा मुख्य रूपमा ब्रान्ड लजिकलाई कमर्शिलय राइट्स दिने ठेक्का प्रक्रिया, स्टार स्पोर्ट्सलाई प्रसारणको अधिकार दिँदाको प्रक्रिया र टिसिएमसँगको सम्झौताबारे मुख्य रूपमा प्रश्न उठाइएको थियो। जुन-जुन विषयमा अनियमितताको आशङ्कामा छानबिन भयो त्यही शीर्षक लुकाइयो। तर खर्च विवरणमा कतै कतै टिसिएम र स्टार स्पोर्ट्सको नाम भने छ।
कुल २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएकोमा स्लट फी भनेर २ करोड ९३ लाख र प्रडक्सन कष्ट भनेर एक करोड ३४ लाख रुपैंया उल्लेख गरिएको छ। प्रत्यक्ष प्रसारण गर्ने टिमलाई होटेल मर्स्याङ्दीमा राखेको र त्यसबापत ३३ लाख खर्च भएको देखिन्छ। सोल्टीमा स्टार टिभीका प्रड्युसर बसेका थिए।
टिसिएम होल्डिङस्को टिमलाई होटेल अर्किडमा राख्दा २६ लाख २८ हजार खर्च भएको छ। सिटी होटेलमै टिसिएमसहितको टिम राख्दा २५ लाख खर्च भएको देखिन्छ। यसमा टिसिएमको टिमका लागि हवाई खर्च भनेर थप १९ लाख खर्च भएको छ।
पारसले सार्वजनिक कार्यक्रममै स्टार स्पोर्ट्ससँग पाँच करोड दिएर लिगको प्रत्यक्ष प्रसारणको अधिकार दिएको दाबी गरेका थिए। तर पछि ब्राण्ड लजिकलाई देखाए। तर क्यानको बोर्डमा पेश भएको खर्च विवरणमा स्टार स्पोर्ट्स र टिसिएमलाई ५ करोड २० लाख बढी खर्च भएको देखियो।
बोर्ड र टिसिएमकालाई ३१ लाखको ज्याकेट ‘उपहार’
क्यानको बोर्ड सदस्य र टिसिएमका प्रतिनिधिलाई क्यानले २९ लाखको दोर्जे गिएरको ज्याकेट दिएको थियो। बोर्ड सदस्यहरूलाई अलग्गै २ लाख ४५ हजार खर्चिएर एडिडासको ज्याकेट दिएको थियो।
होटेलमा एक करोड १३ लाख रुपैयाँ खर्च भएको देखिन्छ। होटेलमा फ्रेन्चाइज टिमका लियाजन अफिसर्स, क्यानका सदस्यहरू, आइसिसिएका प्रतिनिधि, ब्रायन लारालाई होटेल सोल्टीमा राख्दा ९ लाख खर्च भएको देखिन्छ।
५३ लाख रुपैयाँ लिग सुरु हुनु भन्दा अगाडिका विभिन्न कार्यक्रममा खर्च भएको थियो। ७८ लाख ८० हजार खानामा खर्च भएको बोर्डमा पेस भएको खर्चमा देखिन्छ। क्यानले ३६ लाख खर्च गरेर मैदानमा ओनर्स जोनको निर्माण गरेको देखियो।
पुरस्कारमा २ करोड ४६ लाख
क्यानले एनपिएल लिगमा पुरस्कारमा २ करोड ४६ लाख खर्च गरेको बोर्डमा पेस भएको खर्च विवरणमा उल्लेख छ। त्यसमा सुपर फोरमा परेकाहरू र लिगका उत्कृष्ट चार टिमका लागि भएको खर्च उल्लेख छ।
५६ लाख ५८ हजार सामाजिक सञ्जालमा खर्च भएको उल्लेख छ। ट्रफीमा १४ लाख ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। नेपाल आर्मीका लागि ६ लाख ८२ हजार, सशस्त्र प्रहरीका लागि ४ लाख ८५ हजार र नेपाल प्रहरीका लागि ७ लाख ९० हजार खर्च भएको उल्लेख छ।
यस्तो छ क्यानको दाबी
क्यानका प्रवक्ता छुम्बी लामा टिमको लाइसेन्स बापतको रकमबाट आठ टिमलाई ५० प्रतिशत रकम नदिई कमर्सियल राइट्स र टिकट विक्रीको रकम जोडेर त्यसमा १५ प्रतिशत कर काटेर दिएको दाबी गर्छन्। उनले त्यसको ५० प्रतिशत फेन्चाइजलाई दिएको दाबी गरे।
तर फ्रेन्जाइज टिमका केही प्रतिनिधीहरुसँग बुझ्दा कुल निस्किएको ५४ लाखमा पनि कर काटेर मात्र क्यानले पैसा पठाएको छ। छुम्बीले टिकेटिङ्ग राइट र कमर्सियल राइटमा ४ करोड र ६ करोड गरी १० करोड देखिएको र त्यसमा १५ प्रतिशत कर काटेर हुने ८ करोड जतिलाई २ भाग लगाएको दाबी गरे। यसो हो भने क्यान र फ्रेन्चाइज टिमले पाउने ५० प्रतिशतको रकमकै किन गडबड देखियो?
कमर्शियल राइट्स बेच्दा ५ करोड १५ लाख जतिमा दिएको र त्यसमा टिडियस जोड्दा ६ करोड ६ लाख जति हुने भएकाले रकम बढी देखिएको उनको तर्क छ। कमर्शियल राइट्समा २० प्रतिशत फ्रेन्चाइज टिमको ब्राण्डिङ हुने र अन्य ८० प्रतिशत जसले कमर्सियल राइट्स पाएको हो उसैले प्रयोग गर्ने बताए। उनले मुख्य प्रयोजक र पावर्ड बाइको रकम क्यानकै भएको बताए।
एनपिएल एक्सन स्पोर्ट्सले युट्युबमा प्रसारण गरेको थियो। क्यानले स्टार स्पोर्ट्सलाई कमर्शियल राइट्स दिएकाले एक्सन स्पोर्टस्सँगको सम्बन्ध क्यानको नभएर स्टार स्पोर्ट्सकै भएको उनकै तर्क छ।
साउन २२, २०८२ बिहीबार १८:३६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।