एमाले र प्रधानमन्त्री नै विद्यालय शिक्षा विधेयकको विरोधमा रहेको प्रचण्डको आरोप

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र प्रधानमन्त्री केपी शर्मा ओली विद्यालय शिक्षा विधेयकको विरोधी रहेको आरोप लगाएका छन्।
बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिलाइ हुनुमा एमाले र कांग्रेस दुवैको भूमिका रहेको बताए।
उनले भने, ‘विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिलाइ भइरहेको छ। यो ढिलाइ एमाले नेतृत्व र कांग्रेसको कारण भएको हो। विधेयक मेरो प्रधानमन्त्रीकालमा दर्ता भएको थियो र शिक्षकहरूसँग भएका सम्झौता अनुसार तयार पारिनुपर्ने थियो। तर, हालको सरकार, एमाले र प्रधानमन्त्री केपी ओली नै यसका विरोधमा भएकाले यो ढिलो भएको हो।’
शिक्षकहरूलाई आवश्यक पर्ने सुविधाबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नै विधेयकको विरोध स्पष्ट भएको उनले बताए।
उनले थपे, ‘हामी अभियानमा घरदैलो जाँदा विद्यालय शिक्षा विधेयकको विषयमा चर्चा गर्दा प्रधानमन्त्री ओलीले नै शिक्षकहरूलाई किन यति सुविधा दिनुपर्छ भनेर प्रश्न गरेका थिए। त्यसैले यो विधेयक रोकिएको हो।’
अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसको सरकार सामुदायिक शिक्षाको सुधारमा भन्दा निजीकरणको पक्षमा रहेको पनि उल्लेख गरे।
साउन २२, २०८२ बिहीबार १७:५८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।