बजेट कार्यान्वयनका लागि समयतालिका बनाउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८३ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न वार्षिक योजना र समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आज बसेको बैठकमा उनले बजेट कार्यान्वयनमा मन्त्रालयले सबै प्रकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सही समयमा आवश्यक कदम चालेर सकारात्मक परिणाम निकाल्न जोड दिए।
अर्थमन्त्री पौडेलले कानुनी सीमा भित्र रहेर गैरकर राजस्वको अधिकतम सम्भावित स्रोत पहिचान गरी विस्तार गर्नुपर्नेमा विशेष जोड दिए। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/८२ मा एक खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व सङ्कलन भएको थियो जुन कुल राजस्वको करिब १०.९ प्रतिशत हो।
बैठकमा गैरकर राजस्वका थप स्रोत पहिचान गरी कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो। उक्त कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव र अन्य मन्त्रालयका सचिवहरूको पनि उपस्थिति रहेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।
साउन २२, २०८२ बिहीबार १७:५१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।